
काठमाडौं, ३० चैत– सबै सरकारी तथा संगठित संस्था र सार्वजनिक संस्थानको आर्थिक वर्ष २०७३/७४ मा कूल बेरुजु रु पाँच खर्ब आठ करोड पुगेको छ । महालेखापरीक्षकको कार्यालयले बिहीबार राष्ट्रपति विद्यादेवी भडारीलाई बुझाएको प्रतिवेदनमा मन्त्रालय तथा सरकारी निकायकै बेरुजु भने रु ९४ अर्ब ८१ करोड ५४ लाख ४७ हजार पुगेको छ ।
गतवर्ष असुल फछ्र्योट गर्नु पर्ने बेरुजु तथा कारबाही गरी टुङ्गो लगाउनु पर्ने अन्य रकम रु तीन खर्ब ९६ अर्ब २६ करोड रहेको थियो । सबै सरकारी संस्था, वा संगठित संस्था तथा निकायको यस वर्ष सरकारी निकाय, संगठित संस्था, स्थानीय निकाय÷तह, जिल्ला विकास÷समन्वय समिति समेतको रु ४६ खर्ब ८७ अर्ब ९१ करोडको लेखापरीक्षण सम्पन्न भएको छ ।
स्थानीय तहतर्फ साविकका तीन हजार ३७४ स्थानीय निकाय र संविधानअनुसार स्थापना भएका ७४४ स्थानीय तहमध्ये ७३८ को रु एक खर्ब ८० अर्ब ३१ करोडको लेखापरीक्षणबाट रु १४ अर्ब २५ करोड अर्थात् ७.९० प्रतिशत बेरुजु कायम भएको छ । महोत्तरीका छ स्थानीय तहको भने कुनै पनि कागजात हालसम्म प्राप्त हुन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।
ती निकायको गत वर्षसम्मको बाँकी बेरुजु रु दुई खर्ब २२ अर्ब ५३ करोडमा यो वर्ष रु ५२ अर्ब ९१ करोड फछ्र्योट भएको छ । बाँकी रहेको रु एक खर्ब ६९ अर्ब ६२ करोडमा यो वर्षको बेरुजु रु एक खर्ब २० अर्ब ९१ करोड समेत रु दुई खर्ब ९० अर्ब ५३ करोड बाँकी रहेको छ । लेखापरीक्षण तथा सम्परीक्षणबाट यो वर्ष रु १४ अर्ब नौ करोड असुल गरिएको छ ।
उपराष्ट्रपतिको कार्यालय, महालेखा परीक्षकको कार्यालय, न्याय परिषद्को सचिवालयको भने बेरुजु शून्य रहेको छ ।
प्रदेश नंं ५ को बजेट शुक्रबार– प्रदेश ५ को सरकारले चालु आर्थिक वर्षको तीन महिनाका लागि शुक्रबार बजेट सार्वजनिक गर्ने भएको छ । मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार अपराह्न बसेको बैठकले प्रदेश नं ५ प्रदेशसभा विनियोजन विधेयक २०७४ प्रदेशसभामा पेश गर्ने र राजश्व तथा व्ययको अनुमानित बजेट वक्तव्यसहित प्रदेशसभामा पेश गर्न स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए ।
आर्थिक मामिला तथा योजना विकासमन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले रु एक अर्ब दुई करोड पाँच लाख बराबरको बजेट प्रदेशसभामा पेश गर्नेछन् ।
मेनपावरको स्तर निर्धारण गर्न वेभसाइट– वैदेशिक रोजगारीमा कामदार पठाउने मेनपावर कम्पनीको स्तर निर्धारण गर्ने वेभसाइट शुरु गरिएको छ । उक्त वेभसाइटले वैदेशिक रोजगारको सेवा लिएका व्यक्तिले दिएको जानकारीका आधारमा सम्बन्धित मेनपावर कम्पनीको स्तर निर्धाण गर्ने छ ।
अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी)ले शुरु गरेको वेभसाइट www.recruitmentadvisor.org ले मेनपावर कम्पनीको सेवाको स्तरका बारेमा जानकारी दिने छ । यो वेभसाइट नेपालसँगै इन्डोनेसिया, फिलिपिन्स तथा मलेसियामा एकसाथ शुरु भएको छ ।
शेयरमा लगानी गर्नेले स्रोत खुलाउनुपर्ने– धितोपत्र बजारमा हुने लगानीमा स्रोत खुलाउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार स्रोत नखुलेको लगानीलाई थप कडाई गर्ने नीति लिइएको छ ।
