काठमाडौं २० माघ – सरकारले स्थानीय तहको निर्वाचनको तयारीमा जुट्न निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।
बिहिवार बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय निर्वाचनका लागि आयोगलाई पत्राचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए ।
यसअघि सरकारले बिहिवार नै निर्वाचनको मिति घोषणा गर्ने तयारी रहेको समाचार बाहिर आएका थिए । ‘निर्वाचन सम्बन्धी कानून पारित भएकोले आयोगलाई स्थानीय निर्वाचनको तयारी गर्न पत्राचार गर्ने निर्णय भयो’ खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले लोकान्तरसँग भने ।
मधेसी मोर्चासँग थप परामर्श गरेर मात्र चुनावको मिति घोषणा गर्ने सहमति भएको सरकारका एक मन्त्रीले जानकारी दिए । सरकारले स्थानीय तह पुनसंरचना आयोगको प्रतिवेदनमा देखिएका विवाद मिलाउन स्थानीय विकास मन्त्री हितराज पाण्डेको संयोजकत्वमा एक समिति गठन गरेको छ ।
मन्त्रिपरिषद्को बिहिवारको बैठकले भन्सार बिभागका महानिर्देशक शिशिर कुमार ढुङ्गानालाई सचिवमा बढुवा गरेको छ ।