
सुर्खेत, १४ चैत– स्थानीय सरकार गठन भएको करिब १० महिना बढी भयो ।
कर्णाली प्रदेशको राजधानीसमेत रहेको सुर्खेतका तीन ओटा स्थानीय तहमा अहिलेसम्म बैंक पुग्न सकेका छैनन् ।
सुर्खेतका बराहताल गाँउपालिका, चौकुने गाँउपालिका र चिङगाड गाँउपालिकामा अझै बैंक नपुगेका हुन् ।
नबिल बैंक बराहताल गाँउपालिकामा, लक्ष्मी बैंक चौकुने गाँउपालिका र सानिमा बैंक लि. चिङगाड गाँउपालिका जानुपर्ने राष्ट्र बैंकले निर्देशन दिएपनि अहिलेसम्म बैंक नजाँदा स्थानीय सरकारको कार्यालय सञ्चालन, योजनको भुक्तानी लगायतका आर्थिक गतिविधि गर्न सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहेको छ ।
चौकुने गाँउपालिकाका अध्यक्ष धीरबहादुर शाहीले बैंकलाई बारम्बार आइदिन आग्रह गर्दा पनि नसुनेको आरोप लगाए ।
‘म अध्यक्षमा निर्वाचित भएपछि बारम्बार लक्ष्मी बैंकलाई बैंक स्थापना गर्न आग्रह गरेको छु तर सम्बन्धित निकायले मौनता मात्रै साँध्यो ।’ उनले भने, ‘भवन नभएको कारण देखाउँदै बैंक आउन मानेन ।’ अध्यक्ष शाहीले बैंकले भवन नभएको बताउँदै आउन नमानेपछि २७ लाखको लागतमा एक हजार वर्ग फिटको हल निर्माण गर्न लागिएको जानकारी दिए । ‘२७ लाखको लागतमा घर बनाईरहेका छौं ।’ उनले भने, ‘हामीले गुटु बजारमा भवन निर्माण गरिदिने र बैंकले हामीलाई भाडा दिने शर्तमा भवन निर्माण गर्न लागेका हौं ।’
उनले अहिले वीरेन्द्रनगरमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा खाता रहेको र रकम निकाल्न सेवाग्राहीहरुलाई सास्ति भइरहेको बताए ।
यता, चिङगाड गाँउपालिकाका अध्यक्ष देवबहादुर चन्दले स्थानीय तहमा बैंक नआउँदा काम गर्न कठिनाई भएको बताए । ‘दुर्गम भएका कारण भुक्तानी लिन बजारमा जानै पर्ने बाध्यता रहेको छ ।’ उनले भने, ‘पक्कि भवन नभएसम्म बैंकले नआउने भनेका कारण अहिललाई अवलचिङ्गमा रहेको भेटेरीनरीको भवन दिने की भन्ने सोच बनाएका छौं ।’ अध्यक्ष चन्दले गाँउपालिकाको केन्द्र कहाँ तोक्ने भन्ने निर्णय हुन नसकेका कारण आफैले पक्कि संरचना बनाउन नसकिएको बताए ।