
काठमाडौं, १३ चैत-नेकपा एमालेकी सांसद एवं गायिका कोमल वलीले मंगलवार राष्ट्रिय सभाको बैठकमा कविता सुनाइन । राष्ट्रियसभामा दोस्रोपटक बोलेकी वलीले सार्दुल बिक्रीडित छन्दमा शहीदप्रति सम्मान गर्ने कविता सुनाएकी हुन् ।
‘म कलाकारिता क्षेत्रको भएकोले त्यसरी नै आफ्ना कुरा राख्नुस् न भन्ने केही माननीय सदस्यको सुझावका आधारमा म आज कविता सुनाउँदै छु,’ उनले भनिन् ।
वलीले सुनाएको कतिवा शहीदहरुप्रति समर्पित थियो । वलीले संसदमा सुनाएको कविताका केही हरफहरू यस्ता थिए :
तिम्रो जन्म हुँदा थियो क्षितिजमा दुर्भाग्यको बादल,
काँप्थ्यो थरथर मेरुदण्ड युगको बज्दैनथ्यो मादल ।
चिर्दै चरचर अन्धकार तिमीले राँको लिँदै हातमा,
खोस्री मार्ग कठीन बन्ने रहर पन्छाउँदै रातमा ।।
कविता सुनाएपछि वलीले आम नेपालीले चाहको समृद्धिको मार्गमा अवरोध सिर्जना हुन थालेको बताइन् ।
‘यो कुरा हामीलाई सामान्य लाग्न सक्ला, तर निर्वाचन पर्यवेक्षणको नाममा युरोपेली युनियन (ईयू)ले जुन किसिमको रिपोर्ट दियो त्यसले नेपालको छवि अन्तर्राष्ट्रिय स्तरमा धमिल्याउन प्रयासरत छ,’ वलीले भनिन्, ‘आमनेपाली जनतााबीच रहेको सुमधुर सम्बन्धबीच बेमेल सिर्जना गर्न खोजिएको यस प्रयासलाई प्रतिकार गर्न सकेनौँ भने भविष्यमा अन्य ठाउँबाट पनि यस्ता रिपोर्ट आउन सक्छन् ।’
तर वली बोल्दै गर्दा निर्धारित समय सकिएकोले माइक काटियो । संसदमा पहिलोपटक लय हालेर छन्द कविता वाचन गर्दा सांसदहरूले मन्त्रमुग्ध भएर सुनेका थिए ।