
काठमाडौं, १७ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई वारेन्ट जारी गर्ने नेक्रविक्रम चन्द विप्लव समूहलाई केटाकेटी खेल नखेल्न चुनौती दिएका छन् । ‘केपी ओलीलाई वारेन्ट ? यस्तो ठट्टा मजाक ? बरु प्रहसन कार्यक्रममा आउनुस्, मदनकृष्ण, हरिवंश र धुर्मुसलाई भन्दिन्छु ।’
रिर्पोटर्स क्लबको कार्यक्रममा ओलीले शनिवार भने, ‘प्रचण्डलाई वारेन्ट रे, कुन गाउँमा सात दिनभित्र हाजिर हुन आउनु रे ? विप्लवलाई यस प्रकारका राजनीतिक मजाक नगर्न सुझाव दिन चाहान्छु । अलि बढ्ता भयो के !’
प्रम ओलीले मुलुक अब यस्ता कुरामा नअल्झिने बताए । ‘माओवादी जनयुद्धको खाल उठिसक्यो, खाल नै नभएपछि च्याखेहरूले यो बन्द गरे हुन्छ,’ ओलीले थपे ।
ओलीले चन्दा उठाउनका लागि विप्लव समूहले क्रान्तिको गफ दिइरहेको टिप्पणी गरे । ‘सुतली बम पनि माक्सवादको सिद्धान्त हुन्छ ? चन्दा उठाउनका लागि सिद्धान्त र क्रान्तिका गफ दिने ?’ ओलीले प्रश्न गरे ।