२९ जेठ २०८३, शुक्रबार

मुख्य समाचार : ओली र मोदीबीच ‘वान टु वान’ वार्ता- अविश्वास हटेको दाबी, घूससहित दुई कर्मचारी पक्राउ

मुख्य समाचार : ओली र मोदीबीच ‘वान टु वान’ वार्ता- अविश्वास हटेको दाबी, घूससहित दुई कर्मचारी पक्राउ

काठमाडौं, २४ चैत– भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओेली र उनका समकक्षी नरेन्द्र मोदीबीच डेढ घण्टा एक्लाएक्लै ‘वान टु वान’ भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित प्रधानमन्त्री निवास लोककल्याण मार्गमा शुक्रबार साँझ भएको भेटवार्तामा द्विपक्षीय हित र चासोका विषयमा कुराकानी भएको छ ।

नेपालको विकास र आर्थिक समृद्धिका विषयमा आफूहरूबीच महत्वपूर्ण छलफल भएको हो, प्रधानमन्त्री ओलीले भने, “नेपालको समृद्धिलाई कसरी अगाडि बढाउने र कसरी सर्वोपरि हित हुन सक्छ भन्ने बारेमा छलफल भयो ।” उनले नेपाल र भारतबीच मैत्रीपूर्ण सम्बन्ध थप विस्तार भएको र आफूहरूबीच कुनै पनि असमानता र अविश्वास नरहेकोसमेत बताए ।

भारतको तीनदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री ओली र मोदीबीच भएको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । प्रधानमन्त्रीले नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुगेको भन्दै आगामी दिनमा सम्बन्ध थप उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गरे । 

नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह– प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धक्क भएर नेपालमा लगानी गर्न भारतीय उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् । भारतको तीनदिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्लीमा रहेका प्रधानमन्त्री ओलीले भारतीय उद्योग वाणिज्य संघ र चेम्बरले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा नेपालमा राजनीतिक स्थिरताकायम भएको भन्दै ढुक्कसाथ लगानी गर्न आग्रह गरेका हुन् । 

नेपालले उदार अर्थतन्त्रको नीति लिएको भन्दै प्रधानमन्त्री ओलीले सरकारले वैदेशिक लगानीको संरक्षण गर्ने बताए । प्रधानमन्त्री ओलीले भारत र नेपालबीच दोहोरो कर मुक्तीको सम्झौता भएको तथा ट्रान्समिसन लाइन र विद्युत व्यापारको सम्झौता भएको भन्दै लगानीको उचित वातावरण रहेको धारणा राखे । 

भारत नेपालको बीचमा सांस्कृतिक समानता रहेको भौगोलिक निकटता रहेकाले व्यवसायसमा समस्या नहुने उनको भनाइ छ । 

यस्तै नेपाली समुदायले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारत र चीन दुवै छिमेकीसँग मिलेर नेपालले आर्थिक क्षेत्रमा प्रगति हासिल गर्ने र यसकै लागि वातावरण बनाउन आफू भारत आएको स्पष्ट पारे । ओलीले भारतमा रहेका नेपालीलाई ‘नेपाल बनाउने’ आफ्नो अभियानमा साथ दिन स्वदेश फर्कन आह्वान गरे । 

बाह्रखम्बास्थित नेपाली दूताबासमा आयोजित कार्यक्रममा प्रवासी नेपालीलाई सम्बोधन गर्दै ओलीले भने, ‘म नेपाल बनाउन अघि बढिसकेको छु । भारतमा रहेका नेपालीले यसमा सहयोग गर्नुपर्छ । अब तपाईहरु यहाँ बसेर होइन, नेपाल फर्केर काम गर्ने अवस्था निर्माण गर्नेछौं । देशको तपाईंहरूलाई जति चिन्ता छ, त्यसभन्दा बढी गम्भीर भएर मैले काम थालेको छु ।’

शुक्रबार बिहान प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले विमानस्थलमा स्वागत गरेका थिए । साथै प्रधानमन्त्री ओलीको स्वागतमा गृहमन्त्री सिंहसँग, अर्थराज्यमन्त्री शिवप्रताप शुक्ल, विदेश मन्त्रालयका अधिकारीहरु विमानस्थल पुगेका थिए । 

