०१ असार २०८३, सोमबार

मुख्य समाचार : राष्ट्रपतिले संघीय संसद्लाई सम्बोधन गर्ने, प्रदेश राजधानी एवं नामाङ्कनका लागि समिति गठन

मुख्य समाचार : राष्ट्रपतिले संघीय संसद्लाई सम्बोधन गर्ने, प्रदेश राजधानी एवं नामाङ्कनका लागि समिति गठन

काठमाडौं, १३ चैत– राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संसद्लाई सम्बोधन गर्ने भएकी छिन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सभामुख कृष्णबहादुर महराले १५ चैत अपराह्न ४ बजे बस्ने दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्ने बताए । 
राष्ट्रपतिले सम्बोधन गर्ने मिति सोमबारकै मन्त्रिपरिषद् बैठकले तोकेको थियो । संघीय संसद्को पहिलो अधिवेशनमा दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले सम्बोधन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार समय तय गरिएको हो ।

ईयुको प्रतिवेदनप्रति कांग्रेसको आपत्ति– नेपाली कांग्रेसले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनको प्रतिवेदनप्रति आपत्ति जनाएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समितिको बैठकमा बोल्ने नेताहरुले मिसनले अधिकार भन्दा बाहिर गएर नेपालको संविधानप्रति नकारात्मक टिप्पणी गरेको बताएका हुन् । 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ईयुको प्रतिवेदनमा रहेका केही अंश गम्भीर र आपत्तिजनक रहेको बताए । यता, ईयुको प्रतिवेदनप्रति सांसदहरुले मिश्रित धारणा व्यक्त गरेका छन् । सोमबारको  प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले निर्वाचनका विषयमा युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले तयार पारेको प्रतिवेदनप्रति केहीले आपत्ति जनाए भने केहीले स्वभाविक रहेको बताए ।

बैठकको विशेष समयमा एमाले, कांग्रेस, माओवादी केन्द्रका सांसदले ईयुले प्रतिवेदन सच्चाउनु पर्ने बताए । तर, मधेसकेन्द्रित दल राजपा नेपाल र संघीय समाजवादी फोरमका सांसदले लोकतन्त्र र मानवअधिकारको विषयमा मानवअधिकारप्रेमी कुनै पनि देशले बोल्न सक्ने दावी गरे । 

बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) अध्यादेश, २०७४ पेश भएको छ । 

मन्त्रिपरिषद बैठक–मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका दुई सल्लाहकार नियुक्त गरेको छ । सोमबारको बैठकले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई नियुक्त गरेको हो । यसैगरी प्रेस सल्लाहकारमा कुन्दन अर्याललाई नियुक्त गरिएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

राज्यमन्त्री बाँस्कोटाका अनुसार घर बहालमा दोहोरो कर नलगाउने रानीजमरा सिँचाइ आयोजनाको जग्गाको क्षतिपूर्ति व्यवस्थापन गर्ने, निर्वाचनका समयमा बम विष्फोटन र महिला हिंसाका घटनामा परी घाइते भएकाहरुको अस्पतालमा लागेको खर्च व्यहोर्ने निर्णय पनि बैठकले गरेको छ । 

यसैगरी बैठकले संघीय संरचनाअनुसार प्रदेश सरकार, प्रदेशसभा र जिल्ला समन्वय समितिका संयोजकसम्मलाई कूटनीतिक राहदानी प्रयोगको व्यवस्था गर्ने, नेपाली सेनाका १३ जना महासेनानीको सेवा अवधि दुई वर्ष थप गर्नेलगायत निर्णय गरेको छ । 

आदेश नआए पनि स्वेच्छिक अवकाशका काम चालु– प्रधानमन्त्री केपी शर्मा ओली र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबावु पण्डितले स्वेच्छिक अवकाश नदिने भनिरहेका बेला मन्त्रालयले भने स्वेच्छिक अवकाशको कामलाई अगाडि बढाएको छ । मन्त्रालयले स्वेच्छिक अवकाश दिने कर्मचारीको नामावलीको अन्तिम रुप तयार गरेको छ । 

माथिबाट स्वेच्छिक अवकाशको काम रोक्नू भन्ने आदेश नआएकाले अवकाशको कामकारबाही भइरहेको स्वेच्छिक अवकाश एकाइका प्रमुख धर्मराज रोकायले बताए । उनका अनुसार अहिले सबै जिल्लाबाट अवकाशका लागि निवेदन दिने कर्मचारीको नामावली विवरण तयार गरिएको छ । हालसम्म नौ हजार ६५६ जनाले अवकाशका लागि निवेदन दिएका छन् ।


