काठमाडौं, २० फागुन — चीन र भारतबीचको चिसो सम्बन्धलाई न्यानो बनाउने प्रयास भइरहेको देखिन्छ । प्रधानमन्त्री नरेन्द्र मोदी जुन महीनामा आयोजना गरिने शांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) शिखर सम्मेलनमा भाग लिनका लागि चीन जाने भएका छन् ।
चीनको हाङचोमा यो सम्मेलन हुँदैछ ।
यसअघि दुवै देश तनाव साम्य पार्ने कोशिशमा लागेका छन् । मोदीको भ्रमण दुवै देशका लागि महत्त्वपूर्ण होस् भन्नका लागि दुवै देशले सम्बन्धलाई मधुर बनाउने प्रयास गरिरहेका छन् ।
मोदीले यस प्रस्तावित भ्रमणअघि प्रमुख स्तरमा वार्ता गर्नका लागि तयारी गरेका छन् । सबभन्दा पहिले दुवै देशका विशेषज्ञहरू क्रसबोर्डर नदीहरूका सिलसिलामा २६ देखि ३० मार्चसम्म महत्त्वपूर्ण भेटघाट गर्नेछन् । यस चारदिवसीय बैठकमा दुवै देश भएर बग्ने नदीसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी साझा गरिनेछ ।
अघिल्लो वर्ष दोक्लम विवादपछि चीनले भारतसँग हाइड्रोलोजिकल डाटा बाँड्न अस्वीकार गरेको थियो । भारतले चाहिँ चीनद्वारा ब्रह्मपुत्र नदीमा बनाइएको बाँधका विषयमा चिन्ता व्यक्त गरेको थियो ।
त्यसपछि अप्रिल १३ र १५ का बीच चीनको नेसनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनले भारतको नीति आयोगसँग रणनीतिक तथा आर्थिक स्तरमा चर्चा गर्नेछ । अनि अप्रिलको अन्त्यमा दुवै देशका अर्थमन्त्रीहरूले बेइजिङमा भेटघाट गर्नेछन् ।
भारत र चीनको सम्बन्धका विषयमा हालै विदेश सचिव विजय गोखलेको एक नोट चर्चामा छ । गोखलेले नोटमा भारत तथा चीनबीचको सम्बन्ध संवेदनशील मोडमा रहेकाले तिब्बती धर्मगुरु दलाई लामासँग कुनै पनि राजनीतिक नेता र
सरकारी कर्मचारीले घेटघाट गर्न नहुने लेखेका थिए । यसबाट भारत अब दलाई लामासँग हिमचिम बढाएर चीनलाई चिढ्याउन चाहँदैन भन्ने संकेत दिन्छ ।
तर शुक्रवार विदेशमन्त्रीले भने, ‘दलाई लामाका विषयमा भारतको स्थिति स्पष्ट र स्थिर छ । उनी श्रद्धेय आध्यात्मिक गुरु हुन् र भारतका मानिस उनको सम्मान गर्छन् ।’
एजेन्सी