यसैबीच, आज बिहान भारतीय सेनाले प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ दिएपछि प्रधानमन्त्री ओलीसँग भारतीय राष्ट्रपति र उपराष्ट्रपतिले भेट्ने कार्यक्रम छ । भेटपछि ओली राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल जाने छन् । ५४ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली हिजाे बिहान दिल्ली गएका हुन् । 

चाहेको सडकमा सवारी साधनलाई अनुमति दिइने– यातायात व्यवस्था विभागले देशभरका यातायात व्यवस्था कार्यालयलाई जुनसुकै सडकमा अनुमति लिन आउने यातायात कम्पनीका सवारी चल्न पाउने गरी रुट इजाजत दिन निर्देशन दिएको छ । विभागले शुक्रबार देशभरका सबै कार्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो । 

यो निर्देशनपछि देशभरका यातायात एकाधिकार (सिण्डिकेट) हट्ने विश्वास गरिएको छ । विभागले चैत १८ गते आइतबार यातायातसम्बन्धी पुराना तीनवटा निर्देशिका कार्यविधिलाई संशोधन गर्दै छवटा नयाँ जारी गरेको थियो । 


विद्यार्थी भर्ना अभियान वैशाख २ गतेबाट– सरकारले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण अभियान सञ्चालन गर्ने भएको छ । शुक्रबार मन्त्रालयमा विद्यार्थी भर्ना तथा निःशुल्क पाठ्यपुस्तक वितरणसम्बन्धी विशिष्ट व्यक्तिसँगको अन्तक्रिया कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयभन्दा बाहिर रहेका विद्यार्थीलाई विद्यालयमा ल्याउन पाठ्यपुस्तकसहित वैशाख २ गतेबाट भर्ना अभियान सञ्चालन गरिने बताए । 
उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली वैशाख ५ गते कर्णाली पुगी एकजना विद्यार्थीलाई भर्ना गराउने छन् । सबै मन्त्रालयका सचिव र सहसचिवलाई विद्यार्थी भर्ना अभियानमा लाग्न निर्देशन दिइसकेको मन्त्री पोखरेलले जानकारी दिए ।

प्रदेश नं. ५ को नीति तथा कार्यक्रम २५ गते संसदमा प्रस्तुत हुने– प्रदेश नं. ५ को सरकारको आर्थिक वर्ष ०७४–७५ को नीति तथा कार्यक्रम चैत २५ गते संसदमा प्रस्तुत हुने भएको छ । प्रदेश मन्त्रिपरिषदको शुक्रबार बसेको वैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गरी संसदमा प्रस्तुत गर्न प्रदेश प्रमुख उमाकान्त झालाई अनुरोध गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले जानकारी दिए ।

चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागि मात्रै अल्पकालीन भएकाले नीति तथा कार्यक्रममा उल्लेखनीय विषय र नौलो कार्यक्रम केही नभएको प्रवक्ता चौधरीले बताए । मन्त्रिपरषद वैठकले चालु आर्थिक वर्षको बांकी अवधिको वजेट चैत २९ गते प्रस्तुत गर्ने निर्णय पनि गरेको छ । 

छोरी हत्याको अभियोगमा बाबु जेल चलान– आफ्नै छोरीको हत्या गरेको अभियोगमा पक्राउ परेका बाबुसहित दुई जनालाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको छ । आफ्नै छोरी १९ वर्षीया स्नेहा यादवलाई यातना दिएर हत्या गरी शव जलाएको अभियोगमा पक्राउ परेका धनुषा शहीदनगर नगरपालिका–७ का ४० वर्षीय दिलीपकुमार यादवलाई जिल्ला अदालत धनुषाले पुर्पक्षका लागि जेल चलान गरेको हो । 
    
त्यस्तै स्नेहाको शव जलाउन सहयोग गरेको अभियोगमा पक्राउ परेका अर्का विदेह नगरपालिका गिद्धाबेलापट्टिका ४६ वर्षीय राधेश्याम यादवलाई पनि पुर्पक्षका लागि जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

काठमाडौँको एक युवकसँग प्रेम गरिरहेको थाहा पाएपछि प्रतिष्ठा बचाउने नाममा बुबा दिलीपले आक्रोशमा छोरीलाई काठमाडौँबाट बोलाई जनकपुर उपमहानगरपालिका–२ वकिल टोलस्थित रहेको डेरामा चरम यातना दिई हत्या गरेको प्रहरीले जनाएको छ । 

