
काठमाडाैं, २ चैत– टीकापुर घटनाकाे अभियुक्तकाे रूपमा थुनामा रहेका केलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीले अनशन तोडेका छन् । उनलाई शुक्रवार साँझ गृहमन्त्री रामबहादुर थापाले वीर अस्पतालमा जुस खुवाएर अनशन तोडाएका हुन् ।
गृहमन्त्री थापाले उनीमाथि लागेको मुद्धाका बारेमा राजनीतिक हल खोज्ने आश्वासन दिएपछि चौधरीले अनशन तोडेका हुन् । अनशन तोड्दै चौधरीले सो घटनामा आफू निर्दोष रहेको र आफूलाई फसाउन खोजिएको बताएका थिए ।
उनले टीकापुर घटनाका बेलामा अाफू बर्दिया रहेको र आफ्नो कल डिटेल हेरेर अनुसन्धान गर्न माग गरेको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले जानकारी दिए। उनले टीकापुर घटनाको नयाँ शिराबाट अनुसन्धान गरिनुपर्ने बताएका छन्।
टिकापुर घटनाका मुख्य अभियूक्त चौधरीले जिल्ला कारगार कैलालीमा १८ दिन अगाडिदेखी आमरण अनशन थालेका थिए । अनशनपछि स्वास्थ्यमा समस्या आएपछि उनलाई सेती अञ्चल अस्पतालले काठमाडौं ‘रेफर’ गरेको थियो।