२६ जेठ २०८३, मंगलबार

राजेन्द्र खड्गी: गिनिज बुकको धाक दिन्थे, तस्करको डायरीमा लेखिन पुगे

फागुन १६, २०७४
राजेन्द्र खड्गी: गिनिज बुकको धाक दिन्थे, तस्करको डायरीमा लेखिन पुगे

काठमाडौं, १६ फागुन– नेपाली चलचित्रका द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पत्रकारसँगको भेटमा आफू विश्वकै सवैभन्दा बढी फिल्ममा द्वन्द्व निर्देशन गर्ने कलाकार भएको दावी गर्थे । ५०० भन्दा बढी फिल्ममा द्वन्द्व निर्देशन गरिसकेको दावी गर्ने खड्गी केही वर्षमै आफ्नो नाम ‘गिनिज बूक अफ वल्र्ड रेकड’मा लेखिने बताउँथे । 

तर अहिले उनको नाम गिनिज बूकमा नभइ प्रहरीको डायरीमा लेखिएको छ, मानव तस्करी गर्ने अभियुक्तको रुपमा । कलाकारको आवरणमा मानव तस्करी गरेको अभियोग छ, खड्गीमाथि । अभियोग प्रमाणित भए उनले २० वर्ष जेलमा बिताउनुपर्नेछ । 

माघ दोस्रो सातातिर नेपालस्थित दक्षिण कोरियाली राजदूतावासले नेपाल प्रहरीलाई पत्र लेख्दै ११ जना नेपाली दक्षिण कोरियामा अलपत्र रहेको उल्लेख गर्यो । प्रहरी प्रधान कार्यालयले उक्त पत्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)लाई ‘फरवार्ड’ गर्यो । पत्रमा डकुमेन्ट्री सूटिङका १३ जना नेपाली कलाकारको टोली कोरिया पुगेको र २ जना मात्रै नेपाल फर्किएको उल्लेख थियो । उक्त टोलीको नेतृत्व नेपाली चलचित्रका द्वन्द्व निर्देशक खड्की गरेको पनि कोरियाली दूतावासले पत्रमै लेखेको थियो । 

पत्र पाएसँगै सिआईबीको टोलीले खड्गीमाथि निगरानी बढायो । करिब १ हप्तासम्म अनुसन्धान गर्दा सिआईबीको टोलीले निष्कर्श निकाल्यो, खड्कीले नियतवस नै ११ जनालाई कोरिया छाडेर आएका हुन् । कोरिया जाँदा खड्कीसँगै अन्य १२ जना गएका थिए । खड्की र उनीसँगै गएका दिव्यराज सुवेदी नेपाल फर्किए पनि ११ जना उतै रहे । 

खड्गी गत भदौ १४ गते (३० अगस्ट २०१७) का दिन अन्य १२ जनासहित त्रिभुवन विमानस्थलबाट दक्षिण कोरिया उडेका थिए । उनी त्यहाँ करिब ११ दिन बसेर भदौ २६ गते (११ सेप्टेम्बर २०१७) मा नेपाल फर्किए । 

कराँतेको विषयमा सर्ट फिल्म (डकुमेन्ट्री) बनाउने भनेर भनेर ३ महिनाको भिषामा कोरिया गएका खड्गी ११ दिनमै नेपाल फर्किनु शंकास्पद थियो नै उनीसँगै गएका १२ मध्ये ११ जना नफर्किनुले उनले केही गलत गरिरहेको प्रहरीले निष्कर्ष निकाल्यो । लगत्तै माघ २३ गते सिआईबीले उनलाई काठमाडौंको ठमेलबाट पक्राउ गर्यो । 

‘मानव तस्करीमा’ अरु कलाकार पनि संलग्न

सिआईबीसँगको बयानमा खड्गीले आफूमाथि लगाइएको अभियोग स्वीकार गरिसकेका छन् । खड्गीले ११ जनालाई कोरिया पुर्याएर छाडेको स्वीकार गरिसकेको उनीमाथिको अनुसन्धानमा संलग्न सिआईबीका अधिकारीले लोकान्तरलाई बताए । 

