
काठमाडौं, १५ फागुन — चीनको सत्तारूढ कम्युनिस्ट पार्टीले राष्ट्रपतिको कार्यकालमा लगाइएको सीमा हटाउने प्रस्ताव राखेको छ ।
यो कदमले राष्ट्रपति सी चिनफिङलाई सत्तामा कायम राख्नेछ । चीनको राजनीतिमा यसलाई निर्णायक घडीका रूपमा हेरिँदैछ ।
धेरै मानिसले यसको अनुमान गरेकै थिए । राष्ट्रपति सी चीनको राजनीतिमा एक प्रभावशाली व्यक्तित्व हुन् ।
उनीप्रति बफादार पार्टी नेताहरू, सेना र व्यापारी वर्गको ठूलो संख्या छ । त्यसैले उनी देशका क्रान्तिकारी संस्थापक माओ च तुङपछिका सबभन्दा शक्तिशाली नेता मानिन्छन् ।
सीका तस्वीरहरूको होर्डिङबोर्ड देशभरि लगाइएका छन् अनि सरकारी गीतमा उनको आधिकारिक छोटो नाम पापा सी प्रयोग गरिन्छ ।
अघिल्लो साता लगभग ८० करोड मानिसहरूले टेलिभिजनमा चिनियाँ नयाँ वर्षको समारोह हेरे । त्यसमा कार्यक्रमभरि सीले भन्ने गरेको चीनको नयाँ सोचको युगको प्रचार गरियो ।
दशकौंसम्म कम्युनिस्ट पार्टीले चीनमा शासन गरेको छ । अब सी पार्टीलाई पनि पछि पार्दै स्पटलाइटमा आएका छन् । त्यसो त पार्टीले उनलाई उचाइँमा पु–याएको हो ।
विगतमा कम्युनिस्ट पार्टी सशक्त रूपमा नियन्त्रणमा रहेको थियो तर पार्टीको सर्वोच्च पदमा बसेका व्यक्तिको हातमा सीमित समयका लागि मात्र शासन रहन्थ्यो ।
एक दशकपछि नेताले अर्को नेतालाई सत्ता सुम्पिन्थ्यो । सीले चाहिँ पदमा बसेको शुरूवाती दिनमै यो प्रणालीलाई तोड्न शुरू गरेका थिए ।
उनले तत्कालै भ्रष्टाचारविरोधी एक अभियान शुरू गरे । घूस खाने वा सरकारी पैसाको दुरुपयोग गर्ने १० लाखभन्दा बढी पार्टी प्रतिनिधिलाई अनुशासित बनाइयो ।
यही अभियानले सीका राजनीतिक प्रतिद्वन्द्वीहरूलाई सिध्याइदियो र शंका गर्नेहरूलाई चुप लगाए ।
सीले पदभार ग्रहण गरेको प्रारम्भिक दिनमा नै राजनीतिक भिजन प्रस्ट पारिसकेका थिए । उनले अन्तर्राष्ट्रिय व्यापारको बाटो खोल्नका लागि वान बेल्ट वान रोड जस्तो परियोजनालाई अघि बढाए अनि सन् २०२० सम्म चीनबाट
गरीबी हटाउने योजना घोषणा गरे ।
उनले आफूलाई राष्ट्रपति पदमा कायम राखिरहने प्रयास गर्नेछन् भन्ने अनुमान लामो समयदेखि लगाइएको थियो ।
सी धेरै शक्तिशाली भएकाले पाँच वर्षमा उनको ठाउँ लिने मानिस आउँछन् भन्ने कल्पना गर्न पनि मुश्किल छ ।
पार्टीको नेतृत्वले यो घोषणाका लागि ग्राउन्डवर्क तयार गरिरहेको थियो ।
अघिल्लो अक्टोबर महीनामा पार्टीको एक महत्त्वपूर्ण बैठकमा सीले परम्परा तोड्दै कुनै पनि उत्तराधिकारीको नाम अघि सारेनन् ।
बीबीसीबाट