
काठमाडौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालदेखि बंगलादेशसम्म सुरुङमार्ग बनाएर अन्तरदेशीय सडक सञ्जाललाई सबल बनाउने बताउनुभएको छ ।
दक्षिण एसियाली मुलुकका साना तथा मझौला व्यावसायी मञ्चको तेस्रो सम्मेलनको उद्घाटन गर्दै मन्त्री यादवले नेपाल, भारत र बंगलादेशसँग छलफल गरेर उक्त विषयलाई अगाडि बढाउन लागिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल र बंगलादेशबीचको सबैभन्दा छोटो दुरीमा टनेल बनाउने विषयलाई आगाडि बढाएका छौं, यो टनेल बनेपछि विश्वसँगको सम्पर्क सञ्जालमा अझै सहजता आउँछ ।”
नेपाल अतिकम विकसित भूपरिवेष्टित मुलुक भएकाले विश्वसँग जोडिन कठिनाई भएको भन्दै मन्त्री यादवले प्रधानमन्त्री केपीशर्मा ओलीको भारत भ्रमणका अवसरमा नेपाललाई जलमार्गसँग जोड्ने विषयलाई अगाडि बढाउने सहमति भएको बताउनुभयो ।
नेपालको चीनसँग पनि राम्रो सम्बन्ध रही आएको र त्यसलाई अझ विस्तार गरेर समृद्धिका बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै उहाँले दक्षिण एसियाली मुलुकसहित सबैलाई नेपालमा लगानी गर्न आह्वान गर्नुभयो ।
मन्त्री यादवले भन्नुभयो, “निर्धक्क भएर लागनी गर्नुहोस्, हामी नेपालमा लगानीको वातावरण बनाउन तयार छौं र सबै किसीमको सुरक्षा दिन तयार छौं ।” उहाँले छिमेकी मुलुकलाई समृद्धिको बाटोमा सँगसँगै लैजान आग्रह समेत गर्नुभयो ।
उहाँले साना तथा मझौला व्यवसायीलाई उत्पादन बढाउन आग्रह गर्दै भन्नुभयो, “हाम्रो देश सबैको बजार भएको छ, अन्य देशमा हामीले बजार खोज्न सकेका छैनौं, हामीले बजार प्रवद्र्धन गरेर चुलिएको व्यापारघाटा कम गर्नुपर्छ ।”
कार्यक्रममा दक्षिण एसियाली मुलुकका १५० जना साना तथा मझौला व्यावसायीको सहभागीता छ । मञ्चले दक्षिण एसियामा व्यापार सहजीकरण तथा विस्तार, पारवाहन र सम्पर्क विस्तारमा सहयोग गर्दै आएको छ ।
एक दिने सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश र चीनका प्रतिनिधिले विविध विषयमा छलफल गरी विस्तृत प्रतिवेदन तयार गरेर आ–आफ्ना सरकारलाई दिने र क्षेत्रीय व्यापार सहजीकरणको वातावरण बनाउने कार्यक्रम छ ।