१२ असार २०८३, शुक्रबार

मुख्य समाचार : ‘नेपाल भारत सम्बन्धमा तस्बिर आफैं बोल्छ’–ओली, जिससका कर्मचारी स्थानीय तहमा समायोजन हुने

मुख्य समाचार : ‘नेपाल भारत सम्बन्धमा तस्बिर आफैं बोल्छ’–ओली, जिससका कर्मचारी स्थानीय तहमा समायोजन हुने

काठमाडौं, २६ चैत– भारतको तीनदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारतसँगको सम्बन्ध सबैका लागि सुध्रिएको बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले भारतसँगको सम्बन्ध थप समधुर बनेको र अब सधैंका लागि सुध्रिएको बताए । 

‘नेपाल भारतको सम्बन्धमा अब तस्बिर आफैं बोल्छ,’ ओलीले भने, ‘अब भारतसँगको सम्बन्ध कसैले बिगारेन भने सुध्रिदै जान्छ । हामी भारतसँगको सम्बन्ध बिगार्ने पक्षमा छैनौं ।’ प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमणका क्रममा महत्वपूर्ण र केही नयाँ सम्झौता भएको पनि बताए । सडक, रेल र जलमार्ग बिस्तार गर्ने विषयमा भारतीय पक्षसँग महत्वपूर्ण सहमति तथा समझदारी भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । 

प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणले भारतसँग मित्रवत् सम्बन्ध विकसित भएको पनि दावी गरे । ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीजीले मित्रवत र एक–अर्काको अस्तित्व स्वीकार गर्ने खालको सम्बन्ध विकास गर्ने हाम्रो प्रयासलाई सकरात्मक रुपमा स्वीकार गर्नुभएको छ,’ ओलीले भने, ‘म जुन अभिमत बोकेर भ्रमणमा गएको थिए, त्यसलाई भारतले स्वागत गरेको छ ।’

सीमासम्बन्धी विवाद तथा अन्य विवादका विषयमा पनि आफूले भारतीय समकक्षीसँग गम्भीरतापूर्वक कुरा उठाएको ओलीले बताए । 

यस्तै पञ्चेश्वर र टकनकपुरका सम्बन्धमा पनि आफूले भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको ओलीले बताए । पञ्चेश्वरमा र टनकपुरमा देखिएको समस्या समाधानका लागि भारतीय प्रधानमन्त्री मोदीले आफू दिल्लीमा हुँदा नै मातहतका निकायलाई निर्देशन दिइसकेको ओलीले बताए ।

स्थानीय तहमा समाहित हुन कर्मचारीलाई मन्त्रालयको निर्देशन– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिमा कार्यरत रहेका कर्मचारीलाई स्थानीय तहमा समाहित हुन सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहमा कर्मचारीको अभाव भएपछि समन्वय समितिको कर्मचारी सिधै स्थानीय तहमा समायोजन गर्न लागेको जानकारी दिएको छ ।  

स्थानीय शासन सञ्चालन ऐन, २०७४ को दफा ८५ (३) १ मा स्थानीय तहमा कार्यरत कर्मचारीहरु सम्बन्धित स्थानीय तहमा स्वतः समायोजन भएको मानिने व्यवस्था भएको तथा जिल्ला समन्वय समितिका कर्मचारीलाई सम्बन्धित जिल्लाको स्थानीय तहमा खटाउन सकिने व्यवस्था रहेको छ । यसरी कर्मचारी खटाउँदा पर्याप्त कर्मचारी नभएका गाउँपालिका र नगरपालिकामा प्राथमिकता दिइने पनि विज्ञप्तिमा भनिएको छ । 

प्रदेश ५ को नीति कार्यक्रम– प्रदेश नं ५ को सरकारले प्रदेशको समृद्धिका लागि कृषि, उद्योग र पर्यटनका माध्यमबाट समग्र आर्थिक सामाजिक विकासको रणनीति अवलम्बन गर्ने नीति अगाडि सारेको छ । प्रदेश सरकार योजनाबद्ध रुपमा विकास र समृद्धिको लक्ष्य हासिल गर्ने दिशामा अघि बढ्न संकल्पित रहेको समेत प्रतिबद्धता जनाइएको छ । 

प्रदेश सरकारका तर्फबाट आइतबार प्रदेशसभामा प्रदेश प्रमुख उमाकान्त झाले प्रस्तुत गरेको सरकारको नीति, कार्यक्रममा सरकारले प्रादेशिक विकासको अवधारणा तयार गरी योजनाबद्ध विकासको बाटोमा अघि बढ्ने नीतिअन्तर्गत अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्ने कुरालाई उच्च प्राथमिकता दिइने जनाइएको छ ।

