
काठमाडौं, २३ चैत– प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण अगाडि नै मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गर्ने निर्णय गरेको खुलेको छ ।
मन्त्रिपरिषद्को बिहीवार बसेको बैठकले सचिवहरुको सरुवा गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव प्रेम कुमार राईलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यसअघि गृह सचिव रहेका मोहनकृष्ण सापकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । युवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहाललाई श्रम तथा रोजगार मन्त्रालयको सचिव बनाइएको छ ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव राजन खनाललाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ । अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ भने सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव महेश्वर न्यौपानेलाई अख्तियारमा सरुवा गरिएको छ ।
यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अर्का सचिव खगराज बराल शिक्षा मन्त्रालयमा सरुवा भएका छन् । शिक्षा मन्त्रालय सचिव मधुप्रसाद रेग्मीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै रहेका अर्का सचिव महेन्द्रमान गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।
राष्ट्रिय योजना आयोगका सचिव विष्णु लम्साल रक्षा सचिव बनेका छन् । योजना आयोगको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव शरच्चन्द्र पौडेललाई सरुवा गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरका सचिव मधुसुदन अधिकारीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा गरिएको छ । पुनर्निर्माण प्राधिकरणको सचिवमा नेपाल ट्रस्ट कार्यालयका सचिव अर्जुनकुमार कार्कीलाई सरुवा गरिएको छ ।
वन तथा वातावरण मन्त्रालयका सचिव युवकध्वज जीसी कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवमा सरुवा भएका छन् भने वन तथा वातावरण मन्त्रालयमा यसअघि कृषि, भूमि व्यवस्था तथा सहकारी (पशुपंक्षी विकास) मन्त्रालयको सचिव रहेका विश्वनाथ ओलीलाई सरुवा गरिएको छ ।
प्रदेश १ का कामु प्रमुखसचिव यादवप्रसाद कोइराला काठमाडौं महानगरपालिकाको प्रमुख कार्यकारी अधिकृतमा सरुवा भएका छन् ।