काठमाडौं, ९ चैत–अमेरिकाले चिनियाँ सामानमाथि ६० अर्ब डलरसम्म शुल्क लगाउने भएको छ । साथै अमेरिकामा चीनको लगानीलाई सीमित बनाउने निर्णय पनि गरेको छ।
राष्ट्रपति ट्रम्पले व्यापार सम्बन्धी कार्यालयलाई नयाँ करमा ६० अर्ब डलर शुल्क तिर्नुपर्ने सामानहरूको सूची प्रकाशित गर्न १५ दिनको समय दिएका छन्। चीनमाथि लगाइने प्रतिबन्धसम्बन्धी टिपोटमा हस्ताक्षर गर्दै ट्रम्पले यसबारे अमेरिका र चीनले वार्ता गरिरहेको र उनले अमेरिकी कम्पनीहरूका लागि पारस्परिक व्यापार शर्त खोजिरहेको बताएका छन्।
चीनमाथि बौद्धिक सम्पत्ती चोरी गरेको आरोप लगाउँदै आउको अमेरिकाले त्यसकै बदलामा यो निर्णय गरिएको जनाइएको छ। चीनको अर्थव्यवस्थाले दिइरहेको अनुचित प्रतिस्पर्धालाई चुनौती दिन यी कदमहरू आवश्यक रहेको ह्वाइट हाउसले जनाएको छ।
चीनले भने आवश्यक उपायहरूसहित त्यसको प्रतिकार गर्न आफू तयार भएको भन्दै प्रतिक्रिया दिएको छ। उसले आफ्नो हितका लागि अमेरिकासँगको कुनै पनि व्यापार युद्धमा अन्त्यसम्म लड्ने जनाएको हो।