
काठमाडौं, २० चैत– नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने प्रारम्भिक समझदारी भएको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै पार्टीको बैठकमा वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने प्रारम्भिक समझदारी जुटेको हो ।
यद्यपि चैत २२ गते (बिहीवार) बस्ने अर्को बैठकले पार्टी एकता घोषणा गर्ने मितिबारे आधिकारिक निर्णय गर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
मंगलवार अन्तरिम विधान र सांगठनिक संरचनाकाका विषयमा सुुझाव दिन गठित छुट्टाछुट्टै समितिले एमाले–माओवादी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा अप्रिल २२ तारिख अर्थात् वैशाख ९ गते पार्टी एकता घोषणा गर्न सुझाव दिइएको छ । नेता श्रष्ठका अनुसार वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने विषयमा सबै नेताले सकरात्मक प्रतिक्रिया दिएका छन् ।
यसबारे निर्णय गर्न चैत २२ गते पार्टी एकता संयोजन बस्ने नेता श्रेष्ठले बताए । वैशाख ९ गते (अप्रिल २२) लाई नेपालमा कम्युनिस्ट पार्टी गठन भएको दिन मानिन्छ ।