०३ साउन २०८३, आइतबार

रहेनन् पुराना कम्युनिस्ट नेता कमलराज रेग्मी

रहेनन् पुराना कम्युनिस्ट नेता कमलराज रेग्मी

काठमाडौँ, २२ चैत– पुराना वामपन्थी नेता एवम् पूर्वसांसद कमलराज रेग्मीको ९२ वर्षका उमेरमा ललितपुरको धोबीघाटस्थित निवासमा आज निधन भएको छ । 

विसं २०१५ मा भएको पहिलो आमनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टीबाट निर्वाचित चार नेतामध्ये रेग्मी पाल्पाबाट निर्वाचित भएका थिए । अन्य विजयी नेतामा तुल्सीलाल अमात्य(ललितपुर) तथा शेख फरमान र हरदयाल महतो(रौतहट) थिए । 

रेग्मी पञ्चायती व्यवस्थाको स्थापना हुनुभन्दा पहिले कम्युनिष्ट पार्टीको जुझारु र सक्रिय नेता थिए । नेपालको किसान आन्दोलनमा उनको महत्वपूर्ण भूमिका थियो । खास गरेर पाल्पाको किसान आन्दोलन उनको नेतृत्वमा नै चलेको थियो । 

विसं २०१७ पुस १ गते तत्कालीन राजाले प्रतिगामी कदम चाल्दा उनी पहिलो दिनमा नै गिरफ्तार भएका थिए र लामो समयसम्म कारागार जीवन भोग्नुपर्यो । उनीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न वामपन्थी नेताहरु विष्णुबहादुर मानन्धर, चित्रबहादुर केसी, मोहनविक्रम सिंहलगायत धोबीघाट पुगेका थिए । उनका श्रीमती तथा एक छोरा र एक छोरी छन् । उनको अन्त्येष्टि चितवन देवघाटमा शुक्रबार गरिने नेकपा(माओवादी केन्द्र) सचिवालय सदस्य सुनिलकुमार मानन्धरले जानकारी दिए । 

उनको निधनप्रति नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले दुःख व्यक्त गर्दै सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । “स्व रेग्मीको पहिलेको सक्रिय पार्टी जीवन र उहाँका सबै सुःखदुःखमा जीवनभर साथ दिएकी उहाँकी जीवनसाथी विमला रेग्मीप्रति पनि उच्च सम्मान प्रकट गर्दै उहाँप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छौँ”, सिंहले भनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्