नेपाली कांग्रेसको बैठक– निर्वाचनमा बेहोरेको हारको समीक्षा गर्न बसेको नेपाली कांग्रेसको बैठक आरोपरप्रत्यारोपमा केन्द्रित भएको छ । निर्वाचन पराजयमा सभापति शेरबहादुर देउवाको भूमिकाबारे आरोपप्रत्यारोप चलेको हो ।

शुक्रबारदेखि सानेपामा जारी केन्द्रीय समितिको बैठमा संस्थापन पक्षले वाम गठबन्धनलाई प्रमुख कारण मान्दै नेतृत्वको बचाउ गरेको छ भने संस्थापनइतर पक्ष नेतृत्वकै कमजोरीलाई प्रमुख कारण ठर्हयाउँदै देउवाको गम्भीर आलोचनामा उत्रिएको छ ।

निर्वाचनको परिणामबाट आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । आगामी दिनमा पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीलाई अन्त्य गर्दै पार्टी व्यक्तिबाट भन्दा सिद्धान्त, निष्ठा र आदर्शबाट सञ्चालन गर्नुपर्ने सुझाव उनीहरुले दिएका छन् ।  

प्रदेश राजधानी एवं नामाङ्कनका लागि समिति गठन– प्रदेश नं ४ को सोमबारको  प्रदेशसभा बैठकले प्रदेशको राजधानी एवं नामाङ्कनका लागि समिति गठन गरेको छ । प्रदेशसभा सदस्य मायानाथ अधिकारीले गरेको प्रदेशको नामाङ्कन र राजधानी तोक्नका लागि गठित समितिका सदस्यको नामसहितको प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको थियो । 
समितिका सदस्यमा धनञ्जय दवाडी, मीनप्रसाद गुरुङ, भगवतप्रकाश मल्ल, विन्दुकुमार थापा, दीपक कोइराला, चन्द्रबहादुर बुढा, कृष्ण थापा र हरिशरण आचार्य तथा प्रदेशसभाका सचिव पदेन सदस्य सचिव रहनेछन् । समितिको कार्यावधि समितिले काम शुरु गरेको मितिले एक महिना हुने जनाइएको छ । बैठकमा प्रदेश एवं स्थानीय तहका पदाधिकारीको सेवा सुविधासम्बन्धी विधेयक पेश भएको छ । 


विदेश नीति सन्तुलित रहने– प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रताको नीतिमा अगाडि बढेको नेपालको विदेश नीति सन्तुलित रहने बताएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार ‘नेपाल–चीन सम्बन्ध’ शीर्षक पुस्तकको लोकार्पणपछि प्रधानमन्त्री ओलीले सबै मित्र राष्ट्रसँगको सम्बन्ध समानताका आधारमा रहने बताउँदै भने, “हामी मित्रतामा जोड दिन्छौं, हाम्रो नीति मित्रताको हो, यो असमान हुँदैन, असन्तुलित पनि हुँदैन, यो समान हुन्छ ।” 
प्रधानमन्त्री ओलीले छिमेकसँगको मित्रतालाई नेपालले अत्यन्त महत्व दिने स्पष्ट पार्दै दुई छिमेकीसँगको मित्रतालाई खँदिलो र भरिलो बनाउँदै लैजाने बताए ।


पार्टी एकता सम्मानजनक हुन्छः प्रचण्ड– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) र आफ्नो पार्टीबीच समानताका आधारमा सम्मानजनक एकता हुने बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)को प्रशिक्षण कार्यक्रममा उनले भने, “दुईवटा राजनीतिक विचार र कार्यदिशा भएका राजनीतिक पार्टीबीचको एकता हुने भएकाले सम्मानजनक र समानताका आधारमा हुन्छ र यो एकता प्रक्रियाले छिट्टै निष्कर्ष पाउँछ ।”

अध्यक्ष प्रचण्डले पार्टी एकताको सन्दर्भमा विचार र राजनीतिको विषयमा सहमति भइसकेको तथा छिट्टै नै संगठनका सन्दर्भमा पनि सहमति हुने बताउँदै पार्टी एकता संयोजन समितिले गठन गरेका दुई वटा कार्यदलले आ–आफ्नो जिम्मेवारीअनुसार काम गरिरहेको जानकारी गराए ।

    
प्रदेश नं ४ को मन्त्रिपरिषद् विस्तार– प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।     

पुनःगठित एवं विस्तारित मन्त्रिपरिषद्मा पृथ्वीसुब्वा गुरुङ मुख्यमन्त्री, किरण गुरुङ आर्थिक मामिला तथा योजनामन्त्री, हरिबहादुर चुमान आन्तरिक मामिला तथा कानुनमन्त्री, रामशरण बस्नेत भौतिक पूर्वाधार विकासमन्त्री, नरदेवी पुन सामाजिक विकासमन्त्री, विकास लम्साल उद्योग पर्यटन, वन तथा वातावरणमन्त्री र लेखबहादुर थापा भूमिसुधार तथा व्यवस्थामन्त्री रहेका छन् ।