सरकारले सरकारी, निजी र सहकारी क्षेत्रका माध्यमबाट प्रदेशको आर्थिक विकास गर्ने नीति अगाडि सारेको छ । यसका साथै प्रदेशको विकासमा स्वदेशी र विदेशी पूँजी लगानीलाई आकर्षित गर्ने नीति अवलम्बन गर्दै प्रदेशको विकास र समृद्धिका लागि आगामी आवमा सञ्चालन गर्न सकिने सम्भाव्य आयोजनाको पहिचान र सम्भाव्यता अध्ययनमा जोड दिइनेछ ।

दुर्घटनामा चारको मृत्यु– संखुवासभाको चैनपुर नगरपालिका–२ को सल्लेरीमा आइतबार दिउँसो को २ त ५८०५ नंं ट्याक्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मादी नगरपालिका–७ का टंक  पौडेल, हर्कबहादुर राई र राजेन्द्र राई  रहेको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ । 

यसैगरी चिचिला गाउँपालिकास्थित भित्री सडकमा ट्याक्टर चढ्ने क्रममा लडेर चिचिला–४ का ५७ वर्षीय कृृष्णबहादुर थापाको मृत्यु भएको छ । 

प्रदेश संसद् बैठकमा दुईवटा विधेयक पारित– प्रदेश नं. ३ को प्रदेश संसदको प्रथम अधिवेशनको ११ औँ बैठकले दुईवटा विधेयक पारित गरेको छ भने चारवटा विधेयकमाथि छलफल भएको छ । आइतबार अपराह्न बसेको प्रदेशसभा बैठकले प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक पारित गरेको हो ।

त्यसैगरी, ११ औं बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले गाउँ, नगर, जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र स्थानीय तहका पदाधिकारी र सदस्यहरूले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी तीनवटा विधेयक संसदमा प्रस्तुत गरे ।

त्यस्तै, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुबिधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गरे ।

आर्थिक कार्यविधिसम्बन्धी विधेयक पारित– प्रदेश नं ७ को प्रदेशसभाको आइतबार बसेको बैठकले प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४ लाई पारित गरेको छ । विधायन तथा प्रदेश मामिला समितिले दिएका सुझावलाई समावेश गरेर उक्त विधेयक पारित गरिएको हो । 

प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले विधायन तथा प्रदेश मामिला समितिबाट सुझावसहित पेश हुन आएको उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । प्रस्तुत विधेयकमाथि भएको छलफलपछि बैठकमा निर्णयार्थ पेश हुँदा सर्वसम्मतिले पारित भएको हो ।  


श्रीनिवासमाथि आक्रमण गरेको आशंकामा दुई पक्राउ– प्रहरीले बालसन्त श्रीनिवास आचार्यलाई गोली प्रहार गरेको आशंकामा दुई जनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१४ बाट पक्राउमा परेका ती दुई जनासँग सोधपुछ भइरहेकाले नाम गोप्य राखिएको प्रहरीले जनाएको छ । 

विराटनगर–१४ स्थित जतुवामा आइतबारराति १ः४५ बजे शौचका लागि कोठाबाट बाहिर निस्कनासाथ आचार्यमाथि गोली प्रहार भएको थियो । दाहिने कुममा गोली लागेको उनको विराटनगरको न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

गणेश लामाविरुद्ध मुद्दा दायर– जिल्ला सरकारी वकिलको कार्यालयक काठमाडौंले गुन्डा नाइके गणेश लामाविरुद्ध मुद्दा दायर गरेको छ । एक वर्ष कैद ५ लाख रुपैयाँ जरिवानाको माग गरी आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा लामाविरुद्ध मुद्दा दायर भएको हो । 

हातहतियार तथा खरखजना मुद्दामा उनलाई अधिकतम सजायको माग गरिएको छ । गत फागुन ३० गते गौशलाको पिंगलास्थानस्थित पशुपती भिजन अगाडिबाट उनी ६ राउन्ड गोली र पेस्तोलसहित पक्राउ परेका थिए । 

अत्तरिया प्लेअफमा– पारस खड्का नेतृत्वको विराटनगर किंग्सलाई ६ विकेटले हराउँदै कैलालीको सीवाइसी अत्तरिया धनगढी प्रिमियर लिग (डीपीएल)को प्लेअफमा पुगेको छ । वर्षाका कारण ६ ओभरमा घटाइएको खेलमा विराटनगर किंग्सले दिएको ५६ रनको लक्ष्य सीवाइसी अत्तरियाले २ बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो ।

खेल हारेपछि पारस खड्का नेतृत्वको विराटनगर किंग्स डीपीएलको समूह चरणबाटै बाहिरिएको छ । पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ५५ रन बनाएको थियो । 
डीपीएलमा यसअघि नै काठमाडौं गोल्डेन्स, टिम चौराहा, महेन्द्रनगर युनाइटेड प्लेअफमा पुगिसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्