
काठमाडौं, २१ चैत-मयुर यातायातविरुद्ध एकाधिकार (सिन्डिकेट) कायम गरेका कोटेश्वरपूर्व बनेपा, पनौती र धुलिखेलसम्म चल्ने बस व्यवसायीलाई मयुरविरुद्धको आन्दोलन प्रत्युत्यादक बन्ने भएको छ ।
मयुरलाई दिइएको इजाजतविरुद्ध यातायात हड्तालको घोषणा गरेका यातायात व्यवसायीको दादागिरी तोड्न सरकारले सो रुटमा नयाँ बसलाई अनुमति दिएको हो । सरकारले आह्वान गरेका दिन साझा यातायातसहित मेट्रो सिटी, अन्नपूर्ण र शिवदर्शन यातायातले इजाजत लिएका छन् ।
साझा र सिटीले बुधवारदेखि बनेपामा सेवा शुरु गरेका छन् । साँगासम्म बस चलाउँदै आएको साझाले बुधवार बनेपासम्म सेवा विस्तार गरेको छ भने बिहीवार धुलिखेलसम्म चल्नेछ ।
वनस्थलीदेखि महाराजगञ्ज, पुतलीसडक, कोटेश्वर हुँदै पेप्सिकोला चल्ने सिटी पनि अब धुलिखेल पुग्नेछ । यस्तै रत्नपार्कदेखि काँडाघारीसम्म चल्ने अन्नपूर्णले पनि सुविधा सम्पन्न बस धुलिखेलसम्म गुडाउन प्रस्ताव गरेको छ ।
यातायात क्षेत्रको सिन्डिकेट तोडले निर्णय गरेको सरकारले नयाँ इजाजत लिएका बसको सुरक्षा गर्ने प्रतिबद्धता जनाएको छ ।