१८ असार २०८३, बिहीबार

ट्रम्पका नयाँ सुरक्षा सल्लाहकार बोल्टन कस्ता व्यक्ति हुन् ?

ट्रम्पका नयाँ सुरक्षा सल्लाहकार बोल्टन कस्ता व्यक्ति हुन् ?

काठमाडौं, ९ चैत — जर्ज डब्ल्यु बुश प्रशासनमा प्रभावशाली स्थानमा रहेका युद्धप्रिय पुरातनपन्थी नेता जोन बोल्टन अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार बन्ने भएका छन् । 

अमेरिकी शक्तिका प्रतिरक्षक तथा विदेशमा अमेरिकी शक्ति लगाउनुपर्ने विषयका पक्षपाती बोल्टनले आफ्ना धारणाहरू कडा रूपमा राख्ने गरेका छन् । 

उनी तलका पाँच कुरामा विश्वास राख्छन् :

१. उत्तर कोरियाविरुद्ध अग्रआक्रमण जायज छ 
उत्तर कोरियाका सम्बन्धमा बोल्टनका विचारहरूमाथि कडा निगरानी रहनेछ किनकि ट्रम्प र किम जोङ–उनबीचको सम्मेलन मे महीनामा हुने अपेक्षा गरिएको छ । 

उत्तर कोरिया र उसको आणविक कार्यक्रमले अमेरिकामाथि तात्कालिक खतरा पारेको विश्वास आफूले लिएको भनी बोल्टनले प्रस्ट पारिसकेका छन् । वाशिङटनले यसमा कूटनीतिक उपाय अपनाउनुपर्ने भन्नेहरूका विचारलाई उनले खारेज गर्ने गरेका छन् । 

२. इरानमाथि बम आक्रमण गर्नु ठीक हुन्छ 
डोनल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलरसनलाई इरानसँगको आणविक सम्झौताका विषयमा फरक विचार राखेकोमा बर्खास्त गरेको बुझिन्छ । ट्रम्पले यस आणविक सम्झौताको कडा आलोचना गर्ने गरेका छन् । 

यस विषयमा जोन बोल्टनसँग उनको विचार मिल्छ । बोल्टनले यस विषयमा द न्युयोर्क टाइम्समा लेखे, ‘समय एकदमै कम छ तर इरानमाथिको आक्रमण सफल हुन सक्नेछ । इरानको विपक्षलाई अमेरिकाले पूर्ण सहयोग गर्नुपर्छ र तेहरानमा सत्ता परिवर्तन गराउनुपर्छ ।’

३. उनी संयुक्त राष्ट्रसंघलाई मन पराउँदैनन्
‘संयुक्त राष्ट्रसंघ भन्ने चीज नै छैन,’ बोल्टनले सन् १९९४ मा एक भाषण दिँदै बताए । ‘संसारमा एक मात्र वास्तविक शक्ति छ र त्यो अमेरिका हो अनि त्यसैले कहिलेकाहीँ अन्तर्राष्ट्रिय समुदायको नेतृत्व गर्न सक्छ । अमेरिकाको हित सुहाउँदो र अरूलाई आफूसँगै लान सक्ने अवस्थामा अमेरिकाले नेतृत्व गर्ने हो ।’

पछि तिनै बोल्टन राष्ट्रसंघका लागि अमेरिकाका राजदूत भए । उनले राष्ट्रसंघको सुधारका लागि गरेको प्रयासले प्रशंसा पनि कमाए । 

४. इराक युद्ध भूल थिएन
ट्रम्पले केही हप्ताअघिसम्म पनि अमेरिका नेतृत्वको इराक युद्धलाई अहिलेसम्मकै सबभन्दा खराब निर्णय भनेका थिए । तर त्यसैबेलामा बोल्टनले यो युद्धलाई निन्दा गर्न मानेनन् । 

‘सद्दाम हुसेनलाई सत्ताच्युत गर्नु गल्ती थियो भन्नु एकदमै सपाट दाबी हो,’ उनले फक्स न्युजमा भने ।

५. रुसविरुद्ध दह्रो उभिनुपर्छ
बोल्टनले सन् २०१६ को राष्ट्रपति निर्वाचनमा रुसको हस्तक्षेप ‘वास्तविक युद्ध हो र वाशिङटनले यसलाई कहिल्यै नसहने’ बताए । 

सन् २०१७ को जुलाई महीनामा ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्दा रुसले हस्तक्षेप नगरेको पुटिनले बताएका थिए । त्यतिखेर बोल्टनले ‘पुटिनले केजीबी (रुसको जासूसी संस्था) को उच्च तालिमको बलमा झुट बोलेको’ भनी लेखेका थिए ।

हालसालै चाहिँ बेलायतमा रुसका पूर्वजासूस सर्गेई स्क्रिपाललाई विष दिइएकोमा रुसमाथि दोष लगाइएको छ र बोल्टनले रुसलाई पश्चिमको कडा प्रत्युत्तर आवश्यक रहेको बताएका छन् ।

बीबीसीबाट
 

salt training

कमेन्ट गर्नुहोस्