प्रदेश प्रमुख बाबुराम कुँवरले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ खुवाए । 


गणेश लामा अझै १० दिन प्रहरी हिरासतमा रहने– प्रहरी हिरासतमा रहेका ‘गुण्डा नाइके’ गणेश लामामाथि थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले १० दिनको म्याद थप गरेको छ । यसअघि पनि जिल्ला प्रशासन कार्यालयले लामामाथि अनुसन्धान गर्न १० दिनको म्याद दिएको थियो । 
काठमाडौंको गौशालामा गोली चलाएको अभियोगमा प्रहरीले लामालाई चैत ३ गते चाइनिज पेस्तोल र ६ राउण्ड गोलीसहित पक्राउ गरेको थियो । प्रहरीले उनीविरुद्ध हातहतियार तथा खरखजानामा मुद्दामा अनुसन्धान गरिरहेको छ । 

नेटवर्किङ व्यापारको नाममा ठग्ने दुई विदेशी पक्राउ– अनलाइन नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने दुई विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरको टोलीले नेटवर्किङ व्यापारको नाममा ठगी गर्ने भारतका तरसेम शर्मा र बंगलादेशका राहत हसन राणालाई चैत ७ गते पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । 

शर्मा र राणाले फोरक्स अनलाइन मनी मार्केट कम्पनीमा रहेको वेस्टर्न एफएक्स कम्पनीको नेपाली एजेण्ट भएको भन्दै ठगी गरेको अनुसन्धानमा खुल्न आएको प्रहरीले जनाएको छ । 
यसैबीच, विभिन्न ठाउँमा चोरी गर्ने गिरोहलाई महानगरीय प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चाँगुनारायण नगरपालिका– ६ बस्ने २२ वर्षीय गणेश लामा, २१ वर्षीय लच्छु कार्की, २३ वर्षीय अनिल मगर, २४ वर्षीय सुमन तामाङ र २१ वर्षीय रूपक तामाङ रहेका छन् । 

दुईजना परीक्षा निरीक्षक पक्राउ–माध्यमिक शिक्षा परीक्षा (एसइई) अन्तर्गत आज सम्पन्न अनिवार्य गणित विषयको परीक्षामा चिट चोराउन सहयोग गरेको भन्दै सिरहाकोे छुट्टाछुट्टै परीक्षा केन्द्रबाट दुई निरीक्षकलाई पक्राउ गरिएको छ । 

परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले चन्द्रउदयपुर मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक यमुना राउत र सोनवर्षा मावि परीक्षा केन्द्रबाट परीक्षा निरीक्षक शैलेश यादवलाई पक्राउ गरिएको जिल्ला शिक्षा अधिकारी महेन्द्र महतोले जानकारी दिए । 

एन्फासँग स्पष्टीकरण– राष्ट्रिय खेलकुद परिषद्ले चैत १४ का लागि तय भएको निर्वाचन स्थगित गरेको विषयमा अखिल नेपाल फुटबल संघ (एन्फा)सँग स्पष्टीकरण सोधेको छ । परिषद् अन्तर्गत खेलकुद विकास विभागले एन्फालाई अआज पत्र पठाउँदै निर्वाचन स्थगित गर्नुको कारण बारे स्पष्टीकरण माग गरेको हो ।

खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापाले पठाएको पत्रमा निर्वाचन स्थगित गरिएको बुझिन आएको र परिषद्लाई किन जानकारी नगराएको भनि प्रश्न गरिएको  छ ।

आइपिएलका लागि लामिछाने भारत जाने– विश्व क्रिकेटको सबैभन्दा ठूलो एव ंव्यावसायिक प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग (आइपिएल ) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने मङ्गलबार त्यसतर्फ प्रस्थान गर्दै छन् ।

दिल्ली डेयरडेभिल्स क्लबमा आबद्व १७ वर्षीय लेग स्पिनर लामिछाने नेपाली क्रिकेट इतिहासमा आइपिएल खेल्ने पहिलो नेपाली हुन् ।
उनलाई दिल्ली डेयरडेभिल्सले २० लाख भारतीय रुपियाँमा खरिद गरेको थियो । भारत जानुअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आइपिएलमा नेपालका तर्फबाट सहभागी हुन पाउँदा खुशी लागेको र प्रतियोगिता राष्ट्रियभन्दा फरक हुने भएकाले यसलाई अवसरका रुपमा लिएको बताए । 

आइपिएल आगामी अप्रिल ७ देखि मे २७ तारिखसम्म सञ्चालन हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्