१७ असार २०८३, बुधबार

बोक्सी भन्दै कुटिएकी युवतीलाई पत्रकारबाट 'हैरानी', ‘अति’ भएपछि सेफ हाउसमा लगियो

फागुन २७, २०७४
बोक्सी भन्दै कुटिएकी युवतीलाई पत्रकारबाट 'हैरानी', ‘अति’ भएपछि सेफ हाउसमा लगियो

धनगढी, २७ फागुन– बोक्सी आरोपमा निर्घाट कुटिएकी राधा चौधरीलाई सेती अञ्चल अस्पतालमा बस्ने वातावरण नभएपछि अहिले उनलाई सेफ हाउसमा पुर्याइएको छ ।

दैनिक २४ औं घण्टा मिडिया, गैरसरकारी संघ–संस्थाकका प्रतिनिधिले सोध्ने एउटै किसिमको प्रश्न र जिज्ञासाले आतंकित भएकी राधालाई ओरेक नेपालको सेफ हाउसमा पुर्याइएको हो ।

राधाकी दिदी सन्ध्या योगीले भनिन्, ‘कृपया यसलाई बचाउनुस्, दिनरात यस (राधा)लाई मिडिया र एनजीओकर्मीको एउटै प्रश्न छ, घटना कसरी घट्यो ?, के–के गरे तिमिलाई ?, बस् यहि सवालमा अन्तरवार्ता दिनु परेको छ ।’

सन्ध्याका अनुसार उनलाई सेती अञ्चल अस्पताल पुर्याइसकेपछि दैनिक हजारौं मान्छेले भेटेर एउटै प्रश्न सोध्ने गरेका छन् । कोही सहानुभुती देखाउन पुगेका छन् भने, कोही सहयोगको बाचासहित अस्पताल पुगिरहेका छन् । तर भीड नियन्त्रणमा नआएपछि उनका आफन्तजनलाई समेत सास्ती पुगेको छ । यहाँसम्मकी अस्पतालमा उपचाररत अन्य बिरामीहरुलाई समेत असर पुगेको एक जना चिकित्सकले बताइन् ।

ओरेक नेपाल कैलालीकी कार्यक्रम संयोजक बिनु रानाले पीडितको संवेदनशिलतालाई मध्यनजर गरी पीडित पक्षको सहमतिमा सेफ हाउसमा लगेको जानकारी दिइन् ।

घटनाका मुख्य अभियुक्त तथा तान्त्रिक रामबहादुर चौधरी (भोले), उनको सहयोगी किस्मती चौधरी र स्मारिका चौधरी अहिले हिरासतमा छन् । उनीहरुविरुद्ध बोक्सी आरोप सम्बन्धी कसुर तथा सजाय ऐन र ज्यान मार्ने उद्योग अनुसार मुद्धा दर्ता भएको कैलालीका प्रहरी प्रवक्ता डिएसपी सागर बोहराले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्