१६ असार २०८३, मंगलबार

काठमाडौंमा बेचिने काउली र गोलभेंडामा घातक विषादी

कात्तिक २०, २०७४
काठमाडौंमा बेचिने काउली र गोलभेंडामा घातक विषादी
काठमाडौं, २० माघ – भारतबाट नेपाल आयात हुने गोलभेंडामा विषादी पाइएको छ । कृषि विकास मन्त्रालय अन्तर्गतको बाली संरक्षण निर्देशनालयका अनुसार भारतबाट आयात हुने गोलभेंडामा पछिल्लो समय विषादीको प्रयोग बढी भएको भेटिएको हो ।

भारतबाट आयात भएका गोलभेंडामा अन्य तरकारीको तुलनामा बढी विषादी प्रयोग गरेको भेटिएको निर्देशनालयले जनाएको छ । भारतबाट आयात हुने गोलभेंडामा ८५ प्रतिशतसम्म इनिमेसन रेट पाइएको छ । इनिमेसन रेट खाद्य वस्तुमा विषादीको मात्रा नाप्ने एकाइ हो ।

बढी इनिमेसन भएका खाद्य वस्तु बढी विषादीयुक्त हुने भएकाले खान नमिल्ने र कम इनिमेसन भएका तरकारीमात्र उपभोग्य हुन्छन् ।

निर्देशनालयका अनुसार ३५ प्रतिशत इनिमेसन रेट भएका खाद्य वस्तुमात्र सहज रूपमा खान मिल्छ । त्यस्तै, ४५ प्रतिशतसम्म इनिमेसन रेट भएका खाद्यवस्तु खान अयोग्य भएपनि केही समय भण्डारणमा राख्दा इनिमेसन रेट कम भएको खण्डमा मात्र खान मिल्छ । ४५ प्रतिशतभन्दा माथि इनिमेसन रेट भएका खाद्यवस्तु भने पूर्णतः अखाद्य हुने निर्देशनालय बताउँछ ।

नेपालकै गोलभेंडा र काउली पनि खान अयोग्य

निर्देशनालयका अनुसार नेपालमै उत्पादित गोलभेंडामा पनि विषादीको मात्रा उच्च छ । पछिल्लो समय गोलभेंडामा नयाँ कीरा देखिएको र ती कीरा मार्न विषादीको प्रयोग बढी गरिएकाले इनिमेसन रेट बढेको निर्देशनालयले बताएको छ ।

काउलीमा पनि पछिल्लो समय विषादीको मात्रा उच्च देखिएको निर्देशनालयको भनाइ छ । काउलीमा ६० प्रतिशतभन्दा बढी इनिमेसन रेट देखिएको निर्देशनालयले जनाएको छ । चितवनलगायतका जिल्लाबाट उपत्यका आयात हुने काउलीमा विषादी बढी देखिएको निर्देशनालयको भनाइ छ ।

निर्देशनालयका अनुसार खासगरी बेमौसमी बालीमा विषादी उच्च देखिन्छ । बेमौसममा उत्पादन हुने वस्तुमा बढी विष प्रयोग गरिने भएकाले इनिमेसन रेट बढी भेटिएको निर्देशनालयका निर्देशक डिल्लीराम शर्माले लोकान्तरलाई बताए ।

यसअघि आलु, तीतेकरेला, भान्टा, बोडी लगायतका वस्तुमा अत्यधिक विषादी भेटिएको थियो । निर्देशनालयले कालिमाटीमा विषादी परीक्षण गर्ने प्रयोगशाला स्थापना गरेपनि नियमित जाँच हुने गरेको छैन ।
बेमौसममा पनि उत्पादन गर्ने, बढी उत्पादन गर्ने आकांक्षा, विषादीको बढी प्रयोग गर्ने लगायतका कारण तरकारीमा इनिमेसन रेट बढेको निर्देशनालय बताउँछ । त्यस्तै, विषादीको प्रयोग गर्दा ध्यान नदिने, धेरैपटक विषादी हाल्ने, विषादीको डोज बढी प्रयोग गर्ने लगायतका कारण खाद्य वस्तुमा इनिमेसन रेट बढ्छ ।

तरकारी र फलफूलमा विषादीको मात्रा बढेको पाइएपछि संसद्को कृषि तथा जलस्रोत समितिले उपसमितिमार्फत यसको अध्ययन गरिरहेको छ । उपसमितिले भारतसँग जोडिएका मुख्य नाकाका क्वारेन्टाइनमा गएर भारतवाट आउने तरकारी फलफूलमा विषादीको अवस्थाबारे जानकारी समेत लिएको छ ।

के हुन्छ असर ?

निर्देशनालयका अनुसार विषादी उच्च भएका खाद्यवस्तुले मानव स्वास्थ्यमा गम्भीर असर गर्छन् । बढी विषादी भएका खाद्यवस्तुको उपभोगले क्यान्सर, पक्षघात, मुटुको रोग, मृगौला फेल लगायतका समस्या देखिने निर्देशनालय बताउँछ । कृषकमा जनचेतनाको कमीका कारण हानिकारक विषादीलाई मिश्रण (ककटेल) बनाएर प्रयोग गर्दा त्यसले जनस्वास्थ्यमा झनै असर गर्ने चिकित्सकहरू बताउँछन् ।

विषादीको अत्यधिक प्रयोगले कृषकहरूको स्वास्थ्यमा समेत असर गरिरहेको सरोकारवाला बताउँछन् । विषादी प्रयोग गरिएका तरकारीलाई नूनपानीमा डुबाएमा विषादीको मात्रा कम हुने कृषि प्राविधिकहरूको भनाइ छ ।

परीक्षण केन्द्र विस्तार गरिँदै

हालसम्म निर्देशनालयबाट मात्र विषादी परीक्षण हुँदै आएकामा मुलुकका अन्य आधा दर्जन स्थानमा परीक्षण केन्द्र विस्तार गर्न लागिएको निर्देशक शर्माले बताए । उनका अनुसार कास्कीको पोखरा, रुपन्देहीको बुटवल र बाँकेको नेपालगञ्जमा तत्काल परीक्षण केन्द्र सञ्चालनमा आउने अवस्थामा छन् ।

त्यस्तै, झापाको बिर्तामोड, सर्लाहीको लालबन्दी र धनगढीमा पनि यस्ता परीक्षण केन्द्र स्थापना गर्ने तयारी गरिएको निर्देशनालयले बताएको छ । तर पछिल्लो समय विषादीको प्रयोग घटेको निर्देशनालयको ठहर छ ।

salt training

कमेन्ट गर्नुहोस्