सो नीति आगामी वैशाख १ गतेदेखि लागू हुने भएको छ । बोर्डले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका, २०७४’ बोर्ड बैठकद्वारा आज पारित गरेको जनाएको छ । बोर्डका प्रवक्ता निरज गिरिले नयाँ निर्देशिका कार्यान्वयनमा आए लगत्तै शेयर लगानीमा अदृश्य लगानी कडाइ हुने भएको हो ।
धितोपत्रसम्बन्धी ऐन, २०६३ र सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम धितोपत्र व्यवसायमा संलग्न सबैलाई जिम्मेवार बनाई सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीलाई निरुत्साहित तथा नियन्त्रण गर्ने उद्देश्यले बोर्डले सो निर्देशिका कार्यान्वयनमा ल्याउन लागेको हो ।
मेलम्ची आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’– बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङको ‘ब्रेक थु्र’ भएको छ । सिन्धु अडिटबाट ग्याल्थुमसम्मको ७.४ किमी सुरुङखण्डको मध्यभागमा ब्रेक थु्र भएको हो ।
बिहीबार एक कार्यक्रमबीच उपराष्ट्रपति नन्दबहादुर पुनले ‘ब्रेक थ्रु' भएको घोषणा गरे । ब्रेक थ्रु भएको औपचारिक घोषणा कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगर पनि उपस्थिति थिइन् । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले सिन्धु अडिटदेखि ग्याल्थुमसम्मको सुरुङ जोड्ने काम सम्पन्न भएको र योजना सम्झौताअनुरुप काम अगाडि बढेमा अबको चार महिनाभित्र आउँदो भदौसम्ममा सुन्दरीजलमा पानी खसाल्ने बताए ।
घुस लिएको आरोपमा नापी अधिकृत पक्राउ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय उदयपुरका नापी अधिकृत श्यामबाबुप्रसाद साहले रु ५० हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीका अनुसार गाइघाटस्थित जग्गाको नक्सा सुधार गर्ने कार्यमा नापी अधिकृत साहले घुस मागेको आरोप लगाएको छ । आरोपी शाहलाई नापी कार्यालय उदयपुरको सरकारी निवासबाट पक्राउ गरिएको हो ।
प्रदेश पाँचको ‘स्थिति पत्र’– प्रदेश नम्बर पाँचको सरकारले समग्र अवस्थाबारे तयार पारेको स्थिति पत्र सार्वजनिक गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको १४ औं बैठकमा आर्थिक सामाजिक अवस्था बारेमा तयार पारिएको ‘स्थितिपत्र’ प्रस्तुत गरे ।
स्थितिपत्रमा प्रदेश नम्बर पाँचको गरिबी नेपालको औषत गरिबी भन्दा बढी देखिएको छ । प्रदेशमा जलविद्युतको अवस्था कमजोर देखिएको छ । खाद्यान्न उत्पादन र तेलहन उत्पादनमा सबै प्रदेशभन्दा अगाडि देखिएको छ । प्रदेशमा २२.७ प्रतिशत खेतीयोग्य जमिन रहेको छ ।
५६ प्रतिशत घरधुरीमा मात्र शौचालय बनेका छन् । ११ हजार किलोमिटर सडक सञ्जाल रहेको स्थिती पत्रमा उल्लेख छ ।
देशभरका जिल्ला शिक्षा कार्यालय खारेज– सरकारले देशभरिका जिल्ला शिक्षा कार्यालय खारेज गरेको छ । माध्यमिक तहको शिक्षाको कामलाई स्थानीय तहलाई जिम्मा दिने भएपछि जिल्ला शिक्षा कार्यालयलाई बिहीबारबाट ‘शिक्षा विकास तथा समन्वय एकाइ’ बनाइएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए ।
मन्त्रालयले बुधबार सबै जिल्ला शिक्षा कार्यालयलाई खारेज गर्दै एकाइ कार्यालयमा स्थापना गर्न जिल्ला शिक्षा अधिकारीलाई निर्देशन दिएको थियो ।
