
काठमाडौँ, १६ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा जागरण र परिवर्तनका ल्याउन लागि चलचित्र निर्माण गरिनुपर्ने बताएका छन् ।
नेपाल कलाकार संघद्वारा आज यहाँ आयोजित दोस्रो फान अवार्ड कार्यक्रममा प्रधानमन्त्री ओलीले समयको मागअनुरुप चलचित्र निर्माण हुन सकेमा मात्र यस क्षेत्रको विकास र उन्नति हुनसक्ने बताउँदै आफ्नो भारत भ्रमणमा कलाकारलाई पनि स्थान दिइने जानकारी दिए ।
छिट्टै भारत र नेपालका कलाकारबीच अन्तक्र्रिया गरी कला क्षेत्रको विकास र विस्तारमा थप सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “कला क्षेत्रको विकास गर्न सरकारको तर्फबाट सक्दो सहयोग गर्छु, कलाकारले सामाजिक जीवनको समग्रताको पक्षमा चलचित्र निर्माण गर्नुपर्छ,” अाेलीले भने ।
शाहलाई ‘दीर्घ साधना’ सम्मान
पचास वर्ष कला क्षेत्रमा बिताउनुभएका कलाकार नीर शाह आज ‘दीर्घ साधना’ बाट सम्मानित भएका छन् । पैँसठ्ठी वर्षीय शाहलाई रु एक लाख ११ हजार १११ र ताम्रपत्रसहित सम्मान गरिएको हो ।
शाहले सम्मानपछि पछिल्लो समय चलचित्र उद्योग गर्व गर्नलायकको जनाउँदै जीवनको उत्तराद्र्धकालमा आफूलाई ठूलो सन्तुष्टि मिलेको बताए ।
नेपाल कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले कलाकार सङ्घको भवन निर्माणका लागि जग्गा प्रदान गर्न सरकारसँग आग्रह गरे । संघका महासचिव सरिता लामिछानेले चलचित्रको विकास र विस्तारका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । प्रोत्साहनका लागि नयाँ कलाकार प्रदीप खड्कालाई पनि सम्मान गरिएको थियो ।