
महेन्द्रनगर, २६ फागुन– लालझाडी गाउँपालिका वार्ड नं. ४ मा जनचेतना आधारभूत विद्यालय र बाढीपीडित मुक्त कमैया र शिव मन्दिर सनातन धर्म सेवा समितिबीच झण्डै एक दशकदेखि जारी बिवाद आपसी सहमतिमा समाधान भएको छ ।
दोदा नदीको बाढीले विस्थापित मुक्त कमैया परिवार विद्यालय र मन्दिर समितिको जग्गामा बसेपछि त्रिपक्षीय विवाद उब्जिएको थियो । दोदामा २०६५ मा आएको बाढीले मुक्त कमैयाका सात परिवार विस्थापित हुन पुगेका थिए । उनीहरुमध्ये पाँच परिवार विद्यालय र अन्य मन्दिरको जमिनमा बसोबास गर्दै आएका छन् । मुक्त कमैया परिवारले विद्यालय र मन्दिर समितिको द्ुई बिगाहा जमिनमा बसोबास गर्र्दै आएका छन् । विद्यालय र मन्दिर समितिले उनीहरुलाई हटाउन खोजेपछि विवाद उब्जिएको थियो ।
स्थानीय स्तरमा विवाद समाधानका लागि गरिएका प्रयास सार्थक नभएपछि विद्यालय व्यवस्थापन समितिले एक वर्ष अघि प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रलाई गुहारेको थियो । केन्द्रले स्थानीय, विवादित पक्ष र सरोकारवाला निकायसित पटक पटक छलफल गरी द्वन्द्व रुपान्तरण प्रक्रियाबाट विवाद सुल्झाएको छ । विवाद रुपान्तरणमा केन्द्रका राष्ट्रिय स्रोत व्यक्ति धर्मानन्द पन्त, स्थानीय सहजकर्ता लक्ष्मण बहादुर कार्की, माकुरा समूहका सदस्यहरुले सहजीकरण गरेका थिए ।
एक वर्षसम्मका निरन्तर छलफलपछि तीन पक्षबीच ८ बुँदे सहमति भएको थियो । बुधबार जनचेतना आधारभूत विद्यालयमा प्रदेश साँसद तारालामा तामाङ्गको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर गरिएको छ । सहमति पत्रमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिकिम चौधरी, प्रधानाध्यापक मंगल प्रसाद चौधरी, मन्दिर संरक्षण समितिका अध्यक्ष विरेन्द्र राना र पीडित मुक्त कमैयाबाट रोशन रानाले हस्ताक्षर गरेका छन् ।
‘समाजले गरेको निर्णय बाहिर जाँदैनौ, समाज गर्ने कुरा मान्छौ, समाज बाहिर जाँदैनौ,’ हस्ताक्षरपछि रोशन रानाले भने । दोदाको बाढीले घरबार नराखेपछि बाध्य भएर खाली जमिनमा बसेको उल्लेख गर्दै उनले नदी नियन्त्रण र आय आर्जनका लागि सम्बन्धित निकायले पहल गरि दिनु पर्ने बताए ।
तीन पक्षबीच बाढी पीडित समुदायको व्यवस्थापनका लागि सबै निकायसित समन्वय गरी अघि बढ्ने, जनचेतना आधारभूत विद्यालयमा मातृ भाषामा पठनपाठनका लागि पाठ्यक्रम बनाउन पहल गर्ने, विद्यालय र मन्दिरले चर्चेको जग्गाको स्वामित्वको लागि पहल गर्ने, बाढी पीडित मुक्त कमैया परिवारलाई घर गोठ र शौचालय निर्माणका लागि चाहिने सामग्रीका लागि कार्यदल गठन गर्ने, मुक्त कमैया समुदायको जीवन स्तर उकास्न सीप मुलक र कृषि उत्पादन कार्यक्रमका लागि स्थानीय तहसँग पहल गर्ने, बाढी पीडितलाई माछा पालनका लागि सहयोग जुटाउन पहल गर्ने, वनहरा नदीमा तटबन्ध निर्माण सहित विद्युत सडक लगायतका पूर्वाधार निर्माणका लागि स्थानीय सरकारसंग पहल गर्ने र शिव मन्दिर, राना चौधरी भुइयाको विकासका लागि स्थानीय तहसंग समन्वय गर्ने सहमति गरिएको छ ।
माुकरा समूहले फागुन ३ गते तीन ओटै पक्ष र सरोकारवालाबाट आएका विकल्पमा छलफल गरी साझा बुँदा तयार गरेको थियो । केन्द्रले विवाद समाधानका लागि सहजकीरण गर्न स्थानीय र विवादका पक्षलाई समेटेर माकुरा समूह बनाउने गरेको छ । यो विवादमा १३ सदस्यीय माकुरा समूह गठन गरिएको थियो ।
प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रका राष्ट्रिय स्रोत व्यक्ति पन्तले विवाद समाधानका माकुरा समूह सहयोगी भूमिका रहने बताए । ‘द्वन्द्वरत पक्षहरुका साझा विश्वासिला व्यक्तिहरुबाट सबै पक्षहरुसंग पारदर्शी, सामूहिक, निष्पक्ष रुपमा छलफल गरी सबैका साझा कुराहरु समेटी सामूहिक हितका लागि समस्या समाधान गर्न सहयोगी समूहका रुपमा माकुरा समूह गठन गरी सहजीकरण गरिन्छ’ उनले भने । माकुरा समूहमा धर्मानन्द गिरी, जयराम महर, अनिता राना, रेश्मा चौधरी, हेमलाल राना लगायतका माकुरा समूहका सदस्यहरु छन् ।
द्वन्द्व रुपान्तरण प्रक्रिया अन्र्तगत पक्षहरुका अगुवा, सरोकारवाला निकायको सामूहिक सहभागितामा पूर्व तयारी बैठक गरी प्रक्रिया सुरु हुने गरेको छ । त्यसपछि द्वन्द्वको विस्तृत रुपमा नक्साङ्कन, पक्षहरुबाट माकुरा समूह गठन, पक्षहरुसित छुट्टाछुट्टै भेटघाट र छलफल, सामूहिक प्रक्रिया प्रवेश, मुख्य समस्याको पहिचान, साझा विकल्प खोजी लगायतका प्रक्रिया अपनाउने गरिन्छ ।
यस्तो प्रक्रियामा महत्वपूर्ण मानिने माकुरा समूहका सदस्यहरुलाई तीन दिनको क्षमता अभिवृद्धि तालिम दिइने केन्द्रका राष्ट्रिय स्रोत व्यक्ति पन्तले जानकारी दिए ।
माकुुरा समूहका सदस्य गिरीको अध्यक्षतामा गरिएको सहमति पत्रमा हस्ताक्षर कार्यक्रममा प्रदेश साँसद तारालामा तामाङ्गले समस्याहरु समुदायले छलफल गरी समाधान गरेको पाउँदा आफू निकै खुसी भएको बताए । कार्यक्रममा लालझाडी गाउँपालिका वार्ड नं. ४ का अध्यक्ष बहादुर राना, शुक्लाफाँटा नगरपालिका–१२ का सदस्य बलदेब भट्ट, राजनीतिक दल, पक्षका अगुवा, स्थानीय सहभागी भएका छन् ।