
काठमाडौं, २१ चैत–निजी विद्यालयहरूले शिक्षाका नाममा ‘लूट’ मच्चाएको र कमाइको तुलनामा राज्यलाई शुन्यबराबर राजस्व तिर्ने गरेको गुनासो बढिरहेको छ ।
यसैक्रममा लोकान्तर डटकमले ललितपुरका चर्चित ६ वटा निजी विद्यालयमा गरेको अध्ययनबाट विनाकुनै आधार, कारण र मापदण्ड अभिभावक लुटिरहेको खुलासा भएको छ ।
आफूलाई उच्च कोटीको स्कूलको दर्जा स्वघोषित केही निजी स्कूलले कक्षा एकको भर्ना शुल्क नै दुईलाख रूपैयाँसम्म उठाउने गरेको पाइयो ।
ललितपुरका कतिपय स्कूलमा शैक्षिक शत्र नसकिँदै कक्षा एकको भर्ना नै बन्द भइसकेको जानकारी समेत पाइएको छ ।
नेपालको निकै महङ्गो मानिने यूलेन्स स्कूलको कक्षा एकको भर्ना शुल्क मात्रै २ लाख रूपैयाँ रहेको तथ्य भेटिएको छ ।
यो स्कूलले कक्षा एकमा मात्र भर्ना लिइन्छ । कक्षा एकमा २ वटा समूह गरी ६० जनासम्म विद्यार्थी भर्ना लिने गरेको पाइएको छ । सो स्कूलको मासिक शुल्क ३४ हजार रूपैयाँ छ ।
यस्तै ललितपुरको नख्खुमा रहेको प्रिमियर इन्टरनेसनल एकेडेमीको भर्ना शुल्क १ लाख ६८ हजार, बागडोलमा रहेको पाठशाला स्कुलको भर्ना शुल्क ६० हजार, हात्तीवनमा रहेको लिटिल एन्जेल्स स्कुलको कक्षा एकको भर्ना शुल्क २५ हजार ४ सय रूपैयाँ रहेको छ ।
धूलो नियन्त्रण गर्ने मन्त्रीको प्रयास
काठमाडौं उपत्यकालगायत देशका मुख्य शहरको धूलो नियन्त्रणका लागि भन्दै वातावरण मन्त्रालयमा धूलो नियन्त्रण इकाइ गठन भएको छ । धूलो नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन भन्दै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले धूलो नियन्त्रण इकाइ गठन गरेका हुन् ।
वातावरण मन्त्रालय अन्तर्गतको वातावरण प्रदूषण महाशाखाका प्रमुख शंकर पौडेलको नेतृत्वमा प्रदूषण नियन्त्रण इकाइ गठन गरिएको हो । इकाइले तत्कालै काम शुरु गर्नेछ ।
‘राजधानी काठमाडौं उपत्यकालाई धूलोमुक्त बनाउने अभियान शुरु गरेका छौं,’ मन्त्री बस्नेतले भने, ‘आशा गरौं केही समयमै मास्क लगाएर हिँडनुपर्ने दिनको अन्त्य हुनेछ ।’
राजधानीलगायतका शहरलाई धूलोरहित बनाउने कुरालाई कार्यान्वयनमा ल्याउन यस्तो इकाइ गठन गरिएको उनले बताए ।
जाम छल्न पैदल हिँड्दै पूर्वप्रधानमन्त्री !
