०५ असार २०८३, शुक्रबार

कर्णाली क्षेत्रका ‘अपूर्ण’– साहित्यकारदेखि ‘पान्कली’का नायकसम्म

बैशाख १५, २०७५
कर्णाली क्षेत्रका ‘अपूर्ण’– साहित्यकारदेखि ‘पान्कली’का नायकसम्म

सुर्खेत - कर्णाली प्रदेश विविध संस्कृतिको उर्बर भूमि हो । यहाँ अहिलेसम्म देउडा गीतको राम्रो प्रभाव छ । गाँउघरतिर एकल ठाडी भाकाहरु, दुलाल भाकाहरुको वर्चस्व छ  । यद्यपी पछिल्लो पुस्ता भने आफ्नो संस्कृति प्रति उदासीन रहेको आरोप लाग्ने गरेको छ । 

तर कालीकोट जिल्लाको रास्कोट नगरपालिका ६ मा जन्मेका कृष्णराज धमाला  संस्कृति जगेर्नामा सक्रिय छन् । पत्रकार, गजलकार, देउडा सर्जक, गायक आदि नामले कर्णाली क्षेत्रमै उनी चर्चामा रहेका युवा हुन् । 

उनलाई साहित्य पारखीहरुले ‘अपूर्ण’ नामले चिन्ने गर्दछन् । 

आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्ने चाहना राख्ने धमाला चार भाइ मध्य कान्छा हुन् । 

तीन बर्षको हुँदा पिता परशुराम धमालालाई गुमाएका उनको हेरचाहा आमा धनादेवी धमालाले गरिन् । 

शिक्षा स्नातक सम्म अध्ययन गरेका धमालाले बिरह बिम्ब कविता संग्रह २०५७, अनिदोरातका सपनाहरु गजल संग्रह २०५९ (कर्णालीको पहिलो गजल कृति), प्रदेशिको बाटो देउडा गीति एल्बम २०६०, भिजेको सिरानी मुक्तक, गजल संग्रह २०६२, भजन, गजल, देउडा, ठाडी, चलचित्र, तिज र जनचेतनामूलक गरी तिन दर्जन बढि रेकर्ड गीतको रचना गरेका छन् ।

खस भाषको पहिलो चलचित्र ‘पान्कली’ को नायकको भूमिका निर्वाह गरिसकेका धमाला बहुमुल्य प्रतिभाका धनी व्यक्तिको रुपमा चिनिन्छन् । उनले ४ वटा गीतमा स्वर पनि  दिएका छन् ।

२०५५ देखी २०६० सम्म छापा पत्रकारीता काठमाडौमा काम गरेका गरेका धमाला २०५४ मा कानून, न्याय तथा संसदिय ब्यबस्था मन्त्रालयमा खरीदार पदमा १ वर्ष जागीर समेत गरेका थिए । 

२०६१ देखी २०६५ सम्म कर्णालीको पहिलो विद्युत्तिय सञ्चार माध्यम रेडीयो कर्णालीमा कार्यक्रम संयोजकको भूमिका निर्वाह गरेका धमाला २०६५ देखि २०७४ सम्म कालीकोटको पहिलो बिद्युत्तिय सञ्चार माध्यम रेडियो नयाँ कर्णालीको स्टेसन म्यानेजर बने । उनी सञ्चार क्षेत्रमा कियाशिल रहिरहेका बेला प्रेस चौतारी नेपाल कालीकोटको संस्थापक अध्यक्ष समेत बने ।

कर्णाली स्तरीय कबिता प्रतियोगितामा प्रथम स्थान हासिल गर्नु, देवकोटाको जन्मजजयन्तिका अबसरमा जुम्ला जिल्ला स्तरीय कबिता प्रतियोगितामा प्रथम,  नेपाल नाट्य तथा संगीत कला प्रज्ञा प्रतिष्ठानद्धारा ताम्रापत्र, दोसल्ला र नगद सहित सम्मान प्राप्त गरिसकेका धमालाले कर्णाली कला प्रतिष्ठान लगायतका बिभिन्न सस्थाहरुबाट सम्मान पाइसकेका छन् । कर्णालीको नक्षत्रको रुपमा स्थापित बन्दै गएका धमाला हाल हाल नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य, द त्रिरत्ना.कम.एनपिका सम्पादकको भूमिकामा सक्रिय पत्रकारितामा छन् । उनको सम्झना आयाको आएई, मेरा कालीकोट्को बोलको देउडा गीत रेकर्डको क्रममा रहेको छ । 

धमालाले कालीकोटको पचाल झरना महोत्सवमा प्रधानमन्त्री ओली र कर्णाली प्रदेशका मुख्यमन्त्रीले बैसाख १ गते जाने भनेता पनि विविध कारण नेताहरु जान सकेनन् । नेताहरुले पनि ढाँटेको जनगुनासो सुनेपछि तत्काल उनले यस्तो देउडा लेखे - 

पचाल झर्ना महोत्सवमा, नेताले ढाँट्याछन्
मैले त सकिन बुझ्ना, क्या अन्न आँट्याछन् ।।
गाडी चढि यत्त आँयाँ, बाटो त काट्याछन्
रंग हेन्र्या रंग्याउणुका, ओठ्, गाला फाट्याछन्  ।।

कर्णालीको पहिचान झल्काउने मौलिक कला र संस्कृतिको जगेर्ना गर्न सके समग्र कर्णालीमा समृद्धि आउने उनको धारणा छ । 

‘कला र संस्कृतिको संरक्षण गरेको खण्डमा पर्यटकहरु सहजै रुपमा भित्राउन सकिन्छ ।’ उनले भने, ‘त्यसो गर्न सकिए जनताको आयस्तर समेत बढने र प्रदेश समृद्धिको बाटोमा हिडने छ ।’ कर्णालीका गहनाका रुपमा रहेका देउडा, ठाडी भाका, स्थानीय विभिन्न नाचहरु, मौकि भाषाको संरक्षणमा राज्य नै लाग्नुपर्ने उनको धारणा छ ।  ‘एकाध जनाले मात्रै संस्कृतिको बचाउ र जगेर्ना गर्न गाह्रो हुँदो रहेछ ।’ उनी भन्छन्, ‘यसकालागि राज्यले नै पहल गर्नुपर्ने आवश्यकता देखिन्छ ।’

उनले राज्यले अहिलेसम्म मौलिक भाषा र संस्कृति जगेर्ना गर्न पहल नगरेको आरोप लगाए । ‘सरकारले मौलिक पहिचानलाई संरक्षणमा ध्यान दिन जरुरी भइसकेको छ ।’ उनले भने, ‘नत्र यहाँको संस्कार, कला लोप भएर एकादेशको कथा बन्न सक्छ ।’
 

salt training

कमेन्ट गर्नुहोस्