
काठमाडौं, २७ फागुन — भारत र फ्रान्सका बीच शनिवार शिक्षा, नवीकरणीय ऊर्जा तथा रक्षा विषयमा सहयोग बढाउनका लागि १४ वटा सम्झौता भएका छन् ।
दुवै देशबीच सामुद्रिक सचेतताअन्तर्गत एकअर्काको जलसैन्य अड्डामा युद्धपोत राख्न र नेभिगेसन गर्न पाउने सम्झौता पनि भएको छ । चीनले पेटी सडक परियोजनाअन्तर्गत हिन्द महासागरमा गतिविधि बढाएकाले भारतले चिन्ता व्यक्त गर्दै फ्रान्ससँग सम्झौता गरेको हो ।
चीनले पेटी सडक परियोजनाअन्गर्तत एसिया र अफ्रिकाका देशहरूमा सैन्य उपस्थिति बढाइरहेको छ । यसले गर्दा फ्रान्ससमेत युरोपेली मुलुकहरूमा चिन्ता बढेको छ । चीनले अफ्रिकी मुलुक जिबूतीमा जलसैन्य अड्डा बनाएको छ ।
हिन्द महासागरमा रहेको रियूनियन टापु फ्रान्सका लागि महत्त्वपूर्ण क्षेत्र हो । अनि प्रशान्त महासागरमा चीनको गतिविधि बढ्दै जाँदा पनि फ्रान्स चिन्तित भएको छ ।
एजेन्सी