०९ असार २०८३, मंगलबार

नेपालको नदीले भारतको प्यास मेट्ने !

नेपालको नदीले भारतको प्यास मेट्ने !

काठमाडौं, ८ चैत — भारतले सुक्न लागेको यमुना नदीलाई पुनर्जीवन दिलाउनका लागि नेपालको सहयोग लिने आशा गरेको छ । 

अन्तर्देशीय नदी–सम्पर्क परियोजनाअन्तर्गत भारत सरकारले नेपालसँग कुरा गरेर महाकाली नदीलाई दिल्लीको यमुनासँग जोड्ने योजना बनाएको छ । 

एकतीसवटा नदीलाई जोड्ने र बढी भएको पानी सुक्खा क्षेत्रमा लाने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको महत्त्वाकांक्षी योजनाको एक अंगका रूपमा यो परियोजना रहेको छ । 

‘यो प्रस्तावलाई सचिवहरूको एक समितिले स्वीकृत गरिसकेको छ र नेपालसँग यसबारेमा संवाद गर्नका लागि विदेश मन्त्रालयसमक्ष अनुरोध पठाइसकिएको छ,’ जलस्रोत सचिव यूपी सिंहले भने । 

नाम नखुलाउने शर्तमा अधिकारीहरूले जानकारी दिएअनुसार सचिवहरूको समितिले नेपालसँग ५४० मेगावाटको पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् परियोजनाका सम्बन्धमा सम्झौताका शर्तहरूका बारेमा छलफल गरेका थिए । 

सन् १९८१ मा ल्याइएको उक्त परियोजना नरेन्द्र मोदीले नेपाल भ्रमण गरेको समयमा अघि बढेको थियो । तर नेपालमा अहिले वामगठबन्धनको सरकार बनेपछि उक्त परियोजनाका विषयमा आशंका उत्पन्न भएको छ । 

महाकाली र यमुनालाई जोड्ने प्रस्तावित परियोजनाले महाकालीको अतिरिक्त पानी यमुनामा ल्याउने योजना बनाएको छ । दिल्लीमा यमुनाको पानीको अविरल प्रवाहलाई यसले सुनिश्चित गर्नेछ अनि यसले हरियाणा, पञ्जाब र राजस्थानलाई पनि हित गर्नेछ ।

पञ्चेश्वर परियोजनाका बारेमा यसअघि कुरा भएपनि यमुना–महाकाली जोड्ने विषयमा पनि कुरा गरिने वरिष्ठ अधिकारीले बताए । 

नेपालको सुशील कोइराला सरकारले महाकाली–यमुना परियोजनामा भारतलाई सहयोग गर्ने सहमति जनाएको अधिकारीहरू बताउँछन् । 

‘सन् २०१४ मा भएको छलफल अत्यन्तै प्रारम्भिक मात्र थियो । भारतले के प्रस्ताव गरेको हो भनी थाहा नपाउञ्जेलसम्म हामीले टिप्पणी गर्न मिल्दैन । दुवै पक्षले यसमा व्यापक छलफल गर्नु आवश्यक छ,’ प्रधानमन्त्री केपी ओलीका
विदेश सल्लाहकार तथा प्रबुद्ध व्यक्तिको समूहका एक सदस्य राजन भट्टराईले बताए । 

राष्ट्रिय जल विकास प्राधिकरणले यमुना–महाकाली परियोजनाको भारतीय पक्षको सम्भाव्यता प्रतिवेदन तयार गरिसकेको छ । नेपालसँगको सम्झौता अन्तिम चरणमा पुगेपछि विस्तृत परियोजना प्रतिवेदन बनाइनेछ । 

विज्ञहरूका अनुसार, यमुनाको स्वच्छता तथा नदी किनारको विकास नदीमा पु–याइने जलप्रवाहले निर्धारण गर्नेछ । 

तर यस परियोजनाले वातावरणमा पु–याउन सक्ने नकारात्मक असरका बारेमा वातावरणविद्हरूले चिन्ता जनाएका छन् ।

हिन्दुस्तान टाइम्समा प्रकाशित तौफिक रशिदको रिपोर्ट

salt training

कमेन्ट गर्नुहोस्