प्रदेश नं १ मा एक अर्बको बजेट प्रस्तुत– प्रदेश नं १ को आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेशसभाको बैठकमा चालु आवकोे तीन महिनाका लागि रु एक अर्ब दुई करोड पाँच लाखको बजेट प्रस्तुत गरेका छन् । बजेटमा चालु खर्च रु ५४ करोड ३४ लाख र पूँजीगत खर्चतर्फ रु ४७ करोड ७१ लाख बजेट विनियोजन गरिएको छ ।
सङ्घीय सरकारको अनुदानमा प्रदेश सरकारले बिहीबार प्रदेश सभामा प्रस्तुत गरिएको विनियोजित बजेटमा चालु आवका साथै प्रदेश सरकारद्वारा घाषित १०० दिने कार्यक्रम र वाम गठबन्धनको निर्वाचनको समयमा जारी गरिएको घोषणापत्रको आधार बनाएर आगामी पाँच वर्ष सम्भावित योजना पनि समेटिएको छ ।
प्रदेश नं ३ ले मर्यादाक्रमको टुङ्गो लगायो– प्रदेश नं ३ सरकारले प्रदेशसभा सदस्यको मर्यादाक्रमको टुङ्गो लगाएको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रतिनिधसभा, राष्ट्रियसभापछि मर्यादाक्रममा प्रदेशसभा रहने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए ।
प्रदेशसभा सदस्यको मर्यादाक्रमका विषयमा प्रदेशसभा सदस्यले संसद्मा प्रस्तावित विधेयकमा सहमति नजुटाएको अवस्थामा मन्त्रिपरिषद्को बैठकले यसको टुंगो लगाएको हो ।
धनगढी प्रिमियर लिग– धनगढी प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायर्समा महेन्द्रनगर युनाईटेडलाई बिहीबार पाँच विकेटले पराजित गर्दै काठमाडौं गोल्डेन्स फाइनलमा पुगेको छ । शुक्रबार हुने डीपीएल क्रिकेटको फाइनलमा टिम चौराह धनगढी र काठमाडौं गोल्डेन्स प्रतिस्पर्धा गर्नेछन् ।
महेन्द्रनगरले दिएको एक सय ४३ रनको लक्ष्य काठमाडौं गोल्डेन्सले १० बल बाँकी रहँदै ५ विकेट गुमाएर पूरा गरेको हो । काठमाडौंका लागि आक्रामक ब्याटिङ गरेका सुबोध भाटीले १८ बलमा ५२ रन बनाए । बलिङतर्फ महेन्द्रनगरका लागि पुनित मेहराले २ तथा भूवन कार्की, पुनत बिष्ट तथा रोविन क्षेत्रीले समान एक–एक विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले २० ओभरमा नौ विकेट गुमाउँदै एक सय ४२ रन बनायो । निकै खराब सुरुवात गरेको महेन्द्रनगरले १० रन बनाउँदा ६ विकेट गुमाएको थियो । उसका ५ खेलाडीले खाता नै खोल्न सकेनन् ।
नेपाल तीन स्थानमाथि उक्लियो– फिफा विश्व वरियतामा नेपाल तीन स्थान माथि उक्लिएको छ । विश्व फुटबलको नियमानकारी निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता क्रममा नेपाल १६२ औं स्थानमा छ ।
किर्गिस्तानले ठूलो छलाङ मारेको छ ।
एकै पटक ४० स्थान माथि उक्लिएर ७५ औं स्थानमा आएको छ । एसियाली देशमा सबैभन्दा माथि इरान छ । सार्क देशमा भारत ९७ औं स्थानमा छ ।
फिफा विश्व वरियतामा जर्मनी पहिलो र ब्राजिल दोस्रो स्थानमा कायमै छ भने बेल्जियम दुई स्थान माथि उक्लिएको छ ।
यसैबीच, नेपालले यो वर्ष ५ वटा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । प्रतियोगिता आगामी अगष्टबाट डिसेम्बरसम्म सञ्चालन हुनेछन् । दक्षिण एशियाली फुटबल महासंघ साफको वार्षिक क्यालेन्डरअनुसार नेपालले ३ वटा महिला च्याम्पियनसिप र २ वटा साफ च्याम्पियनसिपमा सहभागीता जनाउने भएको हो ।