काठमाडौं, २८ फागुन — चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतवार अधिकारीहरूलाई आफू र आफ्नो परिवारले भ्रष्टाचार नगर्नका लागि सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
चीनको संसद्ले राष्ट्रपतिका लागि दुई कार्यकाललाई दुई तिहाइ बहुमतले हटाइदिएपछि सीले जीवनभरि शीर्ष पदमा आसीन रहने बाटो खुलेको छ ।
सीले नेसनल पीपुल्स कंग्रेसका नेताहरूसँगको कुराकानीमा अधिकारीहरूले आत्मनियन्त्रण कायम राख्नुपर्ने र दाग लाग्न दिनु नहुने बताए । समाचार संस्था सिन्ह्वाले सीका तर्फबाट खबर दिए, ‘तपाईं भ्रष्टाचारतर्फ लग्ने कुनै पनि काम
नगर्नुस् । आफ्ना सन्तानलाई आफ्नो नाम प्रयोग गर्न नदिनुस् । आफूनजिकका मानिसलाई आफूमाथि प्रश्न उठाउने अवसर नदिनुस् ।’
सीले थपे, ‘अधिकारीहरूले भ्रष्टाचारमा लिप्त हुनुहुँदैन । आफ्ना सीमाहरूलाई उनीहरूले पार गर्नुहुँदैन । भ्रष्टाचारविरुद्ध व्यवस्था झन् राम्रो बनाउनुपर्छ ।’
सीले सफा राजनीतिक व्यवस्थामा जोड दिँदै उच्च अधिकारीहरूसँग विधिको शासन बनाउन अपील गरे । वरिष्ठ अधिकारीहरूले नेतृत्वलाई बलियो बनाएर उदाहरण पेश गर्नुपर्छ ।
एजेन्सी