
बुटवल, १४ वैशाख– यातायात क्षेत्रका संघ सस्था खारेज गर्दै सरकारले सिण्डिकेट हटाएपछि आन्दोलनमा उत्रिएका यातायात व्यबसायी महासंघ सम्युक्त आन्दोलन समितिले पूर्व घोषित कार्यक्रम अनुसार शनिवार विहान ९ वजेसम्म कुनै पनि सवारी साधन नचलाउने धम्की दिएका छन् ।
विहान ९ वजेसम्म कुनैपनि सवारी साधन नचलाउने र समितिका टिकट काउन्टरहरु समेत नखोल्ने निर्णय भएको प्रदेश नम्बर ५ का संयोजक डिल बहादुर ढुगांनाले बताए । संयुक्त आन्दोलन समितिको प्रदेश नम्बर ५ मा भएका यातायात व्यवसायीको शुक्रवार बुटवलमा वसेको बैठकले आन्दोलनलाई थप प्रभावकारी बनाउदै लैजाने निर्णय समेत गरेको छ ।
नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यबसायी महासंघ, नेपाल पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनको संयुक्त आन्दोलन मुल समितिले आईतवार प्रदेश राजधानीमा रहेको यातायात कार्यालयमा विहान १० देखि ११ वजेसम्म धर्ना वस्ने र ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेका छन ।
बैठकमा प्रदेश नम्बर ५ का सहसंयोजक लोकराज पोखरेल, पश्चिमाञ्चल यातायात व्यसायी समितिका वरिष्ठ उपाध्यक्ष यम प्रसाद पाण्डे, महासचिव हरि प्रसाद कडेल, पश्चिम नेपाल बस व्यवसायी संघका उपाध्यक्ष जिवन कुमार वन्जाडे सचिव रामचन्द्र भुसाल,गुल्मी यातायात व्यवसायी समिति पाल्पा यातायात समिति ,अर्धाखाची यातायात समिती कपिलवस्तु यातायात समिति नवलपरासी यातायात समिति, सिद्धार्थ यातायात समिति, पेट्रोलियम ढुवानी व्यबसायी महासंघ, ढुवानी व्यबसायी महासंघ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियशनका पदाधीकारीको सहभागिता रहेको थियो ।
यसै विच यातायात व्यवसायी संघ सस्थाहरुले शुक्रवार देशै भरका टिकट काउण्टर बन्द गरेका छन् । टिकट काउण्टर बन्द गरेसंगै उनीहरुले नियमित चल्ने बसका क्युसिट पनि निकालेका छैनन । बसलाई रुट नम्वर बिनै स्वतन्त्र क्यु फ्रि चल्न छाडिदिएका छन् । व्यवसायीक सस्थाले सबै गाडीलाई क्यु फ्रि गरेपछी सर्बसाधारणले सहज रुपमा सबै ठाउमा गाडी पाएका छैनन् ।
बुटवलको बस पार्क, ट्राफिकचोक, भैरहवाको सुनौली, बसपार्क सहित देशैभरका टिकट काउण्टर बिहानै देखि खुलेका छैनन । बसपार्कबाट नियमित छुटने गाडी आफु खुशि छुटेका छन । कम यात्रु हुने ठाउमा गाडी गएका छैनन भने शहरी क्षेत्रमा धेरै गाडी चलेका छन ।
पश्चिम नेपाल बस व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरेले सरकारको यातायात व्यवस्था मन्त्रालयले गर्नुपर्ने यातायातको आलोपालो व्यवस्था गरेर संघ सस्थाले सहयोग गरीरहेकोमा सरकारले त्यसलाई सिण्डिकेटको संज्ञा दिएर व्यवसायिक सस्था नै खारेज गरेपछी सरकारले नै यातायातको व्यवस्था मिलाओस भनेर क्यु सिट प्रकाशित व्यवसायीलाई स्वतन्त्र गाडी चलाउन दिएको बताए ।
जसका कारण सडक भरी अस्त व्यस्त रुपमा गाडी गुडेकाले सडक जाम भएर ट्राफिक व्यवस्थापनमा समेत कठिनायी भएको छ । सडक भरी रित्ता गाडी गुडेकाले बुटवल लगाएका शहर अस्तव्यस्त बनेका छन् ।
व्यवसायीले आन्दोलन गरे कडा कदम चाल्ने चेतावनी सरकारले दिँदै आएको छ ।