
काठमाडौं, १४ वैशाख- उत्तर कोरियाली शासक किम जोङ उन पहिलोपटक आफ्नो देशको सैन्य बोर्डर पार गरेर छिमेकी मुलुक दक्षिण कोरिया पुगेका छन् ।
छिमेकी भू-भागमा पाइला टेक्नेवित्तीकै दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले उनलाई विशेष स्वागत गरेका थिए । सन १९५३ मा कोरियाली प्रायदीपमा भएको युद्धपछि उत्तरका कुनै पनि शासकले दक्षिण कोरियाली भूमिमा पाइला टेकेको यो पहिलो पटक हो । निकै तिक्ततापूर्ण सम्बन्धका बीच यो दिन आउन ६५ वर्ष लाग्यो ।
आफ्नो सैन्य बोर्डर पार गरेपछि किमले डिमिलिट्राइज्ड जोन (असैन्य क्षेत्र) मा मुनसँग भेटे । दुई नेताबीच त्यहीँ केहीबेर कुराकानी भयो । त्यसक्रममा मुन पनि उत्तरी छिमेकीको बोर्डरमा पुगेका थिए ।
त्यहाँबाट दुवै नेता दक्षिण कोरियाको पान्मुनजोमस्थित पीस हाउसमा पुगेका थिए । पीस हाउसमा प्रवेश गर्नुअघि गेस्ट बुकमा किमले लेखेका छन्, 'शान्तिको यात्रामा नयाँ इतिहास शुरु भएको छ ।' पीस हाउसमा दुई देशबीच शिखर वार्ता हुनेछ । आजै कुनै सम्झौतासमेत हुनसक्ने बताइएको छ ।
यो भेटवार्तालाई अमेरिकाले पनि स्वागत गरेको छ । दुई देशबीच शान्ति र समृद्धिका विषयमा कुराकानी हुने विश्वास ह्वाइटहाउसको छ । यसलाई आगामी जुनमा किम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुने भेटवार्ताको तयारीसँग पनि जोडेर हेरिएको छ ।
सन १९५३ मा भएको युद्धपछि उत्तर र दक्षिण अलग-अलग देश बनेका थिए । ६५ वर्षअघि शुरु भएको युद्ध अझै अन्त्य हुन सकेको छैन । दुई देशबीच युद्धबिरामको अवस्था छ । यसलाई विश्वकै सबैभन्दा लामो युद्धविराम मानिन्छ ।