मंगलवार बिहान ९ः ३५ बजेको समयमा एकजना भीआईपी काठमाडौंको कोटेश्वरमा पैदल हिँडिरहेका थिए । मुखमा कालो मास्क लगाएर फूटपाथमा हिँडिरहेका ती भीआईपीलाई धेरैले चिनेनन् ।
अगाडि–पछाडि रहेका सुरक्षाकर्मीका कारण कतिपयको ध्यान भने उनीतर्फ आकर्षित भयो । उनी थिए चारपटक देशको प्रधानमन्त्री भइसकेका राप्रपा नेता लोकेन्द्रबहादुर चन्द । कोटेश्वरको जामका कारण पैदल हिँड्दै थिए उनी ।
‘सवारी जामका कारण हिँड्दै आएको हुँ, अगाडि गाडी छ,’ पूर्वप्रधानमन्त्री चन्दले भने । कार्यालय समयमा मंगलवार पनि कोटेश्वरको जाम भक्तपुरको कौशलटारसम्म पुगेको थियो ।
भक्तपुरको लोकन्थली बस्दै आएका पूर्वप्रधानमन्त्री चन्द जाम र्पयो भने अरु बेला पनि हिँडेरै कोटेश्वर पार गर्छन् । कार्यालय समयमा हुने जामका कारण सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ ।
प्रमको भारत भ्रमण स्वीकृत
मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको मित्रराष्ट्र भारतको राजकीय भ्रमणलाई स्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यही चैत २३ देखि २५ गतेसम्म भ्रमण हुन लागेको प्रधानमन्त्री ओलीको भारत भ्रमणलाई स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
भारत भ्रमणपूर्व ओलीले संसदलाई सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणका क्रममा देशलाई अप्ठ्यारो पर्ने कुनै काम नहुने बताएका छन् ।
‘देशलाई अप्ठ्यारो पर्ने, देशको शिर निहुरिने, देशले लज्जाबोध गर्नुपर्ने र देशलाई नोक्सान गर्ने कुनै काम हुँदैन, गरिने छैन,’ प्रतिनिधि सभाको मंगलवार बसेको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।
देशलाई फाइदा पुग्ने र मुलुकको शिर उच्च पार्ने काम आफूले गर्ने उनको जिकिर छ । प्रधानमन्त्री ओलीले छिमेक सम्बन्धबाट लाभको प्रतिफल लिन आफू भारत भ्रमणमा जान लागेकोसमेत प्रष्ट पारे ।
छिमेकसँगको सम्बन्ध राष्ट्रिय हितको सरक्षण गर्दै समानता, पारस्पिरक लाभ र पारस्परिक सम्मानका आधारमा हुने उनको भनाइ छ । आफ्नो भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वाससमेत उनले व्यक्त गरे ।
‘दुवै छिमेकीसंग सम्बन्ध राम्रो छ, यो सम्बन्ध अझ सुदृढ बन्दै जानेछ,’ ओलीले भने, ‘देशलाई अपमानबोध हुने खालका कुनै काम गर्दैनौँ ।’ उनले छिमेकीसंगको सम्बन्ध मैत्रीपूर्ण हुने र विदेश नीतिको प्रस्तानबिन्दु मित्रतापूर्ण सम्बन्ध हुने स्पष्ट पारे ।
एमाले–माओवादीबीच वैशाख ९ गते पार्टी एकता
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच आगामी वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने प्रारम्भिक समझदारी भएको छ । मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै पार्टीको बैठकमा वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने प्रारम्भिक समझदारी जुटेको हो ।
यद्यपि चैत २२ गते (बिहीवार) बस्ने अर्को बैठकले पार्टी एकता घोषणा गर्ने मितिबारे आधिकारिक निर्णय गर्ने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।
मंगलवार अन्तरिम विधान र सांगठनिक संरचनाकाका विषयमा सुुझाव दिन गठित छुट्टाछुट्टै समितिले एमाले–माओवादी एकता संयोजन समितिलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा अप्रिल २२ तारिख अर्थात् वैशाख ९ गते पार्टी एकता घोषणा गर्न सुझाव दिइएको छ । नेता श्रष्ठका अनुसार वैशाख ९ गते पार्टी एकता घोषणा गर्ने विषयमा सबै नेताले सकरात्मक प्रतिक्रिया दिएका छन् ।
यसबारे निर्णय गर्न चैत २२ गते पार्टी एकता संयोजन बस्ने नेता श्रेष्ठले बताए ।
पशुपति क्षेत्र मगन्तेरहित घोषणा
पशुपति क्षेत्र विकास कोषले पाशुपति क्षेत्रलाई मंगलबारदेखि मगन्तेरहित क्षेत्र घोषणा गरेको छ ।
कोषले आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले पेशाका रुपमा माग्न बसेकालाई पुनःस्थापना केन्द्रमा राखी काम गरेर जीविकोपार्जन गर्न सिकाउन सुझाव दिए ।
अध्ययनका क्रममा १८२ जना पशुपतिको मूल मन्दिरको परिषरमा माग्नेको तथ्यांक निक्लिएको छ, जसमा छ महिला मानसिक बिरामी भेटिएको कोषले जनाएको छ ।
मदनकृष्ण श्रेष्ठलाई पत्नीशोक
वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी शोक परेको छ । क्यान्सरबाट पीडित ६७ वर्षीय यशोदा सुवेदी श्रेष्ठको ललितपुरको हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा मंगलबार बिहान निधन भएको हो।
