१२ असार २०८३, शुक्रबार

मुख्य समाचर : सिण्डिकेट हटाएपछि देशैभरका टिकट काउन्टर बन्द, बजेटप्रति सत्तापक्षकै सांसद् असन्तुष्ट

बैशाख १५, २०७५
मुख्य समाचर : सिण्डिकेट हटाएपछि देशैभरका टिकट काउन्टर बन्द, बजेटप्रति सत्तापक्षकै सांसद् असन्तुष्ट

काठमाडौं, वैशाख १५– सरकारले यातायात क्षेत्रमा सिण्डिकेट खारेज गर्ने निर्णय गरेसँगै असन्तुष्ट बनेका यातायात व्यवसायी आन्दोलनमा छन् । सिण्डिकेट हटाएकोमा सवत्र स्वागत भएपनि यातायात व्यवसायी असन्तुष्ट छन् । 

नेपाल समाचारपत्रमा छापिएको खबर अनुसार यातायात क्षेत्रका संघ सस्था खारेज गर्दै सरकारले सिण्डिकेट हटाएपछी आन्दोलनमा उत्रिएका संघ सस्थाहरुले शुक्रबार देशै भरका टिकट काउन्टर बन्द गरेका छन् । 

टिकट काउन्टर बन्द गरेसँगै उनीहरुले नियमित चल्ने बसका क्युसिट पनि निकालेका छैनन् । बसलाई रुट नम्बर बिनै स्वतन्त्र क्यु फ्रि चल्न छाडिदिएका छन् ।

व्यवसायीक सस्थाले सबै गाडीलाई क्यु फ्रि गरेपछि सर्बसाधारणले सहज रुपमा सबै ठाउँमा गाडी पाएका छैनन् । बुटवलको बस पार्क, ट्राफिक चोक, भैरहवाको सुनौली, बसपार्कसहित देशैभरका टिकट काउन्टर बिहानैदेखि खुलेका छैनन् । 

पश्चिम नेपाल बस व्यवसायी संघका अध्यक्ष दधिराम खरेलले सरकारको यातायात व्यवस्था मन्त्रालयले गर्नुपर्ने यातायातको आलोपालो व्यवस्था गरेर संघ सस्थाले सहयोग गरिरहेकोमा सरकारले त्यसलाई सिण्डिकेटको संज्ञा दिएर व्यवसायिक संस्था नै खारेज गरेपछि सरकारले नै यातायातको व्यवस्था मिलाओस भनेर क्यु सिट ननिकाली व्यवसायीलाई स्वतन्त्र गाडी चलाउन दिएको बताए।

मन्त्रिपरिषद् बैठक– सरकारले संघीय संसद आव्हान गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई अनुरोध गर्ने निर्णय गरेको छ । शुक्रबार बसको मन्त्रिपरिषद्को बैठकले संघीय संसदको बैठक वैशाख २३ गते अपरान्ह ४ बजे बोलाउन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो । 

यसैबीच, सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले असार १ गते संघीय संसदमा आगामी आर्थिक वर्ष २०७५–७६ नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएकी छन् । नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका सरकारको परामर्शमा संसद सचिवालयले तयार गरेको हो । 

नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत भए पनि छलफल भने छुट्टाछुट्टै हुनेछ । 

प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भेटवार्तामा पार्टी एकताका बिषयमा छलफल भएको छ । 

शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच एक्लाएक्लै भएको वार्तामा पार्टी एकतामा मिल्न बाँकी विषयमा सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । 

कांग्रेसको बैठक आज– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको स्थगित बैठक आज बस्दै छ । हिजोको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता विजय गच्छदारले बोलेपछि बैठक आजसम्मका लागि स्थगित गरिएको थियो ।

कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका अनुसार केन्द्रीय कार्यसमितिले गर्ने निर्णयहरुमा सहमति जुटाउनका लागि बैठक स्थगित गरिएको हो । बैठकमा महासमिति बैठकको मिति र स्थान, विधान संशोधन मस्यौदा समिति गठन, केन्द्रीय निर्वाचन समिति गठनलगायत विषयमा निर्णय लिने सभापति शेरबहादुर देउवाको तयारी छ ।

नारायणगढ–मुग्लिन सडकको लागत तीन अर्ब– नारायणगढ–मुग्लिन सडक विस्तारको लागत मूल्य बढेको छ । निर्माण सम्पन्न हुनै लाग्दा केही कामसमेत थपिएकाले लागत मूल्य रु ३१ करोड ५२ लाख छ हजार १८१ ले बढेको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका निमित्त प्रमुख गोविन्द खनालका अनुसार शुरुमा रु दुई अर्ब ८८ करोड ७० लाख १४ हजार २१० मा ठेक्का दिइएको सो सडकको लागत मूल्य बढेसँगै रु तीन अर्ब २० करोड २२ लाख २० हजार ३९१ पुगेको छ ।     

एक वर्षभन्दा बढी समय थपिनु, निर्माण शुरु हुनुभन्दा दुई वर्षअघिको लागत अनुमानअनुसार बोलपत्र गरिनु र कतिपय अत्यावश्यक काम थपिएपछि लागत मूल्य बढेको हो । 

शुल्क वृद्धि फिर्ता गराउन विद्यार्थीको देशभर अभियान– निजी विद्यालयले गरेको शुल्क वृद्धि तत्काल फिर्ता गर्न माग गर्दै संयुक्त विद्यार्थी संगठनले देशभरका स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने अभियान शुरु गरेको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिलाई विद्यालयले गरेको शुल्क वृद्धि फिर्ता गर्न गराउन माग गर्दै संगठनले ज्ञापनपत्र बुझाएको हो ।

