
काठमाडौं, २० माघ — मधेसकेन्द्रित दलहरूको विरोधका बाबजुद सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । बिहीवार अपराह्न बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्ने प्रबल सम्भावना रहेको मन्त्रिपरिषद् स्रोतले जानकारी दियो ।
खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले बिहीवार निर्वाचनको मिति घोषणा हुने सम्भावना प्रबल रहेको बताए । अब हुने निर्वाचन स्थानीय तहकै हुने उनले बताए । ‘स्थानीय तहकै निर्वाचन गर्ने भनेर कानून पारित भएकोले स्थानीय तहकै निर्वाचन हुन्छ,’ उनले लोकान्तरसँग भने ।
यसअघि दलहरूबीच स्थानीय तह पुनःसंरचना आयोगको सिफारिश अनुसारको स्थानीय तह कि पुरानै व्यवस्था अनुसारको स्थानीय निकायको चुनाव गर्ने भन्नेमा विवाद थियो ।
यथास्थितिमा चुनाव हुन दिन्नौं : मोर्चा
संविधान संशोधनपछि मात्र निर्वाचन मिति घोषणा गर्नुपर्ने बताउँदै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले यथास्थितिमा मिति घोषणा गरेपनि निर्वाचन हुन नसक्ने प्रतिक्रिया दिएको छ ।
सद्भावना सहाध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले चुनावको मिति घोषणा गर्न लागेकोमा आशंका व्यक्त गर्दै चुनावको मिति घोषणा भएपछि प्रतिक्रिया दिन उपयुक्त हुने टिप्पणी गरे ।
‘संविधान संशोधन विधेयक पारित नभई निर्वाचन हुन सक्दैन । हामीले स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन पनि स्वीकार गर्दैनौं,’ नेता कर्णले लोकान्तरसँग भने ।
मन्त्री सिंहले भने निर्वाचनको मिति घोषणा भएपछि मधेसी मोर्चासँग वार्ता हुने बताए । ‘पहिला चुनावको मिति घोषणा हुन दिनुस् न, त्यसपछि बातचित हुन्छ,’ मन्त्री सिंहले भने ।
निर्वाचन जेठ पहिलो साता
आगामी २०७४ सालको जेठमो पहिलो साताको लागि निर्वाचन मिति घोषणा गर्ने सरकारी तयारी रहेको स्रोतको भनाइ छ । ‘मितिको बारे प्रधानमन्त्रीले प्रस्ताव ल्याउनुहोला । अहिले मितिको टुङ्गो लागिसकेको छैन,’ मन्त्री सिंहले भने ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माघ १५ गते नै चुनावको मिति घोषणा गर्ने बताएका थिए । निर्वाचन आयोगसँग परामर्श गरेर सरकारले चुनावको मिति घोषणा गर्न लागेको हो । बिहीवार नै संसदबाट निर्वाचनसँग सम्बन्धित दुई विधेयक पारित गर्ने तयारी छ ।
तस्वीर स्रोतः सीएनएन