२२ जेठ २०८३, शुक्रबार

सुन तस्करीसँग जोडिएको सनम हत्या प्रकरणमा हेडक्वार्टर तानिए अपराध महाशाखाका एसएसपी

चैत २२, २०७४
सुन तस्करीसँग जोडिएको सनम हत्या प्रकरणमा हेडक्वार्टर तानिए अपराध महाशाखाका एसएसपी

काठमाडौं, २२ चैत- महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी प्रहरी केन्द्रीय कार्यालय हेडक्वार्टर तानिएका छन् । चीनबाट नेपाल तस्करी गरेर ल्याइएको ३३ किलो सुन प्रकरणसँग जोडिएको सनम शाक्य हत्याकाण्ड प्रकरणमा संलग्न रहेको भनिएका एसएसपी लोहनीलाई प्रहरी हेडक्वार्टर तानिएको हो ।

सो प्रकरणमा प्रहरी अधिकारीकै संलग्नता रहेको खुलेपछि गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धान गर्न छुट्टा–छुट्टै छानबीन समिति गठन गरेको थियो । दुवै समितिले घटनामा एसएसपी लोहनीको संलग्ना देखिएको प्रारम्भिक प्रतिवेदन तयार गरेपछि उनलाई हेडक्वार्टर तानिएको प्रहरी स्रोतले जनाएको छ ।

गृह मन्त्रालयले सहसचिव ईश्वरी पौडेल तथा प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) पुष्कलराज रेग्मीको संयोजकत्वमा बेग्लाबेग्लै छानबीन समिति गठन गरेको थियो । दुवै समितिले घटनामा संलगन रहेको भन्ने आशंकामा एसएसपी लोहनीसहित प्रहरी अधिकारी रकर्मचारीमाथि अनुसन्धान गरेको थियो ।

मोरङको उर्लाबारी नगरपालिका– ७ का ३६ वर्षीय सनम शाक्य २१ फागुनमा मृत भेटिएका थिए । स्कर्पियो गाडीमा मृत अवस्थामा भेटिएका शाक्यलाई सोल्टी खोलाको जंगलमा यातना दिएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको थियो । तस्करीको सुनमा विवाद भएपछि तस्कर समूहले नै उनको हत्या गरेको मोरङ प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको थियो ।

शाक्यको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले २१ फागुनमै ३ जनालाई पक्राउ गरेको थियो । मोरङ उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भन्ने नरेन्द्र कार्की, उर्लाबारी– ५ का मोहन काफ्ले र काभ्रे मण्डन देउपुर गाउँपालिका– १२ का टेकराज मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।

चीनबाट तस्करी गरेर ल्याइएको ३३ किलो सुन हराएपछि गिरोहले शाक्यलाई यातना दिएर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । प्रहरीले गोरे भनिने चूडामणि उप्रेतीलाई पनि सो प्रकरणमा अभियुक्त ठहर गरेको भए पनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।

यो पनि पढ्नुहोस् :

काठमाडौंमा लुटिएको साढे ३३ किलो सुनका कारण विराटनगरमा सनमको हत्या
 

salt training

कमेन्ट गर्नुहोस्