अनेरास्ववियू, नेविसंघ, अखिल (क्रान्तिकारी), अखिल (छैटौँ) र नेक्राविसंघले संयुक्त ज्ञापनपत्र बुझाएपछि अनेरास्ववियूका कावा अध्यक्ष महेश बर्तौलाले देशभरका स्थानीय तहलाई ज्ञापनपत्र बुझाउने अभियान भक्तपुर नगरपालिकाबाट शुरु भएको बताए । 

प्रधानमन्त्रीको निर्देशन– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिकमको सेवालाई व्यवस्थित, प्रभावकारी, उपभोक्तामैत्री एवं गुणस्तरीय बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार टेलिकमको प्रगति विवरण सुनेपछि प्रधानमन्त्री ओलीले नेपाल टेलिकमको सेवालाई प्राथमिकतामा राख्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री ओलीले टेलिकमभित्र मुसा वा मुसा प्रवृत्तिले सेवा अवरुद्ध हुने अवस्था आउनु दुःखद् रहेको उल्लेख गर्दै भने, “टेलिकमभित्र यस्ता प्रवृत्ति हावी भएको देखिन्छ । यसको अन्त्य हुनुपर्छ र जनताले स्तरीय सेवा पाउनुपर्छ ।”

कर्णाली प्रदेशको बजेटमाथि सांसदहरुको आलोचना– कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको बजेट तथा कार्यक्रममाथि प्रदेश सभा सदस्यहरुले आलोचना गरेका छन् । सभाको सोह्रौँ बैठकमा बिहीबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५ पेश गरेका थिए । 

रु एक अर्ब दुई करोड पाँच लाखको बजेट विनियोजन गरेको बजेट पेश भएको थियो । शुक्रबार भएको छलफलमा प्रतिपक्ष मात्र नभई सत्तापक्षका सांसदहरुले समेत आलोचना गरेका छन् । 

उनीहरुले बजेटको मर्म संघीयता कार्यान्वयन गर्ने भनिए पनि आर्थिक मामिलामन्त्री र प्रदेश राजधानीको जिल्लामा मात्रै बढी बजेट विनियोजन गरेको आरोप लगाए । 

राजधानीबारे अध्ययन गर्न समिति गठन– प्रदेश नंं ३ को शुक्रबार बसेको प्रदेशसभा बैठकले स्थायी राजधानीबारे अध्ययन गर्न १३ सदस्यीय विशेष समिति गठन गरेको छ । समितिमा नेकपा (एमाले)बाट पाँच र नेकपा (माओवादी केन्द्र) बाट दुई÷दुई तथा नेपाली काँग्रेस, राप्रपा, राप्रपा(प्रजातान्त्रिक) नेमकिपा र साझा विवेकशीलबाट एक एक गरी १३ सदस्य रहेका छन् । 

समितिले राजधानीका लागि सम्भावित ठाउँको अध्ययन गरी एक महिनाभित्र प्रतिवेदन पेश गर्नेछ । प्रदेश ३ को राजधानीका लागि हालसम्म काभ्रेपलाञ्चोक, नुवाकोट र भक्तपुरका सांसदले माग दावी गर्दै संसद्मा निवेदन दर्ता गराएका थिए ।

शान्ति सम्झौता गर्ने घोषणा​– उत्तर र दक्षिण कोरिया कोरियाली प्रायद्वीपमा परमाणु कार्यक्रम रोक्न सहमत भएका छन् । शुक्रबार दक्षिण कोरियामा भएको महत्वपूर्ण शिखर वार्तामा उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच महत्वपूर्ण सहमति भएको छ । 

ऐतिहासिक वार्तापछि शान्ति सम्झौता गर्ने घोषणा गरेका हुन् । संयुक्त हस्ताक्षरसहित जारी भएको घोषणपत्रमा कोरियाली प्रायद्वीमा युद्ध नहुने र शान्तिको नयाँ युगको शुरुवात हुने उल्लेख गरिएको छ । 

दुबै देशबीच सबै खालका दुश्मनी पूर्ण कारवाही बन्द गरिने, दुवै दशबीच सीमा पार हुने प्रोपोगाण्डालाई रोकेर त्यहाँ सेनारहित क्षेत्रलाई शान्तिक्षेत्र बनाउने, सीमाका कारण विभाजित भएका परिवारलाई मिलाउने, दुबै देशलाई आधुनिक सडक र रेलवेसँग जोड्ने,  दुबै देशले एशियन गेम्सहित बाँकी खेलमा सहभागीता जनाउनेलगायतका सहमित भएको बीबीसीले जनाएको छ । 

कोरिया विभाजनपछि उत्तर कोरियाका नेता पहिलोपटक दक्षिण कोरियाको भ्रमणमा गएका हुन् ।

मनाङ मस्र्याङ्दी फाइनलमा– मनाङ मस्र्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको हो । 

मनाङको जीतमा ५८ औँ मिनेटमा अञ्जन विष्टले गरेको गोल नै निर्णायक बन्न पुग्यो । शनिबारको खेल एपिएफ क्लब र थ्रीस्टारबीच हुनेछ । प्रतियोगिताको फाइनल खेल यही वैशाख १७ हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्