
काठमाडौं– १४ चैत– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन र नेपालका लागी चिनियां राजदूत यु होङबीच भेटवार्ता भएको छ ।
सिंहदरवारस्थित उर्जामन्त्रालयमा बुधवार भएको भेटवार्तामा द्धिपक्षिय हितका विषयमा छलफल भएको छ । मन्त्री पुनसंगको भेटमा चिनियां राजदूतले नेपाल र चीनबीच भावनात्मक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभएको थियो ।
राजदूत होङले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चिनिया सरकार र निजी क्षेत्र ईच्छुक रहेको भन्दै त्यसका लागी सरकारले पनि उपयुक्त वातावरण वनाउनुपर्नेमा जोड दिनुभयो । चिनिया राजदूतले मन्त्री पुनसंगको भेटमा हाल चिनिया कम्पनीले करिव ८ सय ५० मेगावाट क्षमताका ११ वटा परियोजनामा काम अघि बढाइरहेको र तीन वटा परियोजनाको निर्माण कार्य सम्पन्न गरिसकेको जानकारी समेत दिनुभयो । उहाले वान वेल्ट वान रोड परियोजनामा नेपालले हस्ताक्षर गरिसकेपछि चिनिया लगानीकर्ता नेपालमा लगानी गर्न उत्साहित भएको समेत बताउनुभयो ।
राजदूत होङले चिनियां कामदारको भिषा प्रक्रियामा समस्या भएको भन्दै त्यसमा देखिएको कानुनी समस्या समाधान भए परियोजना निर्माणमा सहज हुने धारणा राख्नुभएको थियो । उहाले उर्जा क्षेत्रमा चीन र नेपालको संयन्त्र निर्माण गर्ने विषयलाई आफ्नो सरकारले प्राथमिकतामा राखेको जानकारी समेत दिनुभयो । त्यसका लागी नेपालको तर्फबाट पनि काम अघि बढे त्यसले दिर्घकालिन रुपमा दुवै देशलाई फाईदा पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।
उहाले चिनियां सरकार नेपालको जलविद्युत क्षेत्रको विकासमा सहयोग गर्न सधै तयार रहेको धारणा समेत राख्नुभयो । चीन र नेपालको राजनीतिक सम्बन्ध समेत निकै सुमधुर भएको भन्दै राजदूत होङले उर्जामन्त्रालयसंग काम गर्न चिनिया सरकार ईच्छुक रहेको बताउनुभयो । भेटमा मन्त्री पुनले चीन र नेपालको सम्बन्ध निकै मजबुत भएको भन्दै आगामी दिनमा समेत त्यसले निरन्तरता पाउने उल्लेख गर्नुभयो । उर्जामन्त्री पुनले चिनिया लगानीकर्ताले भोगिरहेका समस्याको बारेमा आफुले समाधानका लागी पहल गर्ने बताउनुभयो । मन्त्री पुनले नेपालमा लगानीको वातावरण बनाउन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार तयार रहेको भन्दै थप लगानीको लागी पहल गर्न राजदूत होङलाई आग्रह गर्नुभएको थियो ।
‘नेपालमा चिनिया कम्पनीले भोगेका समस्याको बारेमा हामी गम्भिर छौ, त्यसमा देखिएका समस्या समाधान गर्न सरकारले कुनै कसर बाकि राख्दैन् ।’ भेटमा मन्त्री पुनले भन्नुभयो । चिनिया कामदारको भिषा प्रक्रिया र लगानीकर्ताले भोगिरहेका समस्या समाधानको लागी उर्जामन्त्रालयले पहल थाल्ने मन्त्री पुनले बताउनुभयो । वान वेल्ट वान रोड परियोजनामा नेपालको सहभागीताले दुई देशबीचको सम्बन्ध अझ उचाईमा पुगेको भन्दै मन्त्री पुनले आगामी दिनमा उर्जा क्षेत्रमा सहकार्य गर्न सरकार तयार भएको धारणा राख्नुभयो ।