०७ असार २०८३, आइतबार

पाकिस्तानी कूटनीतिज्ञलाई सार्कको महासचिव बन्न नदिन भारतको चलखेल

कात्तिक २०, २०७४
पाकिस्तानी कूटनीतिज्ञलाई सार्कको महासचिव बन्न नदिन भारतको चलखेल
काठमाडौं, २० माघ — आन्तरिक विभाजनमा रुमल्लिएको दक्षिण एसियाली सहयोग संगठन (सार्क) को आगामी महासचिवका रूपमा एक पाकिस्तानी कूटनीतिज्ञको नियुक्तिलाई भारतले रोक्न खोजेको पाकिस्तानी दैनिक पत्रिका डनले जनाएको छ ।

उक्त दैनिकको अनलाइन संस्करणमा बिहीवार प्रकाशित समाचार अनुसार फागुन १८ गतेदेखि पाकिस्तानले सार्कको अध्यक्षता गर्नुपर्नेमा भारतको अडानका कारण लामो समयसम्म यो संगठन प्रमुखविहीन हुने सम्भावना बढेर गएको छ ।

कूटनीतिमा लामो समय बिताएका अमजद हुसेन सियाललाई सार्कको १३औं महासचिवका रूपमा पाकिस्तानले प्रस्ताव गरेको थियो ।

गत वर्ष नेपालको पोखरामा सम्पन्न सार्कको मन्त्रिस्तरीय बैैठकमा सियालको नाम प्रस्ताव गरिएको थियो । त्यतिखेर सबै सदस्य राष्ट्रले सियालको नामलाई अनुमोदन गरेका थिए ।

बहालवाला सार्क महासचिव अर्जुनबहादुर थापाको कार्यकाल सकिन लागेकाले नयाँ उम्मेदवारको प्रसंग उठेको हो । थापाको कार्यकाल एक महिनापछि सकिँदैछ ।

समाचार अनुसार, केही दिनअघि मात्र नयाँ दिल्लीले एक कूटनीतिक सन्देश पठाएर सार्क सचिवालयलाई नयाँ सार्क अध्यक्ष नियुक्तिमा उपयुक्त कार्यविधि अपनाउन आग्रह गरेको थियो ।

भारतले पाकिस्तानी कूटनीतिज्ञको प्रस्तावलाई इस्लामाबादमा हुने भनिएको सार्कको मन्त्रिस्तरीय बैठकबाट अनुमोदन गराउनुपर्ने नयाँ बखेडा झिकेको छ । तर भारतले उक्त बैठकमा भाग नलिने निर्णय गरेपछि निर्धारित बैठक नै अन्योलमा छ ।

त्यतिखेर भारतले अन्य केही सदस्य राष्ट्रलाई पनि इस्लामाबादमा हुने सम्मेलन बहिष्कार गर्न दबाब दिएको थियो ।

भारतले अनावश्यक अड्चन थापेको पाकिस्तानी अधिकारीहरूले आरोप लगाएका छन् । सियालमाथिको प्रस्तावउपर सबै आठ सदस्यले सहमति जनाइसकेको अवस्थामा अहिले आएर भारतले बाधा बखेडा झिक्नुको कुनै औचित्य नभएको उनीहरूको तर्क छ ।

भारत र पाकिस्तानबीचको कश्मीर तथा आतंकवाद सम्बन्धी विवादका कारण सार्क समय–समयमा संकटमा पर्ने गरेको छ ।

यसैबीच, डन दैनिककै अनलाइन संस्करणमा बिहीवार प्रकाशित सम्पादकीयमार्फत सहमतिविपरीत सार्क महासचिवका सम्भावित उम्मेदरवारलाई रोक्न खोजेको भन्दै भारतको तीव्र आलोचना गरिएको छ ।

कमेन्ट गर्नुहोस्