
काठमाडौं, २९ फागुन– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एयर ट्राफिक कन्ट्रोल टावर एटीसीमा कार्यरत रहेका ६ जना कर्मचारीलाई अर्को विभागमा सरुवा गरिएको छ । युएस बंगला एयरको विमान दुर्घटनापछि उनीहरुलाई सरुवा गरिएको हो ।
विमान दुर्घटनापछि एटीसीका कर्मचारी ‘सक्ड’ हुने भएकाले अन्य विभागमा सारिएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ । प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले एटीसीका अधिकारीले आफ्नो आँखै अगाडि त्यति ठूलो दुर्घटना देखेका कारण उनीहरु सक्ड हुनसक्ने भएकाले अन्य विभागमा सारेको जानकारी गराए ।
विमानको ककपिट र टावर (एयर ट्राफिक कन्ट्रोलर (एटिसी) बीच भएको कुराकानीलाई लिएर कारबाही गरिएको अनुमान गरिएको छ । तर, उनले यो अस्वीकार गरे ।
विमानको ककपिट र टावर (एयर ट्राफिक कन्ट्रोलर (एटिसी) बीच भएको कुराकानी सामाजिक सञ्जाल र मिडियामा अडियो छ्याप्छ्याप्ती भएको छ । प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले अति गोप्य प्रकृतिको सूचना बाहिरिनु अपराध भएको बताएका थिए ।