१५ असार २०८३, सोमबार

पहिलो टेस्टमा अस्ट्रेलियाले हरायो दक्षिण अफ्रिकालाई

फागुन २१, २०७४
पहिलो टेस्टमा अस्ट्रेलियाले हरायो दक्षिण अफ्रिकालाई

काठमाडौं, २१ फागुन — दक्षिण अफ्रिकाको भ्रमणमा रहेको अस्ट्रेलियाले पहिलो टेस्ट म्याचमा ११८ रनको जीत हासिल गरेको छ । जीतसँगै शृंखलामा उसले १–० को अग्रता लियो ।

दक्षिण अफ्रिकाले जीतका लागि ४१७ रन बनाउनुपर्नेमा पूरै टीम पाँचौं दिनमा २९८ रनमा अलआउट भएको थियो ।

टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले पहिलो इनिङमा ३५१ रन बनाएको थियो । मिचेल मार्शले ९६ रन बनाए । शतक बनाउनुअघि नै उनलाई भर्नोन फिलान्डरले मोर्केलको हातमा क्याचआउट गराए । 

कप्तान स्टिभ स्मिथले ५६ रन बनाए भने डेभिड वार्नरले ५२ रनको योगदान गरे ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले ३३.३ ओभरमा १२३ रन खर्चेर पाँच विकेट लिए । भर्नोन फिलान्डेरको नाममा तीन र कासिगो रबादाले दुई विकेट रह्यो । 

जवाफमा दक्षिण अफ्रिकाले ५१.२ ओभरमा जम्मा १६२ रन बनायो । एभी डिभिलियर्सको ७१ रनबाहेक अन्यको खासै योगदान रहेन । मार्क्रमको ३२ रन मात्र उल्लेख्य रह्यो ।

दक्षिण अफ्रिकालाई सस्तैमा समेट्नका लागि मिचेल स्टार्कको प्रमुख भूमिका रह्यो । उनले १०.३ ओभरमा ३४ रन खर्चेर पाँच विकेट लिए । लियोनले तीन अनि हेजलवूड र कमिन्सको नाममा एक एक विकेट रह्यो ।

दोस्रो इनिङमा अस्ट्रेलियाले २२७ रन बनायो । बानक्रोफ्टले ५३ रन बनाए भने कप्तान स्टिभ स्मिथले ३८ रन बनाए ।

महाराजले फेरि राम्रो बलिङ गर्दै चार विकेट लिए तर त्यसका लागि उनले १०२ रन खर्चिनुपरेको थियो । मोर्ने मोर्केलले तीन, रबादाले दुई र डीन एल्गरले एक विकेट लिए ।

जीतका लागि कीर्तिमान स्कोर पछ्याएको दक्षिण अफ्रिकाले चौथो इनिङमा केही सुदृढ प्रदर्शन ग–यो । ऐडन मारक्रमले बहादुरीपूर्ण १४३ रन बनाए । उनन्चास रनमा चार विकेट गुमाइसकेको दक्षिण अफ्रिकालाई उनैले सम्हाल्दै
अघि बढाए ।

उनलाई क्विन्टन डी ककले ८३ रन बनाएर सहयोग गरे । उनीहरूका बीच १४७ रनको साझोदारी बन्यो ।

अस्ट्रेलियाका लागि मिचेल स्टार्कले चार विकेट लिए । हेजलवूडको नाममा तीन विकेट रह्यो । त्यस्तै कमिन्स र मार्शले एक एक विकेट लिए ।

म्याचमा कुल नौ विकेट लिएका मिचेल स्टार्क म्यान अफ द म्याच भए ।


 

salt training

कमेन्ट गर्नुहोस्