
विराटनगर, ७ चैत- विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । देब्रे तिघ्राको हड्डी भाँचिएर उपचार गराउन आएकी सिरहा नगरपालिका छारपट्टिकी २५ वर्षीया रञ्जिता साहको उपचारको क्रममा मृत्यु भएको हो । चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले विरोध जनाएका छन् ।
गत फागुन २८ गते जनकपुरमा विवाह समारोहमा सहभागी भएर फर्किने क्रममा श्रीमान वीरेन्द्रसहित जीप दुर्घटनामा परि साह घाइते भएकी थिइन् । उनको देब्रे घुट्टा भाँचिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
सामान्य अवस्थामा रहेकी रञ्जिताको शल्यक्रियापछि स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो । उनको मंगलबार मृत्यु भएको हो ।
मृतकका श्रीमान वीरेन्द्र साहले सिकारुले शल्यक्रिया गरेका कारण आफ्नो श्रीमतीको मृत्यु भएको आरोप लगाए । हड्डी भाँचिएकै कारण बिरामीको मृत्यु हुन नसक्ने उनको जिकिर छ ।
अस्पताल प्रशासनले भने लापरबाही भएको भान्ने आरोप खण्डन गरेको छ । फ्युमर फ्याक्चर भएको र सोहीबाट फ्याटी इम्बोलिज्म भएर बिरामीको मृत्यु भएको अस्पताल प्रशासनको दाबी छ । तिघ्राको मोटो हड्डी भाँच्चिएपछि हड्डीभित्र रहने बोनम्यारो नशामार्फत् किड्नीमा पुगेको र किड्नी फेल भएर बिरामीको मृत्यु भएको जिकिर अस्पतालका अप्रेशनल डाइरेक्टर राजेश भट्टराईले गरे ।
अस्पतालको दाबीलाई मृतकका आफन्तले अस्वीकार गरेका छन् । शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही हुनुपर्ने उनीहरूको माग छ । माग सम्बोधन नभए आफूले आत्मदाह गर्ने श्रीमान वीरेन्द्रको चेतावनी छ ।