
विराटनगर, ११ चैत– तस्करी रोक्न भन्दै मोरङको रतुवामाई नगरपालिकाले पेट्रोलियम पदार्थ खरिद गर्न नगरपालिकाको सिफारिस अनिवार्य गरेको छ ।
नगरपालिकाका प्रमुख रविन राईले नेपालबाट भारत तर्फ पेट्रोलियम पदार्थ तस्करी भएको भन्दै रतुवामाई नगरपालिकामा भएको पम्पहरुलाई नगरपालिकाको सिफारिसका आधारमा मात्र पेट्रोलियम पद्धार्थ बिक्री वितरण गर्न निर्देशन जारी गरेका हुन् ।
नगरपालिकाको यस्तो ब्यवस्थासँगै स्थानीयहरुले सास्ती भोग्नु परेको छ । नेपाल भन्दा भारतमा पेट्रोलियम पद्धार्थको मूल्य बढी भएको कारण तस्करी बढेकाले त्यस्तो ब्यवस्था लागू गरिएको नगर प्रमुख राईले जानकारी दिए ।
नेपालका पम्पहरुले तेल तस्करी गरेर भारत पु¥याएको पाईएपछि कडाई गरिएको राईको भनाइ छ । पम्पमा आएको अधिकांश ईन्धन भारत तस्करी हुँदा स्थानीयले पेट्रोलियम पद्धार्थ नपाउने अबस्था बनेपछि कडाई गरिएको हो । चैत महिनामा किसानले चैतेधान खेती गर्न डिजेल नपाएपछि कडाई गरिएको राईले बताए ।
तेल कटौती
नगर प्रमुख राईले सिजुवा स्थित केपीसी सप्लायर्सलाई अधिकांश इन्धन तस्करी गरेको भन्दै सप्लायर्समा पठाउने इन्धन कटौती गर्न नेपाल आयल निगम क्षेत्रीय डिपो विराटनगरमा पत्राचार समेत गरिएको छ । नगर प्रमुखको पत्रपछि निगमले सो पम्पमा पठाउने तेलमा कटौती गरेकोको छ ।
त्यसअघि दैनिक ८ हजार लिटर डिजल निगमले सो पम्पलाई दिँदै आएकोमा अब ४ हजार लिटर मात्र पठाउन थालेको हो । अन्य कार्वाहीको बिषयमा थप निर्णय लिईने निगमका क्षेत्रीय प्रमुख भानुभक्त खनाले जानकारी दिए । केपिसी सप्लायर्सका संचालक हितेन्द्र कुमार अग्रवालले नगर प्रमुखको आरोप गलत रहेको दाबी गरेका छन् । आफूहरुको कुनै गल्ती नभएको बताउँदै फसाउने प्रयास भएको अग्रवालको स्पष्टोक्ति छ ।
नगर प्रमुख राईले साँझ पेट्रोलियम पम्पहरुमा झारिएको इन्धन विहान नपाउने अवस्था आएपछि सिफरिस अनिवार्य गरिएको बताए ।