
नयाँ दिल्ली २३ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग रहेको भ्रम हटेको बताएका छन् । छिमेकीसँगको सम्बन्ध तनावपूर्ण हुन्छ कि, नराम्रो हुन्छ कि भनेर सोच्नु नपर्ने उनले बताए ।
दिल्लीस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा नेपाली समुदायलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले समानताको आधारमा सम्बन्ध विस्तार हुने बताएका हुन् । उनले छिमेकीसँग समानताको आधारमा बराबरीको आधारमा, अहस्तक्षेपको आधारमा पारस्परिक सम्मानका आधारमा सम्बन्ध विस्तार गर्न काम गर्ने बताए ।
‘भारतमा एउटा परिस्थितीमा परिवर्तन आएको छ, भ्रमहरु हटेका छन, असमझदारी रहेको छैन अब । यस अबस्थामा हामी सहकार्यका साथ अगाडि बढछौं,’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले भारतसँगको सम्बन्ध अझ सुदृढ बन्ने विश्वास व्यक्त गरे । ‘भारतसँगको सम्बन्धलाई अझ सुदृढ र मैत्रीपूर्ण बनाउने उद्देश्यका साथ म आएको छुँ,’ ओलीले भने, ‘छिमेकी मित्रराष्ट्र भारत र चीनलाई साथ लिएर हामी विकास गर्छाैं ।’
विदेशमा रहेकालाई नेपाल फर्किने वातावरण बनाउने घोषणा
प्रधानमन्त्री ओलीले भारतमा बस्ने नेपालीका समस्याबारे आफूले बुझेको र उनीहरुका समस्या समाधान गर्ने आश्वासन दिए । ‘अब नेपाल बन्छ, नेपाल बनाउने कुरामा ध्यान दिऔं’ ओलीले भने, ‘नेपालले तपाईंहरुलाई नेपाल फर्किनु पर्ने आकर्षण बाताबरण बनाउँछ । बाहिर बस्नु नपर्ने बाताबरण बनाउँछ । विदेश गएका युवालाई फर्किने बाताबरण बनाउछौं ।’