२९ जेठ २०८३, शुक्रबार

८ दिन काम गरेको ज्याला ५ सय, स्थानीय तहको बजेटमा उपभोक्ता समितिको मनपरी

चैत १२, २०७४
८ दिन काम गरेको ज्याला ५ सय, स्थानीय तहको बजेटमा उपभोक्ता समितिको मनपरी

सुर्खेत, १२ चैत– दैलेखको आठबीस नगरपालिका वडा नं. ६ मा खानेपानी सुधार र मर्मतका लागि भनेर नगरसभाले रु तीन लाख रकम विनियोजन गर्‍यो । 

कांग्रेसका नेता विष्णु आचार्य अध्यक्ष र बलबहादुर विक उक्त उपभोक्ता समितिको सचिव बनाइए । उनीहरुले काम शुरु गरे । काम गराउँदा १३० दिन हाजिरी पुग्यो । 

उनीहरुले मर्मत सुधारकालागि भनेर ३ बोरा सीमेन्ट र ६ बोरा बालुवा समेत ल्याए । तर त्यो सामान खासै प्रयोग नै गरेनन् ।

८ दिन काम गरेकी माता थापाले अरुलाई समितिका सचिव बलबहादुर विकले ५ सय दिएको तर आफूलाई भने ६४० रुपैंया दिएको लोकान्तरलाई बताईन् । ‘योजना फरफार भएको छैन । तिमिले पाउने यत्ति नै हो भनेर सचिव बलबहादुर विकले दिए ।’ उनले भनिन्, ‘गरिब दुःखीले काम गरेपनि न्यायसंगत तरिकाले पैसा दिएनन् ।’ आफूले ५ दिन काम गरेर १ सय मात्रै रुपैंया पाएको अर्का स्थानीय दिपा थापाले गुनासो गरिन् । ‘मेहनत गर्ने हामी, पैसा खाने उनीहरु’ उनले भनिन्, ‘हाम्रा गुनासा कसले सुन्देला खै’ ।

अर्का स्थानीय अमर थापाले उपभोक्ता समितिले अहिलेसम्म वैठक समेत नबसालेको बताए । ‘पैसा खाने नियत देखिएको छ, कम्तिमा यति बजेट आयो भनेर त जानकारी दिनुपर्छ नि ?’ उनले भने, ‘घरमै गएर सचिव बलबहादुर विकले यसरी पैसा बाँडनुको पछाडी अरु के रहस्य होला र ?’

यता, उपभोक्ता समितिका अध्यक्ष विष्णु आचार्यले त्यसबारेमा केही थाहा नभएको प्रतिक्रिया दिए । ‘खाता सबै सचिव ज्यूसँग छ । मलाई केहि जानकारी नै भएन ।’ उनले आफूलाई पन्छाउदै त्यो सबै हेर्ने जिम्मा सचिवको मात्रै भएको र आफूले नहेरेको बताए ।

यता, आठबीस नगरपालिकामा भ्रष्टाचार विरुद्व शून्य सहनशिलता अवलम्बन गर्ने बताउँदै आएका नगरप्रमुख खड्गराज उपाध्यायसँग फोन सम्पर्क गर्दा सम्पर्क हुन सकेन । केहि दिनअघि नगरप्रमुखले कसैले पनि भ्रष्टाचार गरेमा कडा कारवाही गर्ने नगरपालिकाका सबैलाई चेतावनी दिएका थिए । अब हेरौं, नगरप्रमुखले उनीहरुमाथि कस्तो कारवाही गर्लान् ?
 

salt training

कमेन्ट गर्नुहोस्