०१ असार २०८३, सोमबार

देउतीको मन्दिरको ‘मुहार’ फेरिँदै, गुरुयोजना बनाउने तयारीमा समिति

चैत २०, २०७४
देउतीको मन्दिरको ‘मुहार’ फेरिँदै, गुरुयोजना बनाउने तयारीमा समिति

सुर्खेत, २० चैत- कर्णाली  प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेको चर्चित गंगामाला देउती मन्दिरको मुहार फेरिने भएको छ । वैशाख ७ गतेदेखि मनिदर प्राङ्गणमा देउतीबज्यै विराट धनधान्याञ्चल महायज्ञ– २०७५ आयोजना गरेर उक्त अभियानको थालनी गरिने व्यवस्थापन आयोजक समितिका संयोजक मुकुन्दश्याम गिरीले जानकारी दिए ।

उनका अनुसार देउती मन्दिर परिसर फोहोर भएको र त्यसलाई व्यवस्थापन समेत गरिने छ । मंगलवार बिहान देउती मन्दिर प्राङ्गणमा भेला भएका समाजसेवी, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी लगायतले अभियानलाई सफल बनाउन आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मन्दिर व्यवस्थापन समितिका संयोजकसमेत रहेको नगर प्रमुख देवकुमार सुवेदीले गिरी नेतृत्वको समितिले टायल बिच्छ्याउने, पर्खाल लगाउने, सार्वजनिक शौचालय, घेरबार आदि पूर्वाधार विकासका कामहर सामाजिक परम्परा नमासिने गरी निर्माण गर्नेमा आशावादी भएको बताए । ‘यहाँहरूले महत्त्वपूर्ण अभियान सञ्चालन गर्नु भएको छ,’ उनले भने, ‘हामी यहाँहरूलाई आवश्यक सहयोग गर्न तयार छौँ ।’

देवघाटबाट आएका सन्त सविन सिवाकोटीले आफ्नो ध्यान पवित्र मन्दिर वातावरण निर्माणमा केन्द्रित भएको बताए । ‘जहाँ हेर्नुस् अशुद्ध छ, त्यो अशुद्धताकै कारण दिनहुँ व्यक्तिहरूको अकालमा ज्यान गइरहेको छ,’ उनले भने, ‘यही परिस्थितिलाई सुधार गर्न म देवघाटबाट आएको हुँ । मसँग अरु कुनै स्वार्थ छैन ।’ उनले पछिल्लो पुस्ता धर्मकर्मप्रति अलि कम चासो देखाउने गरेका कारण समस्यामा परेको दाबी समेत गरे ।

देउती सुधारका लागि गुरुयोजना बनाइने

देउती मन्दिरको भौतिक अवस्था सुधारका लागि ५ वर्षे गुरुयोजना बनाइने भएको छ । समिति संयोजक मुकुन्दश्याम गिरीका अनुसार वैशाख ७ देखि शुरु हुने महायज्ञपछि निरन्तर पाँच वर्षसम्म निर्माण कार्य जारी रहने र निर्माण कार्य पूरा गर्ने प्रतिबद्धता जनाए । अभियान सफल पार्न र मन्दिर क्षेत्रलाई शुद्ध बनाउन आगामी चैत २५ गते पञ्चवली चढाउने तयारी भएको उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्