
बनेपा, १२ वैशाख - काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१२ ओझेटारका अति सिमान्तकृत दनुवार समुदायका भूकम्पपीडितहरुलाई घर हस्तान्तरण गरिएको छ ।
ह्याविट्याट फर ह्युम्यानिटी नेपाल, एएसएफ नेपाल र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको संयुक्त प्रयासमा निर्माण गरिएको भूकम्प प्रतिरोधी नमूना घर आज प्राधिकरणका सदस्य डा विष्णुबहादुर भण्डारीले त्यहाँका एकल महिला चमेली दनुवारलाई हस्तान्तरण गर्नुभएको हो ।
घर हस्तान्तरण कार्यक्रममा डा भण्डारीले स्थानीय तहलाई पुनःनिर्माणको काम हस्तान्तरण गर्ने प्रक्रियाका बारेमा छलफल भइरहेको बताउनुभयो ।
राष्ट्रिय पुनःनिर्माण जिल्ला समन्वय इकाइ काभ्रेका प्रमुख ध्रुव गैँडाले जोखिमयुक्त वर्गलाई पहिलो प्राथमिकता दिई काम भइरहेको बताउनुभयो ।
संस्थाले भूकम्पपछि पाँचखाल नगरपालिकाको वडा नं ४ पिपटलटारमा ८७ वटा भूकम्प प्रतिरोधी घर पुनःनिर्माण गरी सम्बन्धित भूकम्पपीडितलाई हस्तान्तरण गरिसकेको छ । त्यससँगै पाँचखाल नगरभित्रका विभिन्न स्थानमा एक हजार ५० घर वटा निर्माणमा विभिन्न तहको सहयोग गर्दै आएकामा ३५० वटा घर निर्माण सम्पन्न भइसकेको ह्याविट्याट फर ह्यूम्यानिटी नेपालका जिल्ला अधिकृत सिमराज दनुवारले बताउनुभयो ।