
भक्तपुर, ११ वैशाख - जिल्लामा सम्झौता भएका भूकम्पपीडितले सहजरुपमा अनुदान रकम पाउन नसकेपछि तेस्रो किस्तासम्मको अनुदान रकम लिनेको संख्या ज्यादै न्यून रहेको छ ।
भक्तपुरमा भूकम्पको लाभग्राही सूचीमा रहेका २७ हजार ६४४ परिवारमध्ये २३ हजार ३७४ भूकम्पपीडितसँग अनुदान सम्झौता भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण भक्तपुर जिल्ला समन्वय समितिले जानकारी दिएको छ ।
समितिका प्रमुख शिवराम गेलालले सम्झौता भएकामध्ये अनुदानको पहिलो किस्ता लाने २३ हजार ३६४ रहेको बताउनुभयो । तर पहिलो किस्ताको दाँजोमा दोस्रो र तेस्रो किस्ता अनुदान पाउनेको संख्या भने निकै कम रहेको उहाँ बताउनुहुन्छ ।
दोस्रो किस्ता लाने लाभग्राहीको संख्या दुई हजार ८८३ र तेस्रो किस्ता लाने दुई हजार १२५ रहेको उहाँले जानकारी दिँदै उहाँले पहिलो किस्ता लिनेको दाजोमा दोस्रो र तेस्रो किस्ता अनुदान रकम लिनेको संख्या बढ्न नसकेको बताउनुभयो ।
भक्तपुरमा संगोलका परिवारको जग्गा विवाद, पुरातात्विक क्षेत्र, नक्सा पासमा कठिनाइ, इन्जिनियरको अभाव, बहुस्वामित्व, घर बनाउन रकम अभावलगायतका कारण घर निर्माणमा ढिलाइ भएको अनुगमनका क्रममा पाइएको उहाँको भनाइ थियो ।
त्यस्तै जिल्ला आयोजना कार्यान्वयन इकाइ (भवन) का इन्जिनियर उद्धव गुरागाईंले भक्तपुरमा पाँच हजार ३४ वटा घर निर्माणका क्रममा रहेको बताउनुभयो ।
त्यस्तै भक्तपुरमा तीन वटा विद्यालयको तीनकोठे भवन पुनःनिर्माण सम्पन्न भयो भने आठ वटा विद्यालयको क्रमागत रुपमा निर्माण कार्य भईरहेको र नौ वटासँग सम्झौता भएको छ । सम्पदा निर्माणको क्रम भने जारी रहेको प्राधिकरणले जानकारी दिएको छ ।