०७ असार २०८३, आइतबार

ट्रम्प र स्टोर्मी डेनियल्सको के चक्कर हो ?

फागुन २७, २०७४
ट्रम्प र स्टोर्मी डेनियल्सको के चक्कर हो ?

काठमाडौं, २७ फागुन — अमेरिकाकी पोर्न अभिनेत्री स्टोर्मी डेनियल्सले आफूसँग गरिएको एक कथित सम्झौताका सम्बन्धमा राष्ट्रपति डोनल्ड ट्रम्पमाथि मुद्दा चलाउने भएकी छन् । 

डेनियल्सका अनुसार, सन् २००६ को आरम्भतिर उनले ट्रम्पसँग अफेयर चलाएकी थिइन् । तर ट्रम्पले यसलाई अस्वीकार गर्दै आएका छन् । 

स्टोर्मी डेनियल्सको वास्तविक नाम स्टेफनी क्लिफ्फोर्ड हो । उनी सन् १९७९ मा लुइजियानामा जन्मेकी थिइन् र उनले वयस्क चलचित्रमा अभिनेत्रीका रूपमा काम गरेकी थिइन् । 

मोट्ली क्रू सांगीतिक समूहमा बाजा बजाउने निक्की सिक्सकी छोरी स्टोर्मी र अमेरिकी रक्सी कम्पनी ज्याक डेनियल्स यी दुई नामलाई मिसाएर उनले आफ्नो नयाँ नाम बनाएकी हुन् । 

उनले ४० ईयर ओल्ड भर्जिन र नक्ड अप जस्ता हलिउड फिल्म अनि मरून फाइभको म्युजिक भिडियोमा पनि काम गरिसकेकी छन् । 

सन् २०१० मा उनले लुइजियानाको सिनेट पदका लागि चुनाव लड्ने प्रयास गरेकी थिइन् तर उनको उम्मेदवारीलाई गम्भीरतापूर्वक नलिइएकाले नाम फिर्ता लिएकी थिइन् । 

डेनियल्सले सन् २००६ मा क्यालिफोर्निया र नेभादाको बीचमा रहेको लेक टाहो होटलमा ट्रम्पलाई भेटेको बताइन् । त्यतिखेर ट्रम्प एक व्यवसायी थिए । 

सन् २०११ मा डेनियल्सले इनटच पत्रिकालाई एक अन्तर्वार्ता दिइन् र त्यो यसै वर्षको जनवरीमा छापियो । त्यसमा उनले भनिन्, ‘ट्रम्पले मलाई डिनरको निमन्त्रण दिए र म उनलाई भेट्न होटलको कोठामा पुगें । ट्रम्प त्यतिखेर
सोफामा गोडा फैलाएर बसेका थिए र टेलिभिजन हेरिरहेका थिए । उनले पाइजामा लगाएका थिए ।’

ट्रम्पले उक्त कोठामा आफूसँग सम्बन्ध बनाएको डेनियल्सको दाबी छ । तर ट्रम्पका निजी वकिलले ट्रम्प यी आरोपलाई स्वीकार गर्दैनन् भने । 

डेनियल्सको आरोप सही हो भने यो घटना ट्रम्पको छोरा ब्यारनलाई मेलानियाले जन्म दिएको चार महीनापछिको भएको हो । 

डेनियल्स र ट्रम्पबीच त्यसपछि यदाकदा कुराकानी हुने गरेको भएपनि खासै केही प्रगति भएन । तर विगत केही महीनायता स्टोर्मीको नाम चर्चामा आएको छ । 

जनवरीमा वाल स्ट्रीट जर्नलले ट्रम्पका निजी वकिल माइकल कोहेनले अक्टोबर २०१६ मा राष्ट्रपति चुनावअघि स्टोर्मीसँग एक लाख ३० हजार डलरको सम्झौता गरिएको बताएको लेख्यो । 

सम्झौताअन्तर्गत स्टोर्मीले ट्रम्पसँगको सम्बन्धको जिकिर सार्वजनिक रूपमा गर्ने थिइनन् । 

मंगलवार स्टोर्मी डेनियल्सले ट्रम्पमाथि मुद्दा हाल्ने बताइन् । ट्रम्पले उनीहरूबीचको सम्झौतामा हस्ताक्षर नगरेको दाबी उनको छ । 

उनका वकिल माइकल अवेनातीले यस मुद्दाका दस्तावेजको जानकारी ट्वीटमार्फत दिए । 

अर्को दिन नै राष्ट्रपति ट्रम्पले फेब्रुअरीमा स्टोर्मी डेनियल्सविरुद्ध अदालतबाट रोक लगाउने आदेश प्राप्त गरिसकेको खबर आयो । 

निजी मध्यस्थता कारवाहीमा उनले यो आदेश प्राप्त गरेको बताइएको छ । यसबाट उनीहरूको कथित सम्बन्धका बारेमा गोप्य जानकारीलाई डेनियल्सले सार्वजनिक गर्न पाउँदिनन् । 

ह्वाइट हाउसका अधिकारीहरूका लागि यो विवाद महत्त्वपूर्ण समयमा आएको छ । 

यसअघि नै राष्ट्रपति चुनावमा रुसको कथित हस्तक्षेपका बारेमा अनुसन्धान चलिरहेको छ र ट्रम्पका कैयौं अधिकारीहरूले कि त राजीनामा दिइसकेका छन् कि त अनुसन्धानको घेरामा छन् । 

ह्वाइट हाउस यतिखेर अर्को एक विवादमा फस्न चाहँदैन ।

बीबीसीबाट 
 

कमेन्ट गर्नुहोस्