सुवेदी आन्द्रा र फोक्सोको क्यानसरबाट पीडित थिइन् ।
सुवेदीको मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम सस्कार गरिएको छ । अन्तर्जातीय विवाह गरेका मदनकृष्ण दम्पतीका एक छोरा र एक छोरी छन्।
निगमको डेढ वर्षभित्र आठ विमान
राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आगामी डेढ वर्षभित्र आठवटा नयाँ विमान खरिद गर्ने भएको छ ।
निगमले सेवा सुधार्ने कार्ययोजनाबारे मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिँदै अन्तर्रा्ष्ट्रिय र आन्तरिक सेवा दुवैतर्फ विमान थप्दै निगमको कूल आय बढाउँदै लैजाने जनाएको हो ।
निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले आगामी १८ महिनाभित्र आन्तरिक उडानका लागि छ भाइकिङ ट्विनअटर र अन्तर्रा्ष्ट्रिय उडान गर्न दुई एयरबस न्यारोबडी (ए३२०–२००) विमान खरिद गरिने जानकारी दिए ।
काठमाडौँमा बलात्कारका घटनामा वृद्धि
काठमाडौँमा प्रति वर्ष बलात्कारको घटना बढ्दै गएको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसरले आयोजना गरेको कार्यक्रममा चालु आर्थिक वर्षको चैतसम्म ८९ बलात्कारको घटना घटेको जानकारी दिएको हो । परिसरले दिएको जानकारीअनुसार आव २०७१÷७२ मा ९२, २०७२÷७३ मा ९९ र २०७३÷७४ मा ११२ जबर्जस्ती घटना भएका छन् ।
कार्यक्रममा परिसरका प्रहरी नायब उपरीक्षक मोहन थापाले पछिल्लो समय महिला तथा बालबालिकाविरुद्ध हुने अपराध उल्लेख्यरुपमा वृद्धि भएको बताए ।
प्रतिनिधिसभाको पहिलो अधिवेशन १५ घण्टा बैठक
संघीय संसद्को पहिलो अधिवेशनअन्तर्गत एक महिना चालु प्रतिनिधिसभामा नौ दिनसम्म गरी ११ पटक बैठक बसेको छ ।
पहिलो अधिवेशनको अन्त्यको घोषणापूर्व मंगलबारको बैठकमा सभामुख कृष्णबहादुर महराले सोबीचमा १५ घण्टा ३० मिनेट संसदीय काम कारबाही भएको जानकारी गराए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको पत्रअनुसार मंगलबार राति १२ बजेदेखि संघीय संसद्को पहिलो अधिवेशनको अन्त्य भएको छ ।
बम र आगजनी
कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ । विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ ।
धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पु¥याइएको छ ।
मंगबालर बिहान करीब १ बजेतिर १० जनाको समूहमा आएका विप्लवका कार्यकर्ताले हरिहरपुरगढी गाउँपालिका–५ मा रहेको कालिका कन्स्ट्रक्सनको अस्थायी क्याम्पमा रोकिराखिएका सवारीमा क्षति प¥याएका हुन् ।
लुअम ७२९६ अस्थायी नम्बरको डबलक्याप बोलेरोमा बम प्रहार गरी पूर्णरुपमा क्षति पु¥याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । यस्तै, ना१क ५६९८, ना१क ४३३८, ना१क ७२४४, ना१क ४३३२ नंका टिपरमा पनि क्षति पुगेको छ । रोड लोडर र रोलरमा पनि आंशिक क्षति पुगेको छ ।
धनगढी प्रिमियर लिग
रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा टिम चौराह धनगढी विजयी भएको छ ।
धनगढीले महेन्द्रनगर युनाइटेडलाई आठ विकेटले पराजित गरेको हो । टिम चौराह धनगढीको यो दोस्रो जीत हो । महेन्द्रनगर दुई खेलमा एक जीत र एक हारको अवस्थामा छ । संघीय प्रहरी एकाइ कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको महेन्द्रनगरले निर्धा्रित २० ओभरको खेलमा आठ विकेट गुमाउँदै १३१ रन बनायो । धनगढीले एक सय ३२ रनको विजयी लक्ष्य १८ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो ।
धनगढीका लागि सुनिल धमलाले अविजित ४६ रन बनाए । उनले ४७ बलमा दुई छक्का र चीन चौका हाने । रोहन मुस्तफाले ३० बल खेल्दै ३९ रन बनाए । उनले तीन छक्का र एक चौका प्रहार गरे । यस्तै अस्फाक अहमदले २४ बलमा ६ चौकासहित ३० तथा सोनु तमाङले अविजित रहँदै १५ रन बनाए ।
बलिङतर्फ महेन्द्रनगरका पुनित मेहरा र अविनाश कर्णले एक एक विकेट लिए । यसअघि ब्याटिङ गर्दै महेन्द्रनगरका पुनितले ४० तथा भुवन कार्कीले ३२ रन बनाए । पुनीतले २२ बलमा दुई छक्का र चार चौका प्रहार गरे । भुवनले ४० बलमा एक छक्का र दुई चौका हाने । यस्तै पुनित विष्टले २४ तथा कप्तान विनोद भण्डारीले ११ रन बनाए ।
बलिङतर्फ धनगढीका लागि ‘प्लेयर अफ द म्याच’ ललितसिंह भण्डारीले चार विकेट लिए । उनले चार ओभरमा ३७ रन दिए । कप्तान सोमपाल कामी र शम्शेद शेखले एक एक विकेट लिए ।