
काठमाडौं, १४ वैशाख– अमेरिकाको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी उनीहरुलाई घर फर्काउने निर्णय गरेको छ । नेपालीको टीपीएस खारेज गर्ने दस्तावेजमा बिभाग सचिव क्रिश्जेन नेल्सनले हस्ताक्षर गरेका छन् ।
यो निर्णयअनुसार अब ९ हजार नेपाली अमेरिकाबाट फर्काइने छन् । नेपालीलाई दिइएको टीपीएसको समय २४ जुन सन् २०१९ मा सकिँदैछ । त्यसपछि उनीहरुलाई देश निकाला गरिने छ ।
ट्रम्प प्रशासनले हालै साल्भाडोरका दुई लाख, हैटीका ५० हजार नागरिकको रेसिडेन्सी परमिट खारेज गरेको थियो ।
सचिव नेल्सनले कानुनअनुसार टिपीएस खारेज गर्नु आवश्यक रहेको बताएका छन् । नेपालमा सन् २०१५ मा आएको विनाशकारी भूकम्पको कारण देखाउँदै तीन बर्ष अगाडि अमेरिकी सरकारले अनडकुमेन्टेड अबस्थामा बसोबास गरिरहेका नेपालीहरुलाई टीपीएस सुविधा दिएको थियो ।
महाभूकम्पमा ज्यान गुमाएका आफन्त भेट्न नेपाल आवतजावत गर्न सहज होस् भन्ने प्रयोजनका लागि दिइएको सो स्किम अन्तर्गत झण्डै १५ हजार नेपालीले टीपीएस सुविधा लिएको भएपनि अहिले झण्डै ९ हजार मात्रै अमेरिकामा रहेको बताइन्छ । त्यसमध्ये सबैभन्दा धेरै न्यूयोर्क शहरमा छन् ।