१० असार २०८३, बुधबार

जागिरको अभाव भएपनि अस्ट्रेलिया पढ्न जाने नेपालीको घुइँचो

फागुन २०, २०७४
जागिरको अभाव भएपनि अस्ट्रेलिया पढ्न जाने नेपालीको घुइँचो

काठमाडौं, २० फागुन — नयाँ आँकडाअनुसार गत वर्षको जुलाई र डिसेम्बर महीनाभित्रमा एक लाख ९० हजार विदेशीहरूले अस्ट्रेलियाका विश्वविद्यालयमा पढ्नका लागि आवेदन दिएका छन् । 

सन् २०१६ को तुलनामा यो १४.१ प्रतिशतको वृद्धि हो । भारतीय आवेदकहरूको संख्या ३२ प्रतिशतले बढ्यो भने चिनियाँ आवेदकहरू १३ प्रतिशतले बढे । ब्राजिललाई पछि पार्दै नेपालको विद्यार्थी ४६ प्रतिशतले बढ्यो । लगभग १२ हजार नेपालीले पढ्नका लागि आवेदन दिए । 

नेपाल विगत दश वर्षमा अस्ट्रेलियामा पढ्ने विद्यार्थीहरूको प्रमुख स्रोतका रूपमा विकसित भइरहेको छ । शुरूमा एक दशक लामो माओवादी द्वन्द्वका कारण अस्ट्रेलिया जाने नेपालीहरू बढे अनि पछि चाहिँ अर्काले भनेको आधारमा उनीहरू त्यहाँ पुग्न थाले । 

नेपाली सञ्चारमाध्यमहरूले सिड्नीको भिक्टोरिया विश्वविद्यालय तथा वेस्टर्न सिड्नी विश्वविद्यालय नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य रहेको बताएका छन् अनि नेपालीभाषीका लागि सिड्नीमा रहेको केन्द्र भनेको अबर्न हो । 

तर सरकारले यसै हप्ता सार्वजनिक गरेको आँकडाअनुसार अन्तर्राष्ट्रिय विद्यार्थीहरूले पढाइ सकेपछि जागिर पाउने सम्भावना घटेको देखिएको छ । पढाइ सकेर स्किल्ड वर्कमा जान चाहने विद्यार्थीहरूको संख्या टर्नबुल सरकारले
अस्थायी ४५७ भिसामा परिवर्तन ल्याएपछि स्वाट्टै घटेको छ । तर यसलाई यही महीना खारेज गरेर अर्को कानून ल्याइँदैछ । 

सन् २०१७ मा जम्मा तीन हजार स्नातकहरूले ४५७ भिसा प्राप्त गरे र यो सन् २०१६ को यही अवधिको तुलनामा ५० प्रतिशत गिरावट हो । अनि १८९ वा १९० स्किल्ड भिसामा जाने विद्यार्थीको संख्या पनि घटेको छ । 

बरू विद्यार्थीहरू ४८५ अस्थायी स्नातक भिसामा गइरहेका छन् र यसमा ३० प्रतिशतले वृद्धि भएको छ । यसले उनीहरूलाई अस्ट्रेलियामा काम खोज्न अनुमति दिन्छ तर स्किल्ड लेबरको ग्यारेन्टी दिँदैन । पर्यटक भिसामा जाने
स्नातकहरूको संख्यामा ११.५ प्रतिशत वृद्धि भएको छ ।

अस्ट्रेलियन नेसनल विश्वविद्यालयमा माइग्रेसनकी एसोसिएट लेक्चरर अर–काई वाङले ४८५ भिसाले स्थायी बसोवासका लागि अवसरको ढोका खोल्ने बताइन् । तर त्यसका लागि ४५७ नै सजिलो बाटो भएको उनको भनाइ छ । 

अस्ट्रेलियामा जागिर पाउने र स्थायी बसोवासका लागि बाटो खोल्ने प्रलोभन रहेपनि वाङका अनुसार, ठूलो संख्याका विदेशी विद्यार्थीहरू पढाइ सकेर घर फर्किने सुरमै छन् ।

द सिड्नी मर्निङ हेराल्डमा प्रकाशित माइकल कोजिओलको रिपोर्ट

 

salt training

कमेन्ट गर्नुहोस्