
काठमाडौं, २३ चैत–कालो हरिण शिकार मामलामा जोधपुरको अदालतले फिल्म अभिनेता सलमान खानलाई पाँच वर्षको सजाय सुनाएको छ । अदालतको यस फैसलापछि कयौंले खुशी मनाइरहेका छन् भने केहीले अपसोच मनाइरहेका छन् ।
राजस्थानको बिश्रोइ समाजले सलमानलाई सजाय भएको भन्दै खुसी मनाएको छ । तर, उनका फ्यानहरु भने निराश भएका छन् । यस मामलाममा पाकिस्तानी विदेशमन्त्रीले समेत मुख खोलेका छन् ।
पाक विदेशमन्त्री ख्वाजा मोहम्मद आसिफको भनाइले विवाद उत्पन्न गराएको छ । पाकिस्तानी समाचार च्यानल जिओ न्यूजलाई दिएको एक अन्तर्वार्तामा उनले सलमान खान अल्पसंख्यक समुदायका भएका कारण उनलाई सजाय भएको बताएका छन् ।
पाकिस्तानी मन्त्रीले भनेका छन् ‘यदी सलमानको धर्म सत्तारुढ पार्टीको जस्तै भएको भए उनलाई यस्तो सजाय हुने थिएन ।’ सलमान खानलाई १९९८ को कालो हरिण शिकार मामलामा २० वर्षपछि सजाय भएको छ । उनलाई पाँच वर्षको जेल सजाय भएको छ ।