
काठमाडौं, १५ वैशाख– नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमितिको बैठक आज सकिँदै छ । आजको बैठकमा महामन्त्री डा. शशांक कोइरालाले निर्णयको प्रस्ताव पेश गर्ने र त्यसलाई संशोधन सहित पारित गर्ने कार्यक्रम रहेको छ ।
साथै सभापति शेरबहादुर देउवाले बैठकमा उठेका विषयहरुमा जवाफ दिँदै पार्टीको भावी कार्यदिशाका बारेमा धारणा राख्ने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
केहीदिन अगाडी नै सम्पन्न गर्ने भनिएको बैठकमा नेताद्वय विजयकुमार गच्छदारले पाँच घण्टा र गोपालमान श्रेष्ठले तीन घण्टा बोलेपछि बैठक लम्बिएको हो ।
नेताहरुले लम्बेतान भाषण गरेपछि हिजो टुंग्याउने भनिएको बैठक आजसम्मका लागि स्थगित भएको थियो । शुक्रवारको बैठकमा बरिष्ठ नेता रामचन्द्र पौडेलले बोलेपछि देउवाको जवाफ दिने कार्यक्रम शनिबारका लागि सरेको हो ।
बैठकमा नेपा पौडेलले नेतृत्वको कार्यशैलीका कारण पार्टीले चुनावमा पराजय व्यहोरेको बताए । उनले वापमन्थी सरकार अधिनायकवाद तर्फ उन्मुख बनेको भन्दै कांग्रेसले रोक्नु पर्ने बताए ।
बैठकले महासमितिको बैठक र जिल्ला सभापतिहरुको भेलाको मिति र स्थान तय गर्ने एक नेताले जानकारी दिएका छन् । त्यसैगरी पार्टीको विधान संशोधनका लागि पनि समिति बनाउने तयारी भएको छ ।
अन्य विभिन्न निर्णयहरु गर्न माग गर्दै बैठकमा पेश भएका प्रस्तावहरु निर्णयको प्रस्तावमा नसमेटिएमा सहमतिको प्रयासका लागि बैठक लम्बिन सक्ने सम्भावना पनि रहेको छ ।
आजको बैठक सकिएपछि पदाधिकारी चयन गर्नका लागि केहीदिनपछि निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक बस्ने भएको छ । चुनावमा पार्टी पराजयको समीक्षा गर्न कांग्रेस केन्द्रीय समिति बैठक केही दिनदेखि राजधानीमा बसिरहेको छ ।