    
दुई विधेयक पारित– प्रदेश नं ४ को शुक्रबार बसेको प्रदेशसभा बैठकले दुई विधेयक पारित गरेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले प्रदेश स्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक विधायन समितिको प्रतिवेदनसहित पारित गरियोस् भनी गरेको प्रस्तावलाई बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

त्यस्तै बैठकले मन्त्री चुमानले विधायन समितिको प्रतिवेदनसहित स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरियोस् भन्दै गरेको प्रस्तावलाई पनि सर्वसम्मत पारित गरेको छ ।

    
घूससहित दुई कर्मचारी पक्राउ– अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जिल्ला शिक्षा कार्यालयका दुई जना  प्राविधिक कर्मचारीलाई घूससहित पक्राउ गरेको छ । विद्यालय भवन निर्माण गर्दा गलत बिल फछ्र्यौट गरिदिने भन्दै रु एक लाख घूस लिँदालिँदै चिप्लेढुङ्गास्थित एक रेस्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरिएको हो । 

पक्राउपर्नेमा इन्जिनियर छवीन्द्रविक्रम खाँड र सबइन्जिनियर प्रदीपकुमार बानियाँ रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराले जनाएको छ । 

स्थानीय राजपत्र सार्वजनिक– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाद्वारा प्रकाशित ‘स्थानीय राजपत्र’ सार्वजनिक गरेका छन् । सार्वजनिक गरिएको राजपत्रमा नगरसभा सञ्चालन कार्यविधि २०७४, काठमाडौँ महानगरपालिकाको आव २०७४÷७५ को नीति तथा कार्यक्रम, स्थानीय राजपत्र प्रकाशन कार्यविधि २०७४, काठमाडौँ महानगरपालिकाको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन, २०७४, कार्यपालिकाअन्तर्गत समिति, उपसमिति, गठनसम्बन्धी कार्यविधि २०७४, विनियोजन ऐन, २०७४ र कार्य सम्पादन नियमावली, २०७४ रहेका छन् ।

अदातलको आदेशपछि स्वास्थ्य केन्द्रमा पुगे चिकित्सक– बाँके नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा एक जना चिकित्सकलाई पठाइएको छ । उच्च अदालत तुलसीपुर—नेपालगञ्ज इजलाशले गत चैत १४ गते विशेषज्ञ चिकित्सक पठाउन सरकारका नाममा आदेश जारी गरेपछि डा भीष्मप्रसाद पोखरेललाई सो स्वास्थ्य केन्द्रमा पठाइएको गाउँपालिका अध्यक्ष इस्तियाकअहमद शाहले जानकारी दिए ।

कोरियाली पूर्वराष्ट्रपतिलाई २४ वर्ष जेल– दक्षिण कोरियाको एक अदालतले त्यहाँका पूर्व राष्ट्रपति पार्क ग्युन हेईलाई २४ वर्ष जेल सजाय तोकेको छ । उनलाई भ्रष्टाचारको आरोपमा अदालतले उक्त सजाय तोकेको हो ।
अदालतका अनुसार उनीमाथि लगाइएका १८ मध्ये १६ आरोपमा उनलाई कसुरदार ठर्हयाइएको छ । उनलाई १७ मिलियन डलर जरिवानासमेत तोकिएको छ । 
तल्लो अदालतले सुनाएको यो फैसलाविरुद्ध पूर्वराष्ट्रपति पार्कले पुनरावेदन गर्ने अपेक्षा गरिएको छ । अदालतले फैसला सुनाउँदा उनी भने उपस्थित थिइनन् । 
उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन् । भ्रष्टाचार आरोपमा अपदस्थ हुनेमा पनि उनी पहिलो दक्षिण कोरियाली राष्ट्रपति हुन् ।

धनगढी प्रिमियर लिग– रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको खेलमा काठमाडौँ गोल्डेन्स विजयी भएको छ । काठमाडौँ गोल्डेन्सको यो लगातार चौथो जीत हो । 
विराटगर किंग्सलाई पाँच विकेटले पराजीत गरको काठमाडौँ क्वालिफायरमा पुगेको छ । टस जितेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६४ रन बनायो । १६५ रनको विजय लक्ष्य पछ्याएको काठमाडौंँले २० ओभरमा पाँच विकेट गुमाउँदै १७० रन बनायो । 
 

salt training

कमेन्ट गर्नुहोस्