‘अरु कलाकारले पनि यसरी नै मान्छेहरु विदेश लैजान्छन् । मैले पनि त्यही गरेको हुँ,’ खड्गीको बयान उदृत गर्दै सिआईबीका अधिकारीले लोकान्तरसँग भने, ‘मभन्दा पहिले धेरैजना कलाकारले विदेशमा मान्छे पठाएका छन् ।’ 

सिआईबी स्रोतका अनुसार आफूले अन्य कलाकारले गरेको कामको अनुशरण गरेको भन्दै खड्गीले केही व्यक्तिको नाम समेत उल्लेख गरेका छन् । ती कलाकारले अमेरिका, बेलायत, जापान तथा युरोपका देशहरुमा नेपाली पठाएको खड्गीले सिआईबीलाई बताएका छन् । तर ती कलाकारको नाम भने सिआईबी स्रोतले सार्वजनिक गर्न मानेन । 

मानव तस्करी पुरानै धन्दा

राजेन्द्र खड्की हेटौंडाका स्थायी बासिन्दा हुन् । हेटौंडामा साना–तिना चोरीका घटना र ग्याङ्ग फाइटमा संलग्न हुने खड्की राँगालाई मुड्कीले ढालेर चर्चामा आए । त्यसपछि उनी काठमाडौं हान्निए । काठमाडौं आएपछि उनी ठेक्का–पट्टादेखि असुलीसम्मका कार्यमा संलग्न भए । ठेक्का–पट्टामा नजमे पनि असुलीको कामबाट उनले अलग पहिचान बनाए । 

असुली थालेपछि खड्गीले काठमाडौंका केही धनाड्यसँग सम्पर्क बढाए । धनाड्यले चर्को ब्याजमा लगाएको पैसा असुल्ने उनको पेषा थियो । पैसा असुल्ने कार्य गर्दा उनले थुप्रै व्यक्तिमाथि कुटपिट पनि गरे । असुलीका लागि उनले ग्याङ नै बनाएका थिए ।  असुली गर्दा गर्दै उनले फिल्म निर्मार्ताहरुसँग पनि सम्पर्क बढाए । फाइट सिन नभएको सिनेमा नै नचल्ने जमानामा उनी द्वन्द्व निर्देशनतिर लागे । जसले उनलाई कलाकारको पहिचान दियो । 

आवरणमा कलाकार भएपनि उनी मानव तस्करीमा पहिलेदेखि नै सक्रिय रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । खड्गीमाथि अनुसन्धान गरिरहेका सिआईबीका अधिकारीका अनुसार उनले दक्षिण कोरिया अघि अन्य देशमा पनि मानिस पठाउने गर्दथे । यद्यपि त्यस विषयमा उनीमाथि थप अनुसन्धान भइरहेको ती अधिकारी बताउँछन् । 

एकजनाबाट १० देखि १५ लाख 

खड्कीले कराँतेसम्बन्धी डकुमेन्ट्री सूटिङ गर्ने भन्दै १२ जनालाई कोरिया पुर्याएका थिए । १ जना फर्किए पनि ११ जना उतै रहे । खड्कीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर उनीहरुलाई कोरिया पुर्याएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । 

नेपाली चलचित्र क्षेत्रमा फेरिएको शैलीसँगै विगत ५–७ वर्षदेखि राजेन्द्र खड्गी चलचित्रबाट अलग रहे । उनले चलचित्रमा कामै पाउन छाडे ।  राजनीति गर्ने भनेर तत्कालीन एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डबाट टीका थापेर माओवादी प्रवेश गरे । तर उनी राजनीतिको खोल आढेर मानव तस्करीमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । 

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार हेटौंडाका केही नेताहरुले खड्गीलाई छुटाउन लगातार दवाव दिँदै आइरहेका छन् । प्रहरीले भने केही दिनमै उनीविरुद्ध मानब बेचबिखन गरेको अभियोगमा अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्