२३ असार २०८३, मंगलबार

धनगढीका मुक्तकमैयाले १७ वर्ष पछि छाडे विमानस्थलको  जग्गा

बैशाख ४, २०७५
धनगढीका मुक्तकमैयाले १७ वर्ष पछि छाडे विमानस्थलको  जग्गा

धनगढी, ४ वैशाख– धनगढी उप–महानगरपालिका–१ स्थित पुरानो विमानस्थल (एयरपोर्ट)को अतिक्रमित जग्गा १७ वर्ष पछि खाली भएको छ ।

सरकारले २०५७ सालमा मुक्त घोषणा गरे पनि व्यवस्थापन गर्न नसक्दा मुक्तकमैयाहरुले सो जग्गा अतिक्रमण गरी बसेका थिए । तर हालै उनीहरुलाई जग्गासहित अरु ठाउँमा व्यवस्थापन गरिए पछि सो जग्गा खाली भएको हो ।

नगर विकास समितिको स्वामित्वमा रहेको सो जग्गा अतिक्रमणपूर्व विमानस्थलको रुपमा प्रयोग गरिँदै आइएको थियो । तर मानव बस्तीको बीचमा एयरपोर्ट उपयुक्त नभएपछि धनगढीको गेटामा नयाँ विमानस्थल बनाइए पछि सो जग्गा खाली भएको थियो ।

नगर विकास समिति धनगढीका अध्यक्ष छत्र शाहीका अनुसार करिब पौने २ विघा क्षेत्रफलको सो जग्गासंगै रहेको ११ कठ्ठा जग्गामा मुक्तकमैयाहरुलाई व्यवस्थापन गरिएको छ । हालै ५३ परिवार रहेको सो बस्तीका मुक्तकमैयाहरुलाई ५/५ धुरको दरले लालपूर्जासहित जग्गा दिने सहमतिपछि अतिक्रमित जग्गा खाली भएको अध्यक्ष शाहीले जानकारी दिए ।

यसभन्दा पहिले पटक–पटक अतिक्रमित जग्गा खाली गराउने प्रयास गरिएको थियो । तर मुक्तकमैयाले आफूहरुलाई व्यवस्थापन नगरेसम्म जग्गा नछोड्ने अडान लिएपछि सो जग्गा खाली हुन सकेको थिएन । 

अतिक्रमित जग्गा खाली भए पछि नगर विकास समितिले नगरको आवश्यकताको आधारमा जग्गाको व्यवस्थापनमा जुटेको छ । खाली जग्गामा खुला मञ्च, प्रर्दशनी स्थल र हाटबजार बनाउने तयारी भैरहेको जनाइएको छ ।
धनगढी उप–महानगरापलिकाका मेयर नृपबहादुर वडले जग्गाको व्यवस्थापन गरी सबै भन्दा बढी आवश्कता भएको खुल्ला मञ्चलाई पहिलो प्राथमिकता राखी काम सुरु गर्ने बताए ।

धनगढीमा रहेको खुल्ला मञ्चमा खेलकुद विकास समितिले रङ्गशाला निर्माण गरे पछि यहाँ लामो समयदेखि विभिन्न मेला–महोत्सव, राजनीतिक दलका सभा र अन्य धार्मिक कार्यक्रम गर्न समस्या हुँदै आएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्